 
																			तीज जति नजिकिंदै छ, समाजका हर तप्कामा छटपटी त्यति नै टड्कारो छ । नेपाल सरकार, आम महिलादेखि महिलावादीहरूमा नयाँ बन्दै गएको तीजलाई कसरी आत्मसात् गर्ने र व्याख्या गर्ने भन्नेमा दोधार देखिन्छ । उदाहरणको लागि हालै सिडिओ मार्फत तीजमा तडकभडक नगर्न दिइएको आदेशलाई लिन सकिन्छ ।
नेपाल सरकार जसले तीजलाई राष्ट्रिय चाडको रूपमा मनाउन देशभर विदा दिन्छ, उही सरकार अहिले छटपटीमा छ । गएको केही वर्षयता तीज नजिकिंदै जाँदा सिडिओ मार्फत यो चाडलाई तडकभडक विना मनाउन आग्रह सहित नमान्नेलाई कारबाही हुनेसम्मको सूचनाहरू प्रकाशित भइरहेका छन् ।
त्यतिबेलासम्म कसैको टाउको दुखाइको विषय बनेको थिएन, जबसम्म महिलाहरू घरभित्र र घरको वरिपरि छिमेकी र नातेदारसँग मिलेर यो चाडलाई मनाइराखेका थिए । दुःखले भरिएका गानाहरू गाइरहेका थिए । कहिले माइत जान नपाएको पीडायुक्त गाना त कहिले सासू र जेठानीले सताएका कथाहरू समेटिएका गाना । ती महिलाहरूले श्रीमान्को लामो आयुको कामना सहित निराहार वा फलाहार व्रत बसेर पितृसत्तालाई भरथेग पुर्याइरहेका थिए ।
जब ती महिला घरको चार दिवारी नाघेर परिवार र नातेदार बाहेक साथीहरू (स्कुल, कलेज, आफू आबद्ध संघ–संस्था, कार्यालय) सँग आफूखुसी हाँस्ने, नाच्ने र बदलिंदो जीवनसँग जोडिएका गानाहरू गाएर तीज मनाउन थाले, अनि समाज झस्कियो । यसको एक झल्को सिडियोहरूले केही वर्ष यतादेखि लगातार तीजलाई ‘परम्परागत रूपमा तडकभडक’ विना मनाउन जारी गरेको सूचना हो ।
करिब चार वर्ष अगाडि मैले तीजको बारेमा दि काठमाण्डू पोस्ट् मा प्रकाशित एक लेखमा आफ्नो रोष प्रकट गर्दै लेखेकी थिएँ– ‘यस्तो सूचना प्रकाशित गर्ने अधिकार सरकारसँग छैन, यो गैरकानुनी हुन्छ ।’ किनकि केलाई तडकभडक भन्ने ? महिलाले मात्र मनाउने भएर तडकभडक भएको हो कि वा आफ्नो संसार फराकिलो बनाउन कस्सिएका महिलाहरूले आफ्नो तरिकाले तीज मनाउन थालेकाले तडकभडक देखिएको हो ?
