![](https://www.onlinekhabar.com/wp-content/uploads/2024/12/amrita-lamsal-900px.jpg)
सन् २०२४ नोभेम्बर २५ को साँझ लन्डनको शेराटन ग्र्यान्ड होटलमा ‘फरेन प्रेस एशोसिएसन’को पुरस्कार वितरण समारोह आयोजना गरिएको थियो। त्यहाँ विभिन्न क्याटागोरीमध्ये ‘थोमस फाउन्डेसन योङ्ग जर्नालिस्ट अफ द इयर’को पुरस्कारका लागि दुई जना पाकिस्तानी महिला पत्रकारहरू छानिएका थिए।
उक्त क्याटागोरीमा, पुरस्कार दिइने पत्रकारहरू ३० वर्षभन्दामुनिका हुनुपर्थ्यो। अन्ततः तीमध्ये एक जना अफगानी रिपोर्टर विजेता घोषित गरिइन्। उनले कामको पहिचानले पुरस्कार प्राप्त गरे पनि उनको नाम सार्वजनिक गरिएन; त्यहाँ उनलाई ‘मेरियम’ नाम दिइएको थियो।
उनी पहिले अफगानिस्तानकी बासिन्दा थिइन् र त्यहाँ, महिला मुद्दामा रिपोर्टिङ गर्दथिन्। तर, सन् २०२१ मा दुई दशकको अमेरिकी सेनाको कन्ट्रोल सकिएर तालिवानको सरकार सत्तामा आएपछि, अफगानिस्तानमा महिलाहरूको स्थिति झनै कठिन बन्दै गएको छ।
त्यसको वाबजुद, एउटी महिला पत्रकारले त्यहाँका महिलाले भोगेका समस्या, दुःख र पीडालाई सञ्चारमाध्यमबाट बाहिरी संसारसमक्ष ल्याउन चुकेकी छैनन्। यो कुरा सन् १९६१ देखि प्रकाशित हुँदै आएको ‘द कोलम्बिया जर्नालिजम रिभ्यू’को अनलाइनमा नोभेम्बर २६ तारिखमा प्रकाशित भएको छ। त्यहाँ प्रकाशित समाचार अनुसार, मेरियमले आफ्नो पहिचान लुकाउन, उनी सार्वजनिक स्थानहरूमा, समाचार स्रोतसँग कमै मात्र भेट्छिन्; स्रोतसँग कुराकानी गर्दा पनि आफ्नो असली परिचय लुकाउँछिन्। समाचार प्रकाशित भएपछि, आफूले संकलन गरेका प्रमाण, फोन कल, इमेल आदि सम्पूर्ण कुराहरू आफ्नो गजेटबाट मेटाउँछिन् ताकि, तालिवानले केही गरी फेला पार्यो भने आफू खतरामा नपरियोस्।
उपरोक्त कार्य उनले आफ्नो व्यक्तिगत लाभको लागि गरेकी होइनन्; केवल, अफगानी महिलाहरूको जीवनस्तर उकासियोस् र उनीहरूलाई बाँच्न सहज होस् भनेर मात्रै गरेकी हुन्।
विश्वका थुप्रै देशमा महिलाहरू आफ्नो हक र अधिकारको लागि संघर्षरत छन्; त्यसमा पनि अफगानिस्तान त महिलाको लागि अति नै कठोर र बाँच्न नै कठिन स्थितिको सामना गर्नुपर्ने देशको रूपमा स्थापित भइरहेछ।
सन् २०२४ को अगस्त २६ मा अफगानिस्तानको एउटा समाचार ‘द गार्जियन’को अनलाइन भर्सनमा प्रकाशित भएको थियो; जसअनुसार, त्यहाँको तालिवान सरकारले ‘भाइस एन्ड भर्च्यू’ कानून ल्याएको थियो। उक्त कानून अनुसार, महिलाहरूले आफ्नो शरीरलाई बाक्लो कपडाको बुर्काले पूरै ढाक्नुपर्नेछ ताकि, पुरुषहरूले महिलाको शरीर देखेर गलत काम गर्न नउक्सिऊन्! त्यति मात्रै होइन, महिलाहरूले सार्वजनिक स्थानमा बोल्न नहुने; घरभित्रै पनि पढेको वा गाएको स्वर अरूले सुन्न नहुने। महिलाहरू घर बाहिर निस्कँदा आफ्नो रगतको नाताको पुरुष विना हिंड्न नहुने; यदि आवश्यक परेर घरबाट बाहिर निस्कनु परेमा आफ्नो स्वर (बोली), अनुहार र शरीर सुनाउन, देखाउन नहुने कुरा उक्त कानूनमा राखिएको छ भनेर समाचारले उल्लेख गरेको थियो।
यो सबै पढ्दा, सुन्दा लाग्छ– त्यहाँका राजनैतिक व्यक्तिहरू वा भनौं पुरुषहरू कुन उपग्रहबाट झरेका होलान् !
