त्यस दिन मेरो पहिलो टेलिभिजन कार्यक्रम प्रसारण हुनेवाला थियो । आफूलाई टेलिभिजनमा हेर्नका लागि म एकदमै उत्सुक थिएँ । त्यसैले वीरगन्जकै साथी पवन शाहलाई लिएर बसन्तपुरको एउटा रेष्टुरेन्ट पुगियो, साँझ नपर्दै ।
‘आज चाहिँ मेरो कार्यक्रम आउँछ, हेर्नुपर्छ है’ म गमक्क परेर साथीसँग यसै भनिरहेका थिएँ । उता गाउँमा आमाबुवाले टोलमा झ्याली पिटेछन्, ‘टिभीमा हाम्रो छोरो आउँदैछन् ।’ घरमा छिमेकीको घुँइचो लागेछ ।
त्यसबेला ‘नेपाल वान’ थियो, जसमा मेरो पहिलो एपिसोड कार्यक्रम खिचिएको थियो । कार्यक्रमका निर्माता थिए, अशिम शाह । सो कार्यक्रम सम्पादन भयो र अनएयरका लागि दिल्ली पठाइयो । बुधबारको राती ९ बजे कार्यक्रम प्रसारण हुने भयो ।
हामी एकदमै अधैर्य थियौं । कतिबेला नौ बज्छ ? घडीको काँटा छिटो घुमिदिए हुन्थ्यो । अन्ततः ९ बज्यो । कार्यक्रम आएन । मैले अलि मलिनो आवाजमा पवनलाई भने, ‘यार कार्यक्रम त आएन नि ।’
उसले आत्मविश्वासका साथ मलाई हप्काए, ‘आउँछ, कहिले काहीँ यस्तै ढिलो हुन्छ ।’
साढे नौ भयो । दश बज्यो । कार्यक्रम आएन । घरबाट फोन आयो, ‘खै आएन त ।’
मैल असिम शाह दाईलाई फोन लगाएर सोही प्रश्न सोधें । दाईले मलाई यस्तो जवाफ फर्काए, ‘त्यो कार्यक्रम त पहिले नै रिजेक्ट भयो नि ।’
…………….
साथीहरुले बहुत उत्साहका साथ मलाई एउटा खबर सुनाए, ‘कान्तिपुर एफएमको लागि भ्याकेन्सी खुलेको छ । यो तेरै लागि हो ।’
मैले पनि मनमनै भने, ‘हो त यो मेरै लागि हो ।’
खासमा त मलाई के लाग्थ्यो भने यसरी फर्म भर्ने, आवेदन दिने मान्छे होइन म । स्टुडियोमा छिरेर सोझै कार्यक्रम चलाउने क्षमताको मान्छे हुँ । वीरगन्जबाट ‘करियर बनाउन’ काठमाडौं आइरहँदा सोचिरहेको थिएँ कि अब सोझै कान्तिपुर एफएम गइन्छ । अनि माइक समाएर भन्नेछु, ‘यो हो रेडियो राष्ट्रको, कान्तिपुर एफएम । म हुँ तपाईंहरुकै ….।’
त्यसबेला कान्तिपुर एफएमको क्रेज नै बेग्लै । सर्वाधिक सुनिने । देशभरले सुन्ने त्यही रेडियोले मलाई नै पर्खिरहेको छ जस्तो लाग्थ्यो । मलाई त के पनि लाग्थ्यो भने, थानकोटदेखि नै मेरो लागि कान्तिपुर एफएमसम्म रातो कार्पेट विच्छ्याइएको छ, स्वागतका लागि ।
तर जब म त्यहाँ गएर स्टेशन म्यानेजरलाई भेटें, उनले मेरो औकात देखाइदिए । यसो भन्दै, ‘अहिले यहाँ मान्छे चाहिएको छैन । पछि चाहिएमा भ्याकेन्सी निकाल्नेछौं ।’
आखिर त्यो दिन पनि आयो र भ्याकेन्सी मेरो हातमा प¥यो । यसबेला म ढुक्क थिएँ कि, जागिर पक्का । कान्तिपुर एफएमले म जत्तिको ट्यान्लेन्ट मान्छे कहाँ पाउँछ ? सरासर औपचारिकता पुरा गर्न भनी एफएमको कार्यलय पुल्चोकतिर लम्किएँ ।
दमकल चोकमा पुग्दा देखें, हातमा आवेदन बोकेर उँभिएकाहरुको लामो पंक्ति छ । एफएममा आवेदनका लागि २२ सय बढी उँभिएका रहेछन् । त्यही पंक्तिले फेरी मेरो औकात देखाइदियो । मलाई लागेको थियो कि, त्यो रिक्त ठाउँ मेरो लागि हो । त्यहाँ म मात्र पुग्नेछु । तर त्यो पंक्तिले भन्यो कि, ‘तँ नाथे जस्तो त यहाँ कति छन् कति ।’ अब म पनि बसें, पंक्तिमा ।
२२ सय जनाबाट पहिलो चरणमा २० जना छनौट गरियो । २० जनामा म परे । त्यसबाट ४ जना छनौट गर्नुपर्ने रहेछ । म अन्र्तवार्ता दिने ठाउँमा पुगें । उनीहरुले मलाई सोधे, ‘तपाईं किन आरजे बन्न चाहनुहुन्छ ?’