हालको नेपाली समाजमा चारैतिर कोलाहल र तडकभडक देखिन्छ । भर्खरै मात्र पशुपति परिसरमा सकिएको एकमहिने कोटिहोममा कम तडकभडक थिएन । गाउँ–गाउँबाट माइक्रोबस रिजर्भ गरेर आएका भक्तालुहरू देख्दा लाग्दथ्यो, संसारका सबै खुसीहरू यही कोटिहोमभित्रै समेटिएका छन् ।
मेरो घर मन्दिर नजिकै भएकोले कहिलेकाहीं तरकारी किन्न जाने गरेका थियौं । प्रायः महिलाहरू डोकोमा ताजा तरकारी बेच्न बस्छन्, बिहानीपख । कोटिहोमको एकमहिने अवधिभरि नै खुट्टा राख्ने ठाउँ थिएन, मान्छेको भीडले– तरकारी किनबेच त टाढाको कुरा ।
यस्तै प्रकृतिका अन्य सामाजिक, धार्मिक उत्सवहरू निरन्तर भइरहेका छन्, देशभरि नै । त्यहाँ पनि कम तडकभडक छैन । राता लुगा लगाएर र गरगहनाले सजिएर आउने महिलाहरूमध्ये कैयौं नाचगानमा पनि मस्त हुन्छन्, रमाएका देखिन्छन् । उनीहरू र तीजलाई आधुनिक रूपमा मनाउनेहरूमा फरक यत्ति नै छ कि उनीहरूलाई रमाउन न त धर्मगुरुको पहरा छ, न प्रशासनको चेतावनी । किनकि उनीहरू पितृसत्ताको दायराभित्र रमाइरहेका छन् । यसलाई चुनौती दिने प्रयास गरिरहेका छैनन् । उल्टो बलियो नै बनाइरहेका छन् ।
तर आजकल तीज मनाउनेहरूले पुरुषमुखी समाजलाई चुनौती दिन थालेका छन् । चुनौतीका आवाजहरू विविध रूपमा प्रकट भइरहेका छन् । श्रीमतीले मात्रै किन श्रीमान्को लामो आयुको लागि व्रत बस्ने, श्रीमान्ले पनि बस्नुपर्छ, दुवैको जीवन त्यत्ति नै महत्वपूर्ण छ ।
निराहार बस्दैमा कसैको जीवन लम्बिंदैन, स्वास्थ्य सुविधा राम्रो हुनुपर्छ जीवन लम्बिन । हाम्रो चाड, हामीलाई जसरी मनाउन मन लाग्छ, मनाउँछौं, यसरी मनाउनु भन्ने अधिकार कसैसँग छैन । हामी कसैको कुरा सुन्नेवाला पनि छैनौं, चाहे निराहार बसौं, चाहे टन्न खाएर बसौं ! चाहे घरैभित्र बसेर दर खाउँ, साथीहरूसँग रेस्टुरेन्टमा वा पार्टी प्यालेसमा जाऔं, नाचगान गरौं, यो हाम्रो रोजाइको कुरा हो । सामूहिक रूपमा नाचगान गर्दा अलिकति आवाज त आइहाल्छ नि, त्यसैलाई होहल्ला भन्ने हो भने नित्य भइराखेको होहल्लालाई के भन्ने त ?
यसरी चुनौतीका भाष्यहरू फरक–फरक भएतापनि मूल भनाइ एउटै छ । अबको समाजमा हामी महिलालाई पनि स्वतन्त्र हैसियत भएका व्यक्तिको रूपमा मान्नुको विकल्प छैन । हुन पनि नयाँ बन्दै गएको नेपालमा सबैतिर परिवर्तन आउने, अनि महिला मात्रै पुरानै कसरी रहन सक्छन् ?
नेपालमा खासगरी सन् १९९० देखि नयाँ महिला बन्ने प्रक्रिया तीव्र बन्दैछ । नयाँ बन्दै गएका महिलाहरू पढ्न, कमाउन र नेतृत्व लिन सक्षम बन्दैछन् । धेरै महिलाहरू आफूलाई ठिक लागेको कुरा भन्न पनि पछाडि पर्दैनन् । बोल्ने भएका छन् । त्यस अर्थमा महिलावादी बन्दैछन् ।
नयाँ लोकतान्त्रिक संविधान, प्रजातान्त्रिक अभ्यासहरू, लैंगिक समानताको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रयास, बढ्दो नारीवादी चेत र सञ्जाल, साथै छोरीको शिक्षाप्रति उदार बन्दै गएको घरपरिवार आदि कुराहरूले नयाँ महिलापनको निर्माण गर्न सघाएको देखिन्छ । यसको साथै बढ्दो शहरीकरण, थोरै बच्चा पाउने, हातहातमा केही भए पनि खर्च गर्ने पैसा, साथै घरको बन्धन (सासू–ससुराको हेरचाह र नातेदारको खातिरदारी) केही खुकुलो भएकोले पनि महिलालाई नयाँ बन्दै गएको संसारमा सक्रिय हुन मद्दत पुगेको छ ।
