+
+

अपराधका शैली बदलिंदैछन्, रोक्ने उपाय पनि बदलौं

सबै देशहरूमा नागरिकहरूको आचरण बारे प्रहरी मार्फत रेकर्ड राख्ने चलन छ। कसैलाई कुनै काम दिन वा उसको चरित्र कस्तो छ भन्ने बारे कुनै जानकारी दिनुपरेमा प्रहरी मार्फत त्यस्ता मानिसको बारे जानकारी दिने चलन नेपालमा पनि छ।  

सुरेन्द्र नेपाल श्रेष्ठ सुरेन्द्र नेपाल श्रेष्ठ
२०८१ मंसिर २३ गते १०:१०

रोगको उपचार भन्दा रोकथाम महत्वपूर्ण हुन्छ। स्वास्थ्य विज्ञान जस्तै सामाजिक विज्ञानमा पनि कुनै अपराध घटेपछि सजाय गर्नु भन्दा त्यस्ता घटनाहरू घट्न नपाओस् भन्ने सिद्धान्त प्रभावकारी हुन्छ।

यस्ता प्रयासहरूका बाबजुद पनि समाजमा धेरै अपराध हुने गर्दछन्। नयाँ घटनाहरूको प्रकृति अनुसार रोकथामका उपायहरू परिष्कृत हुँदै जाने गर्दछन्। कतिपय अवस्थामा कानुन र प्रहरीहरू भन्दा त्यसलाई उल्लंघन गर्ने वा अपराधीहरू केही कदम अगाडि भएका पनि देखिन्छन्।

समाजको बनोट तथा विकसित देशहरूमा घट्ने घटनाहरू पनि अन्यत्र भन्दा फरक मात्र हैन पाशविक तथा दानवीय प्रकारको हुने गरेको देखिन्छ। अन्य विकासको साथसाथै अपराधको प्रकृतिमा पनि परिमार्जन हुने गरेको छ।

संसारका सबै देशहरूमा आफ्नो नागरिकहरूको आचरण बारे प्रहरी मार्फत रेकर्ड राख्ने चलन रहेको छ। कसैलाई कुनै काम दिन वा उनको चरित्र कस्तो छ भन्ने बारे कुनै जानकारी दिन परेमा प्रहरी मार्फत त्यस्ता मानिसको बारे जानकारी दिने चलन नेपालमा पनि छ।

अहिले त वैदेशिक रोजगारीको लागि विभिन्न देशमा जान थालिएपछि त्यस्ता देशहरूले प्रहरीको चारित्रिक रिपोर्ट अनिवार्य गरेका छन्। विदेशमा अध्ययन अनुसन्धान गर्न जानको लागि पनि यो अनिवार्य हुन्छ। विदेशमा बसोबास गरी त्यहाँको कानुन अनुसार स्थायी बसोबासको अनुमति तथा नागरिकता प्राप्त गर्न प्रायःजसो अवस्थामा सम्बन्धित देशको प्रहरीको प्रमाणपत्र चाहिने हुन्छ।

यसबाट आपराधिक पृष्ठभूमि भएका मानिसहरूलाई संवेदनशील भूमिका वा अन्तर्राष्ट्रिय यात्रा गर्नबाट रोक लगाई आपराधिक गतिविधिलाई नियन्त्रण गर्न सहयोग पुर्‍याउँदछ।

बेलायतमा सन् १९७४ सम्म प्रहरीले प्राप्त गरेको तथ्यांकहरू कागजमा नै लेखेर राख्ने चलन थियो। प्रत्येक प्रहरी कार्यालयले आफ्नो स्थानीय क्षेत्रमा घटेका घटना तथा सूचनाहरू संकलित गरेर राख्ने चलन थियो। यसको कुनै केन्द्रीकृत व्यवस्था गर्न सम्भव पनि थिएन। त्यसैले कसैको चालचलन बारे थाहा पाउनु परे लामो समय कुर्नुपर्ने हुन्थ्यो।

