+
+

टुकुचामाथि बन्यो ‘बक्स कल्भर्ट’, कमलादी सडक भोलिदेखि सञ्चालन हुने

काठमाडौं महानगरपालिकाको कार्यालय छेउ कमलादीमा टुकुचामाथिको ‘बक्स कल्भर्ट’ निर्माण पूरा भएसँगै बिहीबारदेखि उक्त सडक सञ्चालनमा आउने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २६ गते १८:४५
फाइल तस्वीर

२६ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यालय छेउ कमलादीमा टुकुचामाथिको ‘बक्स कल्भर्ट’ निर्माण पूरा भएको छ । अब भोलिदेखि कमलादी सडक पनि सञ्चालनमा आउने भएको हो ।

‘भोलि मन्त्रालयका सचिवले उद्घाटन गरेर यो बक्स कल्भर्टमाथि सवारी सञ्चालनमा आउँछ,’ सडक विभागका एक अधिकारीले भने ।

२३ साउनमा महानगरको कार्यालय नजिकै टुकुचा खोला (इच्छुमती) माथि रहेको कमलादी सडकमा करिब ५ मिटरभन्दा गहिरो र करिब १० मिटरभन्दा फराकिलो भ्वाङ परेको थियो ।

‘पहिले चारैतिर इँटाको पर्खाल बनाएर त्यसमाथि स्ल्याब ढलान गरिएको थियो । त्यही ठाउँमा सडक सञ्चालनमा थियो । साउनमा आएको पानीले भत्काएपछि अब चाहिँ बक्स कल्भर्ट बनाउने काम सकिएको छ । डिभिजन सडक कार्यालय काठमाडौंका एक अधिकारीले भने ।

३ महिनापछि सुरु भएको थियो काम

सडकमुनि रहेको इँटाको कल्भर्ट भत्केर भ्वाङ परेपछि भोलिपल्टै (२४ साउनमा) सडक विभाग टोली अनुगमनमा पुगेको थियो । अनुमगनपछि भूगर्भविद् सहित इन्जिनियरिङ टोलीले अध्ययन गरेको थियो ।

पुरानो इँटाको कल्भर्ट भएकाले उक्त स्थानमा पुरातत्व विभागले समेत चासो देखाएपछि डिभिजन सडकले पुरातत्वसँग परामर्श गरेको थियो ।

विभागले डिभिजनलाई पत्र लेखेर पुराना संरचनाको अस्तित्व नमेटिने गरी काम गर्न भनेपछि डिभिजनले फेरि सडक विभागको मापदण्ड अनुसार गर्ने भन्दै छलफल गरी टुंग्याएर मात्रै ठेक्का लगाएको थियो ।

सबै प्रशासनिक कुरा मिलेपछि डिभिजन सडक कार्यालयले डीजी प्रकाश कन्स्ट्रक्सनलाई १८ असोजमा ठेक्का दिएको थियो । ६० लाख ५० हजार रुपैयाँ लागत अनुमान गरेको कार्यालयले बोलकबोल गर्दा ४९ लाख ६३ हजार रुपैयाँमा कन्स्ट्रक्सनले ठेक्का लिएको थियो ।

‘यो पनि पुल नै हो । ६ मिटरभन्दा लामोलाई पुल भनिन्छ, यो त्योभन्दा छोटो हुने भएकाले कल्भर्ट भनिएको हो, यहाँ निर्माण भएको बक्स कल्भर्ट हो,’ डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीले भने, ‘सानो खोलामाथि पुल जस्तै बनाउनुपर्ने भएकाले यहाँ यसबाहेक अन्य विकल्प थिएन, त्यही अनुसार बनेको हो ।’

उनका अनुसार २ कात्तिकबाट ठेकेदार कम्पनीले काम सुरु गरेको थियो । पश्चिम क्षेत्र दरबारमार्ग तर्फबाट कमलादीतर्फ पानी आउँदा टेको भत्केपछि सडक मुनिको माटो बगाउँदा भ्वाङ परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?