त्यसैले पुरानै तरिकाबाट तीज मनाउ भन्नेले या त समाजको हर तप्कामा आइरहेको परिवर्तनलाई बुझ्न सकेका छैनन्, या त बुझेर पनि आत्मसात् गर्न गाह्रो भइराखेको छ । मेरो बुझाइमा बुझेर पनि आत्मसात् गर्न गाह्रो भइराखेको छ, त्यसैले छटपटी छ । यो छटपटी पुरुषलाई जसरी भए पनि धार्मिक, आर्थिक वा राजनैतिक रूपमा सापेक्षिक रूपमा महिलाभन्दा शक्तिशाली बनाइराख्ने सामाजिक संरचनासँग जोडिएको छ ।
महिलाको जीवनसँग जोडिएको कुनै पनि व्यवहारले पुरुषलाई प्रधान मान्ने समाजलाई चुनौती दिन्छ वा दिने प्रयास गर्छ, त्यसप्रति चनाखो हुने र प्रतिवादमा उभिने पितृसत्तात्मक समाजको रहर नभई बाध्यता पनि हो । त्यसैले चाहे त्यो सोफिया थापाको गाना (यसपालिको तीज, नो व्रत प्लिज) को विरोधमा सार्वजनिक रूपमै उत्रेको हिन्दु महासंघ होस्, जसको बुझाइमा उक्त गानाले परम्परागत रूपमा मनाइने तीजको मर्मलाई नै चोट पुर्याएकोले यसको विरोधको विकल्प रहेन, वा तीजलाई होहल्ला र तडकभडक विना मर्यादित रूपमा मनाउनु भनी उर्दी जारी गर्ने प्रशासन होस्, लक्ष्य एउटै हो– कसरी यो पुरुषमुखी संरचनालाई बचाइराख्ने भनेर ।
धेरै महिलावादी लेखकहरूले भनेका छन्, जब–जब महिलाका क्रियाकलापहरू पुरुषप्रधान समाजलाई चुनौती दिने खालका हुन्छन्, तब तब घरपरिवार, धर्म र राज्यको गठबन्धन सुरु हुन्छ, कसरी महिलालाई पुरानै स्थितिमा फर्काउने भनेर । हाम्रो समाजमा केही समय अगाडि घटेको रुकुम हत्याकाण्ड यसको ज्वलन्त उदाहरण हो । यस घटनामा दलित र कथित उच्च जात बीचको पे्रम र सम्भावित विवाहलाई रोक्न घरपरिवार, समुदाय र राज्यका संयन्त्रहरू नै कसरी लागिपरेका थिए भन्नेबाट पनि प्रस्ट हुन्छ । किनकि उक्त विवाह जात व्यवस्था र त्यसमा आधारित पितृसत्ताको अस्तित्व र निरन्तरताको लागि ठूलो चुनौती थियो ।

पुरुषहरूलाई कहिले फकाएर, कहिले तर्साएर प्रमुख बनाइन्छ वा बन्न बाध्य पारिने पुरुषमुखी समाजमा फर्काउन समाजका सम्पूर्ण संयन्त्रहरू प्रयोग भएका हुन्छन् । उदाहरणका लागि घरमूली पुरुष, पैतृक सम्पत्तिमा हकदार, धर्मको व्याख्याकार र घरभित्र र बाहिरको प्रमुख निर्णयकर्ता इत्यादि । त्यसैले कैयौं पुरुष यस्तो संरचनाको मार कुनै न कुनै रूपमा आफूमा पनि परेको अनुभव गर्दागर्दै पनि यसको विरोधमा अगाडि आउँदैनन्, उल्टो यसको मलजलमै लागिपर्छन्, पाएको सुविधा गुम्ला भनेर । यस्तो संरचनालाई जोगाइराख्न मलजलको साथै पहरेदारीको आवश्यकता पर्दछ । त्यसैले जबजब कुनै गाना वा कविताबाट परम्परागत तीजको शैलीमाथि प्रश्न गरिन्छ, वा घर वा नातेदारको सीमित दायराबाट निस्किएका महिलाहरूको महिनौंभरिको चहलपहल सुरु हुन्छ, अनि छटपटी सुरु हुन्छ, पितृसत्तात्मक समाजको रक्षाकवच बनेर बसेको समाजको ।
त्यो छटपटी कहिले धर्मगुरुहरूको विरोधयुक्त वक्तव्य मार्फत सार्वजनिक हुन्छ भने कहिले सिडियोको आदेशबाट । सारमा यसको मर्म भनेको तीज मनाउ, मनाउनै पर्छ किनकि यो हाम्रो समाजको धार्मिक, सामाजिक आस्थासँग पनि जोडिएको छ, तर परम्परागत तरिकाबाटै मनाउ भन्ने नै हो ।
के हो परम्परागत तरिकाबाट मनाउने भनेको ? रूपान्तरित समाजमा वा नयाँ बन्दै गएका महिलाहरूको जीवनमा अबको तीजलाई पुरानै तरिकाबाट मनाउन सम्भव छ वा के यसको औचित्य छ ?