सन् १९७० देखि बेलायत सरकारले कम्प्युटर मार्फत केन्द्रीय रूपमा तथ्यांक संकलन गर्ने योजना शुरु गरेको र चार वर्षपछि प्रयोगमा ल्याएको थियो। यसलाई पुलिस नेशनल कम्प्युटर (पी.एन.सी.) नामकरण गरियो। यसमा हराएका वा प्राप्त भएका सवारी साधनदेखि लिएर कुनै अपराधमा संलग्न सजाय पाएका, नसिहत मात्र पाएका, फरार रहेका सबै प्रकारका रेकर्डहरू राख्न थालियो। यो सेवा विस्तारै अनलाइनमा तुरुन्त जानकारी प्राप्त हुनसक्ने भयो।

अहिले उक्त डाटावेसमा करिब १ करोड ३० लाख व्यक्तिगत विवरण झण्डै ६ करोड जति सवारी साधनको विवरण रहेको बताइन्छ। प्रहरीबाट शुरु भएको यो योजना अहिले पूर्ण रूपमा गृह मन्त्रालय अन्तर्गत छुट्टै व्यवस्थापनमा सञ्चालन हुने गरेको छ।

सन् २००० मा एक आठ वर्षीय बालिका सारा पेनको अपहरण र बलात्कार पछि हत्या भयो। यसका अभियुक्त रोय ह्वाईटिङ्ग यौन दुराचारमा सजाय पाइसकेको व्यक्ति थिए। यस घटनाले सन् १९९९ मा बालबालिकाहरूको विशेष सुरक्षाको लागि तयार हुन लागेको कानुनको आवश्यकता बारे जनचासो बढ्न थाल्यो। बालबालिकाहरूसँग काम गर्नुपूर्व त्यस्ता मानिसहरू बारे रेकर्ड हेर्नुपर्ने कानुन निर्माण भयो।

त्यति नै बेला ठूली आमा र उसको पार्टनरले हेलचेक्र्याइँ गरेको कारण अर्को आठ वर्षकै बालिका भिक्टोरिया कलाइम्बीको मृत्यु भएको मुद्दाले पनि यो विषयलाई महत्वका साथ हेरियो। सरकारले सन् २००२ को मार्चमा द क्रिमिनल रेकर्ड व्यूरो (सीबीआर) को स्थापना गर्‍यो। यसलाई गृहमन्त्रालय अन्तर्गत एक विशेष अंगको रूपमा सञ्चालन गर्‍यो। यसले बालबालिका तथा उमेर पुगेका तर विशेष सहयोग चाहिने व्यक्तिहरूसँग काम गर्ने मानिसहरूको विशेष निगरानी राख्ने मात्र नभई काममा राख्नु अगाडि त्यस्ता व्यक्तिहरूको पृष्ठभूमि र चरित्रलाई विशेष रूपमा खोजतलासी गर्ने व्यवस्था गर्‍यो।

जो कोहीलाई शैक्षिक योग्यता र निवेदनको आधारमा रोजगारी दिने परम्परालाई एक निश्चित प्रक्रिया अनुसार रोजगारदाताहरूलाई सहयोग पुग्ने गरी काम गर्नु यस व्यूरोको कर्तव्य तोकिएको थियो। यसलाई भेटिङ्ग गर्ने पनि भनिन्छ।

सीआरबीको स्थापना पछाडि करिब दुई करोड पटक प्रयोग भएको तथ्यांक देखिन्छ। यो सन् २०१२ मा आएपछि स्वतन्त्र सुरक्षा प्राधिकरण (आईएसए) अन्तर्गत राखी डिस्क्लोजर एण्ड बारिङ्ग सर्भिस (डी.बी.एस) मा मर्ज गरिएको थियो। यसपछि कुनै व्यक्तिको पृष्ठभूमि पत्ता लगाउन झन् सरल र सहज भयो। सरकारले यस क्षेत्रमा चुस्तदुरुस्त तथ्यांकहरू उपलब्ध गराउन विभिन्न माध्यम प्रयोग गरिएकोले रोजगारदाताहरूले उपयुक्त व्यक्तिलाई काममा लगाउन सजिलो हुने गरेको छ। कामको प्रकृति अनुसार विभिन्न स्तरको जाँच–पडताल हुने गर्दछ। यस्ता जाँचलाई चार चरणमा वर्गीकृत गरेको छ। जसमा आधारभूत (बेसिक), मानक (स्ट्याण्डर्ड), परिष्कृत (इनह्यान्स) सहित प्रतिबन्धित (इनह्यान्स विथ बार लिष्ट)।

