+
+
कविता :

वर्षा आऊ

टेकबहादुर जिरेल टेकबहादुर जिरेल
२०८१ मंसिर १५ गते १६:२३

वर्षा आऊ
जल, थल, नभ सर्वत्र छाएर
आऊ अविरल, बेरोकटोक गड्‌गडाएर
अधर्मसित लड्न मृत्युको ढोल बजाउँदै
आऊ सुनामी भएर
आऊ हिमपात भएर
आऊ प्रकृतिमाथि बलात्कार गर्नेहरुका
टाउका टाउकामा खस्ने भयानक
गोलाबारुद र एटम बम भएर आऊ

प्रमिथसले दिएका
आगाका एकएक झिल्का
मान्छेका हातबाट ननिभुन्जेल वर्षा,
तिमी भागीरथी भएर आऊ
सप्तकोशी भएर आऊ
हिन्द महासागर भएर आऊ
अन्यायको रापले पिल्सिएको
प्रचण्ड भूमिमा तिमी पहिरो भएर आऊ
बाढी भएर आऊ,
महाप्रलय भएर आऊ
हो, अब नष्ट हुनैपर्छ पूरै वर्तमान
सट्टामा, एउटा नयाँ युगको
सूत्रपात हुनुपर्छ
र, संसारमा डढेलो सल्काएर
खरानीको आगोमा रमाउने
अग्निहोत्रीका आयुरेखाहरु अब
वर्तमानसितै सदाका लागि
मेटिनुपर्छ।

वर्षा तिमी
जननी जीवनदायिनी
मेरो पुकार छ तिमीलाई
सुमेरु पर्वतमा बाँधिएर
प्रमिथसले पाएको पीडा झैं
उफ्, ऐय्या आत्था भोगिरहेको म
काकाकुल भई
लम्पसार परी धरतीमाथि
आकाशतिर छाती फर्काएर
एकोहोरो चिच्याइरहेछु
जलिरहेको आत्मामाथि
न्याय होस् मेरो इच्छा,
म माटो माटो बनुँ पग्लिएर
यहाँ म पानी पानी बनूँ
पृथ्वीमाताको सानो अंश
म उसको केवल यौटा रजकण मात्र बनुँ ।

मेरो प्रार्थना
हे आकाशदेव !
मेरी आमा प्रकृतिमाता !
नयाँ चोला फेर्न छट्पटाएकी छिन्
त्यसैले धरतीमाथि एउटा
सर्वोत्तम सुनामी वीर्यपात
होस् भन्छु नयाँ सृष्टिको,
नयाँ सिर्जनाको, नयाँ जीवनको
नयाँ मूल्य र मान्यता
अनि सौन्दर्य र अमरत्वको
हरे, हिंसा र आत‌ङ्कबाट मूर्च्छित
धरतीमाता रगताम्मे भएर
मौन भाषामा चीत्कार गरिरहेछ
सुनिन्छ त्यही चीत्कार
प्रतिध्वनित भएको छ सर्वत्र
अब तिमी
वर्षाको पवित्र जलद्वारा अभिषेक भई
सदाबहार, हरियाली र कञ्चन बन
मेरो लाख शुभकामना तिमीलाई
पृथ्वी, मेरो लाख लाख वन्दना तिमीलाई
वर्षा, तिम्रो स्पर्श पाएर
चितामाथि पनि जिउन पाऊँ
तपिंदा अग्निकुण्डमा समेत
तिम्रै शीतलता पिउन पाऊँ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?