अब एकपल्ट आम महिलामा फर्कौं । मध्यम र उच्च वर्गका महिलाहरूलाई उपहार (कुर्ता सलवार, साडी वा चुरापोते) साटासाट गर्ने, घर, रेस्टुरेन्ट वा पार्टी प्यालेसमा बसेर खाना खानुको साथै नयाँ सम्बन्ध बनाउने वा पुरानै सम्बन्धलाई गाढा बनाउन भ्याईनभ्याई छ । उच्च वर्गको लागि बदलिंदो तीज पैसाको हिसाबले चुनौती नभए तापनि मध्यम वर्गमा छटपटी टड्कारो छ ।
घर–परिवारको परिधिलाई नाघेर नयाँ बनाइएका साथीहरूसँग तीज मनाउन पनि मध्यम वर्गका महिलालाई कम चुनौती छैन । एक दिन, दुई दिनको भोज होइन, लगातारको भेटघाट । कति पैसा खर्च गर्ने, खान र नयाँ–नयाँ लुगा फेर्नलाई । थप उपहार साटासाट त छँदैछ । यसरी नयाँ बन्दै गएको तीजमा सक्रिय सहभागिता जनाउन लागिपरिरहेका भए पनि उनीहरू पनि थकित छन्, छटपटिएका छन् ।
उतातिर सहकारी वा महिला बचत समूहसँग जोडिएका महिलाहरूको आफ्नै कथा छ । एउटै महिला ४, ५, ६ वटा समूहसँग आबद्ध हुनु नौलो कुरा होइन । तर प्रत्येक समूहको आ–आफ्नै तीजको कार्यक्रमले खुसी त पक्कै ल्याउँछ, साथीहरूसँगको भेटघाट, दुःख–सुख साटासाट, नाचगान इत्यादि तर चुनौती पनि सँगै ल्याउने हुनाले ती महिलाहरूमा पनि छटपटी छ ।
एक जना मैले नजिकबाट चिनेको महिलाले भन्दैथिइन्, ‘हाम्रो समूहको अध्यक्ष पनि अति नै गर्नुहुन्छ, पैसा मिलाएर भोज खाए त पुगिहाल्यो नि, साडी पनि उस्तै लाउनुपर्ने रे, सहकारीमै किन्ने व्यवस्था छ भनेर खबर आएको थियो । मलाई त चित्तै बुझेन, पैसाको मात्रै खति । एक ठाउँ मात्रै भएपो लौ किनिदेऊ भन्नु, १० ठाउँमा जानुपर्छ ।’
निम्न वर्गका लागि नयाँ बन्दै गएको तीज गलपासो सरह हुँदैछ । दैनिक काम नगरी हातमुख जोड्न गाह्रो परिवारका महिलासँग न समय छ, न पैसा नै । तर, आफूभन्दा माथिल्लो स्तर भएकाहरूको रहनसहनलाई सिको गर्न खोज्ने जसलाई ‘सांस्कृटाइजेसन’ पनि भनिन्छ, तर आफ्नो औकातले नभ्याउने भएकोले पनि निम्न वर्गका महिलाहरूमा पनि छटपटी छ ।
अब महिलावादीको कुरा गरौं । एकथरी महिलावादीहरूको भनाइ कुनै पनि धार्मिक, सांस्कृतिक चाडपर्वहरू जसले पितृसत्तालाई जोगाउन भरथेग गरिराखेको हुन्छ, त्यसलाई पूर्ण रूपमा त्याग्नुपर्छ भन्ने छ । चाडपर्व जसरी मनाए पनि कुनै न कुनै पितृसत्तालाई भरथेग नै हुन्छ भन्ने उनीहरूको बुझाइ छ । त्यस्तो विचारधारा राख्नेले तीज पनि मान्दैनन् ।