सन् २०२३ को जनवरीमा एक पूर्व प्रहरी अधिकृत डेभिड क्यारिक ४९ अपराधमा दोषी ठहर भएका थिए। जसमध्ये २४ बलात्कार १४ यौन दुराचार र बाँकी अन्य थिए। उनलाई कम्तीमा ३० वर्ष कैद सहित जन्म कैद सुनाइयो। सन् २००१ मा प्रहरीमा प्रवेश गरेका डेभिड कारबाहीमा पर्नुपूर्व २२ वर्षसम्म प्रहरीमा कार्यरत रहँदा यी सबै अपराधहरू गरेका थिए

सन् २०२२/२३ को एक तथ्याङ्क अनुसार एक वर्षमा झण्डै ६५ लाख निवेदनहरू माथि छानबिन गरिएको थियो। प्रकृति अनुसारको शुल्क पनि निर्धारण गरिएको हुन्छ। अहिले पहिलो दोस्रो प्रकारको लागि १८ पाउण्ड र अरूको ३८ पाउण्ड शुल्क तिर्नुपर्ने हुन्छ। प्राय: जस्तो विशेष छानबिन हुने हुँदा ३८ पाउण्ड तिर्नेको संख्या झण्डै ६० प्रतिशत देखिन्छ।

यसरी वार्षिक लगभग १५० मिलियन पाउण्ड शुल्क संकलन गर्ने देखिन्छ। आधारभूत जाँच गर्न सम्बन्धित जो–कोहीले पनि निवेदन दिन पाइने हुन्छ। बाँकीको लागि सम्बन्धित रोजगारदाता अथवा स्वयंसेवा गर्ने हो भने सम्बन्धित संस्थाले मात्र आवेदन दिन सक्ने व्यवस्था छ।

जाँच पड्तालको लागि निवेदन दिएपछि पहिलो प्रकृतिको दुई हप्ता, दोस्रोको चार हप्ता र बाँकीको आठ हप्तासम्म समय लाग्न सक्ने भने पनि प्राय:जसो दुई हप्ताभित्र जवाफ आउने गरेको देखिन्छ। कुनै पनि संघसंस्था वा व्यवसायले यस्तो निवेदन दिएपछि जवाफ नआएसम्म त्यस्तो व्यक्तिलाई काममा लगाउन सक्दैनन्।

शिक्षा क्षेत्रमा कम उमेरका बालबालिकाहरूसँग सम्बन्धित सम्पूर्ण कामहरू जस्तै अध्ययन भ्रमण, खेलकुदमा लैजाने ल्याउने बस चालक, खेल प्रशिक्षक, अस्थायी, स्थायी वा बेलाबखत पढाउनेहरू, विद्यालयमा कुनै पनि क्षेत्रमा काम गर्नेहरू ठेकेदार, सेन्टरका सबै पदहरू, स्वास्थ्य तथा सामाजिक सुरक्षामा काम गर्ने बाल तथा वृद्धाहरूलाई सेवा पुर्‍याउने कुनै पनि कामहरूमा ज्यालादारी वा स्वयंसेवकको हैसियतमा काम गर्न पनि प्रत्यकको रेकर्ड जाँच गर्न अनिवार्य हुन्छ।

