+
+

उदीपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइन निजी क्षेत्रले बनाउने

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २६ गते १४:२४

२६ मंसिर, काठमाडौं । मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत लमजुङको उदीपुर सबस्टेसनबाट तनहुँको आँबुखैरनीस्थित मार्कीचोक हुँदै चितवनको आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनसम्मको प्रसारण लाइन निर्माणले गति लिएको छ ।

मर्स्याङ्दी, दोर्दी तथा त्रिशूली नदी र ती नदीहरूका सहायक खोलामा निर्माण भएका एवम् निर्माणाधीन निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूले उदीपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइन खण्डको सब कन्ट्रयाक लिएर निर्माण अगाडि बढाइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । उक्त खण्ड आगामी जेठभित्र निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको छ ।

उदीपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइन खण्डको ठेक्का चिनियाँ कम्पनी पिङ्गाओ ग्रुप अफ कम्पनीले पाएको थियो । तर, उसले छनोट गरेका सब कन्ट्रयाक्ट्ररबाट समयमै काम सम्पन्न गरी लाइन सञ्चालनमा ल्याउने अवस्था नदेखिएपछि निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूले आफैं सब–कन्ट्रयाक लिएर निर्माण अगाडि बढाएका हुन् । यसमा मर्स्याङ्दी, दोर्दी तथा त्रिशूली नदी र ती नदीहरूका सहायक खोलामा जलविद्युत् निर्माण गरी सञ्चालनमा रहेका ७ र निर्माणाधीन ७ गरी १४ जलविद्युत् आयोजनाहरूको सहभागिता छ ।

उदीपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइन खण्ड सञ्चालनमा आएपछि मात्र उक्त नदी र खोलाहरूमा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको वर्षायामको विद्युत् पूर्ण रूपमा राष्ट्रिय प्रसारण लाइनमा प्रवाह हुने अवस्था छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मंगलबार तनहुँ र चितवनमा निर्माण भइरहेको प्रसारण लाइनको अनुगमन गरी आगामी जेठभित्र काम सम्पन्न गर्न संस्थाका तर्फबाट आवश्यक सहयोग र सहजीकरण गर्ने बताए ।

घिसिङले मर्स्याङ्दी, दोर्दी तथा त्रिशूली नदी र ति नदीहरूका सहायक खोलामा वर्षायाममा उत्पादित विद्युत् प्रवाहका लागि उदीपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइन खण्ड महत्त्वपूर्ण रहेकाले जनशक्ति थप गरी निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिए ।

प्रसारण लाइनमा पर्ने वन क्षेत्रको जग्गा प्रयोग, रुख कटान, जग्गा प्राप्ति र मार्गधिकारमा रहेका समस्या समाधान गरी निर्माणस्थल उपलब्ध गराउन आयोजना व्यवस्थापनलाई उनले निर्देशन दिए ।

डिभिजन वन कार्यालय चितवन र तनहुँका प्रमुखलाई फोन गरी उनले वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानमा स्वीकृति प्रक्रियामा सहजीकरण गर्न अनुरोध गरे ।

उदीपुर–मार्कीचोक ४० किलोमिटर प्रसारण लाइन खण्डमा ११६ वटा टावर निर्माण गर्नुपर्ने छ । त्यसमध्ये ९० वटा टावरको जग हालिएको छ । मार्कीचोक–भरतपुर २८ किलोमिटर प्रसारण लाइन खण्डमा ८३ वटा टावर निर्माण गर्नुपर्ने छ । यसमध्ये ३८ वटा टावरको जग हालिएको छ । हाल ६ ठाउँमा काम भइरहेको छ । टावर पार्टस्, कन्डक्टर (तार) लगायतका सम्पूर्ण उपकरण तथा निर्माण सामाग्री आपूर्ति भइसकेको छ ।

उदीपुरबाट गोरखा, तनहुँ हुँदै नयाँ भरतपुरसम्मको प्रसारण लाइन निर्माणका लागि ६९.६९ हेक्टर वन क्षेत्रको जग्गा प्रयोग गर्नुपर्ने छ । त्यहाँ रहेका १० हजार २ सय २५ रुख कटान गर्नु पर्नेछ ।

आयोजना प्रमुख नारायण रेग्मीले वन क्षेत्रको जग्गा प्रयोग र रुख कटान स्वीकृति सम्पूर्ण प्रक्रिया पूरा गरी केही ठाउँमा कटान सुरु भइसकेको बताए । टावर प्याडका लागि निजी जग्गा अधिग्रहण भइसकेको र मार्गधिकारमा पर्ने जग्गा तथा संरचनाको क्षतिपूर्ति निर्धारणको प्रक्रिया अघि बढिसकेको प्रमुख रेग्मीले जानकारी दिए ।

निजी क्षेत्रका ऊर्जा उत्पादकहरूकोतर्फबाट निर्माणमा खटिएका ऊर्जा उद्यमी मोहन कार्कीले प्रसारण लाइन समयमा नबनेमा राज्यलाई नै ठूलो नोक्सानी हुने देखिएपछि मर्स्याङ्दी र त्रिशूली नदी करिडोरका जलविद्युत् प्रवर्द्धकहरूको अग्रसरता एवम् सहमतिमा सब–कन्ट्रयाक लिएर निर्माण सुरु गरिएको बताए ।

मर्स्याङ्‍दी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका चारवटा सबस्टेसनमध्ये उदीपुर र नयाँ भरतपुर सबस्टेसन निर्माण सम्पन्न भइसकेका छन् । लमजुङको खुदी सबस्टेसन निर्माणका अन्तिम चरणमा छ भने मनाङको धारापानीमा सबस्टेसन निर्माणाधीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?