News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बुर्तिबाङ-पौँदीअमराइ-तम्घास-सन्धिखर्क=गोरुसिंगे १३२ केभी प्रसारणलाइन तथा सबस्टेसन स्थलगत अनुगमन गरेका छन्।
- अनुगमनपछि १३२ केभी प्रसारण लाइन चार्जमा ल्याइएको र यसले क्षेत्रीय विद्युत् आपूर्ति नियमित र गुणस्तरीय हुने प्राधिकरणले जनाएको छ।
- आयोजना सम्पन्न भएपछि गुल्मी, अर्घाखाँची, बागलुङ र कपिलवस्तुका बासिन्दाले सहज र स्थिर विद्युत् सेवा पाउने अपेक्षा गरिएको छ।
६ फागुन काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ‘बुर्तिबाङ-पौँदीअमराइ-तम्घास–सन्धिखर्क-गोरुसिंगे १३२ केभी प्रसारणलाइन आयोजना’ को लाइन तथा सबस्टेसन स्थलगत अनुगमन गरेका छन् ।
लाइन निर्माण सम्पन्न भएपछि शाक्यले गुल्मी रेसुंगा नगरपालिका-७ उनाएचौरस्थित ४६ एमभीए क्षमताको तम्घास सबस्टेसन, मुसिकोट नगरपालिका अन्तर्गत पौँदीअमराइ सबस्टेसन र बागलुङ ढोरपाटन नगरपालिका-२ खल्टुबोटस्थित बुर्तिबाङ सबस्टेसन सहित प्रसारण लाइन निरीक्षण गरेका हुन् ।
उनको उपस्थितिमै थप प्राविधिक परीक्षणपछि तम्घास सबस्टेसनबाट बुर्तिबाङसम्मको १३२ केभी क्षमताको विद्युत् सर्किट प्रसारणलाइन चार्जमा ल्याइएको छ ।
अनुगमनमा प्रसारण निर्देशनालय प्रमुख राजन ढकाल, उच्च भोल्टेज ग्रिड विकास विभाग निर्देशक केदारराज सिलवाल र मझौला भोल्टेज ग्रिड विकास विभाग निर्देशक अच्युतबाबु घिमिरे थिए । गुल्मीका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे पनि तम्घास सबस्टेसन पुगेका थिए ।
निरीक्षणपछि शाक्यले पहिला ३३ केभी लाइन मार्फत विद्युत् आपूर्ति हुँदा दैनिक १०-१५ पटकसम्म समस्या देखिने गरेको उल्लेख गर्दै १३२ केभी प्रसारण लाइन चार्ज भएपछि आपूर्ति नियमित र भोल्टेज गुणस्तरीय भएको जानकारी प्राप्त भएको बताए । यसले क्षेत्रीय विद्युत् आपूर्ति व्यवस्था थप भरपर्दो बनाउने विश्वास व्यक्त गरे ।
शाक्यका अनुसार नयाँ सबस्टेसन सञ्चालनसँगै कृषि, साना तथा ठूला उद्योग-व्यवसायलाई आवश्यक गुणस्तरीय विद्युत् उपलब्ध गराउन प्राधिकरण सक्षम हुने अपेक्षा छ ।
यसबाट स्थानीय अर्थतन्त्र मजबुत हुने, रोजगारी सिर्जना हुने र वैदेशिक रोजगारीतर्फको निर्भरता केही घट्न सक्ने उनको भनाइ छ ।
बुर्तिबाङ क्षेत्र पुगेर उनले प्रसारण सञ्जाल विस्तारले आसपास गाउँमा स्थिर विद्युत् आपूर्ति हुने तथा निजी प्रवर्द्धकका आयोजना राष्ट्रिय ग्रिडमा जोड्न सहज हुने बताए ।
३३/११ केभी प्रणालीबाट १३२ केभी डबल सर्किटमा स्तरोन्नति भएपछि सम्भावित पम्पस्टोरेज जलविद्युत् आयोजनाका लागिसमेत आधार तयार भएको शाक्यले बताए ।
स्थानीय लघु जलविद्युत् आयोजना सञ्चालनमा समस्या देखिएकाले प्राधिकरणको सञ्जालसँग जोडेर सञ्चालन गर्ने विषयमा सहजीकरण गर्ने र उत्पादित विद्युत् बिक्रीमा सहयोग गर्ने आश्वासन समेत उनले दिए । दुई दिनसम्म गरिएको प्राविधिक परीक्षण सफल भएको र अब नियमित विद्युत् प्रवाह हुने प्राधिकरणले जनाएको छ ।
आयोजना प्रमुख मनोजप्रसाद चौधरीका अनुसार कपिलवस्तु मोतिपुरदेखि बागलुङ बुर्तिबाङसम्म पाँच स्थानमा सबस्टेसन निर्माण गरिएको छ ।
मोतिपुर-सन्धिखर्क-तम्घास-पौँदीअमराइ हुँदै बुर्तिबाङ जोड्ने संरचना पूर्ण सञ्चालनमा आएसँगै गुल्मी, अर्घाखाँची र बागलुङमा विद्युत् आपूर्ति थप नियमित र गुणस्तरीय हुने अपेक्षा छ ।
करिब ४ अर्ब ७६ करोड रुपैयाँ लागतको आयोजना सम्पन्न भएपछि लामो दुरीका कारण हुने भोल्टेज घट्ने, ओभरलोड तथा पटक–पटक विद्युत् अवरुद्ध हुने समस्या कम हुने प्राधिकरणको विश्वास छ ।
यसबाट कपिलवस्तु, गुल्मी, अर्घाखाँची र बागलुङका बासिन्दाले सहज र स्थिर विद्युत् सेवा पाउने अपेक्षा छ ।
प्रतिक्रिया 4