डी.बी.एस.को स्थापना हुनुमा सन् २००२ को ४ अगष्टमा भएको एउटा हत्या घटनाको महत्वपूर्ण भूमिका रहेको छ। क्याम्ब्रिजको सोहयाम भन्ने ठाउँबाट दुई जना दश वर्षीय होली र जेसीका घरबाट बेपत्ता भएका थिए। दुई दिनपछि प्रहरीले स्थानीय विद्यालयमा केयर टेकरमा काम गर्ने ईयान हंटलीसँग सोधपुछ गर्दा आफू त्यतिबेला अन्यत्र रहेको बताउँछन्। यो जिकिरलाई उसको पार्टनर म्याक्सिन कारले पनि पुष्टि गरेका कारण छाडिएको थियो। अगष्ट १६ मा उनीहरूको लाश फोहोरको नाली नजिक फेला पर्‍यो।

चारदिन पछि त्यो जोडीलाई पुन पक्राउ गर्‍यो र मुद्दा चलाइयो। इयानलाई अदालतले दुई जीवनकाल कैद र सजाय सुनायो। उसको प्रेमिकालाई घटना लुकाउन सहयोग गर्न खोजेकोमा साढे तीन वर्षको कैद सजाय सुनायो। इयानको रेकर्डमा यस अगाडि पनि अस्वाभाविक व्यवहार देखाएको घटनामा संलग्न भएको देखियो। आवश्यक जाँच–पडताल नगरी विद्यालयमा काम दिएको कारण यस्तो घटना घटेको हो भन्ने व्यापक जनगुनासो आयो। त्यसपछि सरकारले २००६ मा ‘सेफगार्डिङ्ग भलनेरवल ग्रुप एक्ट’ प्रयोगमा ल्याई भेटिङ्ग प्रक्रियालाई कडाइ गर्न थालियो।

यसलाई परिमार्जन गर्ने क्रममा नै  डी.बी.एस.को व्यवस्था  गरिएको हो। यस अगाडि यौन अपराधमा संलग्नहरूको रेकर्ड  सेक्सुयल अफेन्स एक्ट १९९७ अनुसार राख्ने गरिएको थियो। सन् २००३ मा यो कानुनमा अन्य यौन सहित विशेषत: बालयौनमा संलग्न हुनेहरूको सूचना विशेष तरिकाले राख्न थालियो। सन् २००० मा मारिएका सारा पेनको घटनापछि कुनै आमाबाबुले आफ्ना छोराछोरीहरूको सम्पर्कमा आउने जो–कसैको बारेमा पनि प्रहरीसँग बुझ्न निवेदन दिन सकिने र प्रहरीले उक्त व्यक्तिको रेकर्ड उपलब्ध गराउनुपर्ने कानुन निर्माण भएको थियो।

एक पटक डी.बी.एस. जाँच गरेपछि कहिलेसम्म मान्य हुन्छ भन्ने बारे भने कानुन मौन छ। रोजगारदाताहरूले समय–समयमा नयाँ जाँच गराउने चलन छ। यो अन्य प्रमाणपत्र जस्तो नवीकरण हुने नभई नयाँ जाँच गर्नुपर्ने हुन्छ। शिक्षण क्षेत्रमा भने तीन महिने नीति भन्ने छुट्टै व्यवस्था गरिएको हुन्छ। कुनै विद्यालयमा काम गर्ने आफ्नै कर्मचारी वा अन्यत्रबाट अन्य कामको लागि जानेहरू पनि तीन महिना भन्दा लामो समय कुनै विद्यालय भित्र गएका छैनन् भने उनीहरूको डी.बी.एस. जाँच नगरी भित्र जान अनुमति हुँदैन।

एन.एच.एस.ले पनि कामदारहरूलाई प्रत्येक तीन वर्षमा नयाँ जाँच गर्न पर्ने नीति लिएको छ भने अन्यले पनि यसलाई आधार मानेको देखिन्छ। यो प्रमाण पत्र तयार गरेको मितिसम्म यो व्यहोरा ठिक साँचो हो भन्ने लेखिएको हुन्छ। त्यसपछि कहिले अर्को जाँच गराउनुपर्ने हो त्यो रोजगारदाता वा संघसंस्थाको दायित्वको रूपमा हेरिन्छ।