सन् १९४६ नोभेम्बर १९ मा संयुक्त राष्ट्रसंघको सदस्यता लिएको अफगानिस्तानले महिलामाथि यति धेरै अत्याचार भइरहँदा पनि अन्य सदस्य राष्ट्रहरूले त्यहाँका महिलाहरूको जीवन सहज गराउन किन पहल गर्दैनन् होला ?
यो लेखमा अफगानिस्तानको प्रसंग उठाउनुको कारण हाल चलिरहेको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान, जसमा २५ नोभेम्बेरदेखि १० डिसेम्बरसम्म संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूले भाग लिइरहेका छन्; त्यसमा उक्त देश पनि सदस्य राष्ट्र भएकोले जिम्मेवार हुनुपर्ने हो। तर, त्यहाँका महिलाहरूलाई त झन्–झन् ढुंगेयुगतिर पुर्याउन लागेको आभास हुँदैछ।
कुनैबेला, क्यानडामा पुरुषहरूको एउटा सञ्जाल बनेको थियो; जुन सञ्जालले, लैङ्गिक समानताका लागि पुरुष सहभागितामा विश्वास राखेर अगाडि बढ्न आफ्ना वरिपरिका पुरुषहरूलाई उत्प्रेरित गरेको थियो। सो सञ्जाल निर्माण हुनुमा पनि एउटा दु:खद् घटनाको देन थियो।
भएको के थियो भने, सन् १९८९ को डिसेम्बर ६ तारिखका दिन क्यानडाको ‘इकोल पोलिटेक्निक युनिभर्सिटी इन मन्ट्रियल’ मा त्यहीं पढ्ने एउटा पुरुष विद्यार्थी आएर चौध जना महिला सहपाठीहरूलाई गोली हानेर हत्या गर्यो। त्यस हत्याकाण्डले देशका पूरै बासिन्दालाई हतप्रभ बनाइदियो र हिंसाको त्यस्तो भयावह रुपबारे सोच्न बाध्य बनाइदियो। त्यसैको फलस्वरुप सन् १९९१ मा केही पुरुषहरूले सामूहिक रूपमा महिला माथि हुने हिंसाको विरुद्ध आवाज उठाउने निधो गरे। त्यो आवाजलाई निरन्तरता दिंदै उनीहरूले हरेक वर्ष महिला माथि हुने हिंसाको विरुद्धमा जनचेतना जगाउन ‘सेतो रिबन’ अभियान चलाए; जुन अभियान नोभेम्बर २५ देखि डिसेम्बर ६ सम्म विभिन्न कार्यक्रमका साथ चलाउन थालियो।
त्यो सेतो रिबन लगाउनुको अर्थ– ‘महिला र बालिका माथि कहिल्यै पनि हिंसा गर्दिनँ, हिंसालाई बढावा दिन्नँ र हिंसा भएको देखेको खण्डमा चूप लागेर बस्दिनँ’ भनेर वाचा गर्नु थियो।
उनीहरूको सोच थियो– ‘पुरुषत्व भनेको एउटा पुरुषले कतिवटी महिलासँग यौन सम्बन्ध राख्न सक्छन् भन्ने होइन। कुनै महिला र पुरुषलाई शारीरिक वा अन्य प्रकारको बलको आधारमा तर्साएर आफू बलियो ठहरिन खोज्नु पनि पुरुषत्व होइन। न कि, आफू कति धेरै दु:ख र दर्द सहेर बहादुर देखिनु पुरुषत्व हो। अरू माथि हिंसा गरेर श्रेष्ठ ठहरिन खोज्नु पनि पुरुषत्व होइन; वा यौनिक आधारमा पनि पुरुषत्वको व्याख्या गर्न सकिंदैन।’
उनीहरूको दृष्टिकोणमा, पुरुषत्व भनेको ‘आदर र बराबरीमा आधारित सम्बन्ध हो। हिंसाको विरुद्ध आवाज उठाउनु हो। सहयोग माग्न सक्ने हिम्मत हो। निर्णय गर्ने अधिकार र शक्ति बाँडफाँटको सन्तुलित प्रयास हो। अनि आफ्ना वरिपरिका विविधता र अधिकारका कुरालाई आदर र सम्मान गर्न सक्ने व्यवहार हो।’ तर जसले जेसुकै भनून्, मानिसहरूको मन र मस्तिष्कमा महिला माथि हुने/गरिने हिंसाले यति दह्रो रूपमा जरा गाडेको छ कि, त्यसलाई अवचेतन मनले हिंसा नै ठान्दैन; जसको फलस्वरुप समाजमा यसको पीडा महिलाले मात्रै होइन कि, पुरुषले पनि भोगिरहनु परेको हुन्छ।