अर्कोथरीको बुझाइमा चाडपर्वहरू मनाउने तर मनाउँदाखेरि पुरुषमुखी समाजलाई बलियो बनाउनुको साटो यसलाई चुनौती दिंदै जाने भन्ने छ । उनीहरू आफ्नो तरिकाले चाडपर्व मनाएर महिलाहरूको सबलीकरणमा सहयोग पुर्याउन पनि सकिन्छ भन्ने मान्यता राख्दछन् । त्यस्तो विचारधारा राख्ने महिलावादीहरू तीजलाई नमान्ने होइन, उल्टो आधुनिक तीजको भाग बन्दै गइरहेका छन्् । उनीहरू यही भित्रबाट पितृसत्तालाई कमजोर बनाउन र महिलालाई सबल बनाउन सकिन्छ भन्ने धारणा राख्दछन् । उदाहरणको लागि महिला आबद्ध संघ–संस्थाहरूमा तीजको चहलपहललाई लिन सकिन्छ ।
मेरो विचारमा तीज नमनाउने, मनाउने, मनाउनेहरूले कसरी मनाउने भन्ने बारेमा पहिलो रोजाइ महिलाकै हुनुपर्छ । पुरानै तरिकाले तीज मनाउनुपर्छ भन्नु बलमिच्याइँ हो ।
महिलाले आफ्नो इच्छा, रहर र ज्ञानलाई मध्यनजरमा राखेर आफूखुसी चाडपर्व मनाउनु सानो कुरा होइन । यो महिलावादको उपलब्धि पनि हो । तर लगातारको भोजभतेर, नयाँ लुगा र गरगहना लगाउने रहर र होडबाजी, थामिनसक्नु गरी बनेका नयाँ सम्बन्धहरू, र उनीहरूबीचको उपहार साटासाट आदित्यादिको बारेमा महिलावादी छलफल जरूरी छ ।
किनकि यसरी तीज मनाउँदा हामी फेरि पनि स्वरूप फेरिएको पितृसत्ताको जालोमा नै त पर्दै छैनौं भन्ने कुरामा चनाखो हुनु जरूरी देखिन्छ । समाजवादी महिलावादीहरूले भनेको जस्तै पूँजीवादमा आधारित पितृसत्तात्मक समाजमा जसलाई ‘क्यापिटालिस्ट पेट्रीअर्की’ पनि भनिन्छ, महिलालाई दरिलो उपभोक्ताको रूपमा लिइन्छ । उनीहरूलाई नै लक्षित गरेर कैयौं सामानको उत्पादन र बेचबिखन हुन्छ र नाफा पनि यसरी नै हुन्छ । अहिले हाम्रा बजारहरूमा तीजको चहलपहलले पनि यो कुरा पुष्टि गर्दछ ।
जोहाना क्यान्टोला र जुडिच स्क्वेरले आफ्नो लेख ‘फ्रम स्टेट फेमिनिज्म टु मार्केट फेमिनिज्म, २०१२’ मा धेरै समयसम्म हामीहरूले राज्यले गरेको विभेदको विरोधमा आवाज उठायौं, जसलाई स्टेट फेमिनिज्म पनि भनिन्छ, अब संसारको धेरै ठाउँमा बजार व्यवस्था बलियो हुँदै गएको र आधुनिक संसारमा बजार व्यवस्थाले नै महिलाको जीवनलाई धेरै हदसम्म प्रभाव पार्ने भएकोले पनि अब हामीले मार्केट फेमिनिज्मको कुरा गर्नुपर्छ भन्ने तर्क अगाडि सारेका छन् ।
हामीहरूले पनि बदलिंदो महिलापन, फेरिंदै गएको तीजको स्वरूप र यसको पितृसत्तासँगको सम्बन्ध बारेमा छलफल गर्नुपर्छ जस्तो लाग्छ ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4