यति धेरै होशियारी तथा कडाइका बाबजुद पनि यहाँको समाजमा घट्ने केही घटनाहरूले आश्चर्यचकित पार्ने गरेका छन्। त्यसमाथि पनि कानुनलाई लागू गर्ने सबैभन्दा भरपर्दो संस्था प्रहरी फोर्समा काम गर्नेहरूको संलग्नतामा हुने घटनाहरूले सबैलाई चिन्तित बनाउने गर्दछ। त्यस्ता केही घटनाहरू यहाँ उल्लेख गरिएको छ।

म्यानचेष्टरमा बसोबास गर्ने लीन म्याकी आफ्नो घरबाट सेप्टेम्बर २०१६ मा हराउँछिन्। उनको श्रीमान् ड्यारन म्याकीले सामान्य भनाभन पछि श्रीमतीले घर छाडेर बेपत्ता भएको जानकारी प्रहरीलाई गर्दछन्। अप्रिल २०१७ मा लीन म्याकीको लाश चेसायरको एक चौर नजिक फेला पर्छ। यसको आशंकामा ड्यारनलाई पक्राउ गर्छ र मुद्दा चलाउँछ। सन् २०१९ मा उनलाई दोषी ठहर गरेर जेल पठाउँछ। ड्यारन प्रहरीमा केही समय काम गरेपछि निकालिएको थियो। आफ्नो श्रीमतीको हत्या गरेर लाश लामो समयसम्म लुकाउन सक्ने व्यक्तिले कसरी प्रहरी सेवा प्रवेश पायो भन्ने बारे ठूलो बहस भएको थियो।

सन् २०२३ को जनवरीमा एक पूर्व प्रहरी अधिकृत डेभिड क्यारिक ४९ अपराधमा दोषी ठहर भएका थिए। जसमध्ये २४ बलात्कार १४ यौन दुराचार र बाँकी अन्य थिए। उनलाई कम्तीमा ३० वर्ष कैद सहित जन्म कैद सुनाइयो। सन् २००१ मा प्रहरीमा प्रवेश गरेका डेभिड कारबाहीमा पर्नुपूर्व २२ वर्षसम्म प्रहरीमा कार्यरत रहँदा यी सबै अपराधहरू गरेका थिए।

कोभिडकालमा सन् २०२१ को मार्च ३ को बेलुकी कामबाट घर फर्किरहेकी सारा ऐभराडलाई प्रहरी अफिसर वाइन कजनले गिरफ्तार गरी हत्कडी लगाएर गाडीमा लिएर जान्छन्। साराका साथीहरूले उनी घर नआए पछि खबर गर्छन्। देशभरि ठूलो हल्ला चल्यो मार्च ९ मा कजनलाई पक्राउ गरियो र भोलिपल्ट आसफोर्ड केन्टको एक जंगलमा लाश फेला पर्छ। कजनमाथि अपहरण, बलात्कार र हत्याको मुद्दा चलायो र आजन्म कैदको सजाय भोगिरहेका छन्। आश्चर्यको कुरा उनी अति विशिष्ट सांसद तथा कूटनीतिज्ञहरूको सुरक्षाको लागि पनि खटिने गरेका थिए। उनी सन् २०११ मा प्रहरीमा प्रवेश गरेका थिए।

(अधिवक्ता श्रेष्ठ लामो समयदेखि बेलायतमा बसोबास गर्दै विविध विषयमा निरन्तर कलम चलाउँदै आएका छन्।)

लेखकको बारेमा
सुरेन्द्र नेपाल श्रेष्ठ

झण्डै अढाई दशकदेखि बेलायतमा बसोबास गर्दै आएका लेखकका ‘मेरो आधा शताब्दि’ र ‘नेपालः विदेशबाट नियाल्दा’ पुस्तक प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?