२० मंसिर, काठमाडौं। व्यक्ति हत्यामा दोषी ठहर भई फरार अभियुक्त १५वर्षपछि पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा दोलखाको वैतेश्वर गाउँपालिका–१ कि ४७ वर्षीया कमला गोले तामाङ छिन् ।
उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले काठमाडौंको गोकर्णेश्वरबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले जानकारी दिए ।
२० असोज २०६७ मा उनको घरमा काम गर्न आएर बास बसेका वीरबहादुर तामाङको हत्या गरेको कसुरमा उनी दोषी ठहर भएकी थिइन् । सर्वोच्च अदालतले उनीविरुद्ध १ भदौ २०७२ मा १२ वर्ष कैदको फैसला सुनाएको थियो ।
त्यसपछि जिल्ला अदालत दोलखाले भने उनलाई सफाई दिएको थियो । बलात्कार गर्न लागेका युवकलाई प्रतिकार गर्दा मृत्यु भएको भन्दै सुरु जिल्ला अदालतले गोलेलाई सफाई दिएको थियो ।
उक्त फैसलाविरुद्ध तत्कालीन पुनरावेदन अदालत पाटनमा पुनरावेदनको रिट परेको थियो । उक्त रिटको फैसला गर्दा पाटनले ५ वर्ष कैद सजाय सुनाएको थियो । पाटन अदालतको फैसलाविरुद्ध सरकारी पक्षले फेरि सर्वोच्च पुगेको थियो ।
सर्वोच्चले भने उनलाई १२ वर्ष कैदको फैसला गरेको हो । यसअघि उनी ९महिना २ दिन कैद बसिसकेकाले अब ११ वर्ष २ महिना २८ दिन कैद बस्नुपर्ने हुन्छ ।
प्रतिक्रिया 4