उदाहरणको लागि, हामी हाम्रा सन्तान हुर्काउँदा नै विभेद गरिरहेका हुन्छौं। हामी छोराहरूलाई रुन नहुने, बलियो हुनुपर्ने, कडा रूपमा प्रस्तुत हुनुपर्ने विचार लादेर एक हिसाबले हिंस्रक रूपमा प्रस्तुत हुन उत्प्रेरित गरिरहेका हुन्छौं। अर्कोतर्फ, छोरीहरूलाई सहनशील हुनुपर्ने, विस्तारै बोल्नुपर्ने, हाँस्न नहुने आदि आदि शिक्षा दिइरहेका हुन्छौं।
यसै सन्दर्भमा, केही वर्ष अगाडि एउटा कार्यक्रममा, ‘म्यास्कुलिनिटी’ को बारेमा शोधकार्य गर्नुभएका डाक्टर सञ्जिव उप्रेतीले भन्नुभएको कुरा स्मरण गर्न चाहन्छु। “पुरुष र महिलालाई म्याक्रो अर्थात् बृहत् अनि माइक्रो अर्थात् सूक्ष्म तहमै भिन्न व्यवहार गरिन्छ”, उहाँले भन्नुभएको थियो ।
त्यो व्यवहार उनीहरूको लागि प्रयोग हुने भाषा लगायत हरेक कुराले विभेदपूर्ण रहेको हुन्छ। डाक्टर उप्रेतीका अनुसार, पुरुषलाई समाजले त्रासैत्रासमा बाँच्न बाध्य पारेको छ। ऊ ‘नामर्द’, ‘जोइटिङ्ग्रे’, ‘दलाल’ आदि जस्ता शब्द आफू माथि प्रयोग हुने डरले पनि दबाबमा बाँच्न बाध्य हुन्छ, त्यसले गर्दा ऊ बढी आक्रामक हुन्छ। सानैदेखि पुरुषको मनस्थिति, घर, प्रकृति, युद्ध जताततै जित्नुपर्छ भन्ने बनाइदिएको छ; जसको कारण यदि ऊ त्यस्तो भूमिकामा डगमगायो भने आफ्नो पुरुषत्व प्रमाणित गर्न पनि महिला माथि हिंस्रक भएर देखापर्दछ र श्रीमती कुट्छ।
हामी चाहे अफगानिस्तानको कुरा गरौं वा नेपालको, सबैभन्दा महत्वपूर्ण कुरा, पुरुषहरू महिलाका शत्रु पनि होइनन्; न कि, पुरुषहरू महिलाका प्रतिवादी हुन्। न त महिला, न पुरुष, दुवै वर्ग एकअर्का विना पूर्ण हुन्छन्। कुरोको चुरो केवल, ‘पुरुषवादी सोच’ हो।
जबसम्म कुनै पनि आन्दोलन या अभियानमा लाग्नेहरूको मनमा लैङ्गिक चेतनामूलक विषयक अध्ययन र अन्तरक्रियाहरूबाट आफूभित्रको कमजोरी र अज्ञानता तथा पूर्वाग्रह स्पष्ट हुँदैनन् महिलाहरू सम्बन्धी अन्तर्राष्ट्रिय कानून एवं त्यसप्रतिको दायित्वको बारेमा सिकेका कुराहरू आन्तरिकीकरण गरिंदैनन्, तबसम्म यो विषय बौद्धिक विलासिताको वस्तु मात्रै भएर रहन्छ। अहिलेकै उदाहरण दिनुपर्दा पनि जो पुरुषहरू सञ्जालमा रहेर सेमिनार कोठाभित्र महिला अधिकारको कुरा उठाउँछन्, उनीहरू नै कोठा बाहिर निस्कने बित्तिकै ‘फलानीले किन थर फेरेर हिंडी ? त्यसलाई कानून कसरी लगाउन सकिन्छ?’ भनेर हिंडेका उदाहरण भेटिन्छ।
लेखको बिट मार्नुभन्दा अगाडि, यसपालिको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको राष्ट्रिय नारा, “हामी सबैको प्रतिबद्धताः लैंगिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता” सार्थक बनाउने हो भने पुरुष सहभागिता अपरिहार्य छ; नभए त यहाँ पनि अफगानिस्तानको ‘भाइस एन्ड भर्च्यू’ जस्तै सोच आउन बेर छैन।
प्रतिक्रिया 4