अब मेरो जवाफ यस्तो थियो, ‘म केवल आरजे मात्र बन्न चाहन्न । खासमा त म मिडिया पर्सन बन्न चाहन्छु ।’
त्यसको नतिजा आयो । नतिजाले भन्यो, ‘तँ रिजेक्ट भइस् ।’
…………………….
एउटा सनसनीपूर्ण हल्ला फैलियो, ‘हाम्रै ठाउँमा सुटिङ हुँदैछ । त्यो पनि हाम्रै स्कुलमा ।’ त्यसबेला म कक्षा सातमा पढ्दै थिएँ । सिनेमा, सुटिङ भन्नसाथ मेरा रौं ठाडा हुन्थे । किनभने यसप्रति मेरो उल्कै लगाव थियो ।
खासमा भारतिय सरकारी च्यानल दूरदर्शनका लागि एउटा सिरियलको सुटिङ हुने तय भएछ । त्यसका लागि दुई दिग्गज कलाकार आएका थिए, मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । त्यहाँ छायांकन गरिने दृश्य चाहिँ कस्तो भने, विद्यालयमा विद्यार्थी अपहरण भएको । त्यसपछि बम विस्फोट भएको । विद्यार्थीहरु तितरवितर भएको । घाइते भएको । मरेको । गोलीको छर्राले रगतपच्छे भएको ।
मलाई के लाग्यो भने, त्यो अपहरणमा पर्ने बच्चा म नै बन्नुपर्छ । तर, त्यो मौका मेरा लागि थिएन ।
अब मेरो रोल भनेको मर्ने हो । गोलीको छर्राले लागेर रगतपच्छे भई मर्ने । आखिर मर्नु त छँदैछ, क्यामेराको अघिल्निर किन नमर्ने ?
किनभने म चलाख लास जो थिएँ । मैले हेरें, क्यामेरा कतातिर छ । बम पढ्कियो । क्यामेराले जता खिचिरहेको छ, म त्यतै उत्तानो परिदिएँ ।
कथा यतिमै सकिदैन ।
सबैले रगत पुछे । सफाचट भए । म भने रगतसरी भएर घर फर्किएँ । घर पुग्न विद्यालयबाट १५–२० मिनेटको बाटो । म बाटोमा हिँडिरहेको छु । तपाईं यो बुझ्नुहोस् कि, म पुरै स्टाइलमा हिँडिरहेको छु है । मेरो आशा के थियो भने टोलका मान्छेले सोधिदियोस्, ‘के भयो ?’ अनि म शानदार ढंगले भन्न पाउँ, ‘सुटिङ थियो ।’
घरमा पुगें । आमा अत्तालिएर सोधिन्, ‘के भो ?’
मैले गह्रौं आवाजमा ढुक्कसाथ भनिदिएँ, ‘सुटिङ थियो ।’
यो कहानीको क्लाइमेक्स चाहिँ त्यती सुखद छैन । किनभने मैले बालकलाकारको रुपमा डेब्यु गरेको यो सिरियल प्रसारण नै भएनछ ।
………………….
च्यानल नेपालमा भिजे हन्ट भन्ने कार्यक्रम हुँदै थियो । मलाई लाग्थ्यो कि, यो कार्यक्रम मेरै लागि बनेको हो । मैले फर्म भरें । तर, कार्यक्रम नै रिजेक्ट भयो ।
सोही बेला नेपालमै पहिलो पटक अभिनयसम्बन्धी रियलिटी शो आयो, टेलिभिजनबाट । नाम थियो, सुपर एक्टिङ । त्यसमा म सहभागी भएँ । फाइनल राउन्डसम्म पुगियो । त्यसबेला राजबल्लभ कोइराला, विनोद पौडेल, गजित विष्ट आपसमा प्रतिस्पर्धी थियौं । तर, यो रियलिटी शोको पनि ग्रान्ड फिनाले हुनै पाएन ।
रेडियोमा बोल्ने धोका पुरा गरेपछि मलाई टेलिभिजनको मोह जागेको थियो । तर, म जुन टेलिभिजनमा पुग्थें, त्यसले मलाई सोझै रिजेक्ट गरिदिन्थ्यो । नेपाल वानबाट रिजेक्ट, इमेज च्यानलबाट रिजेक्ट, च्यानल नेपालबाट रिजेक्ट । अब कान्तिपुर टिभी त आँट गर्ने कुरा पनि भएन । एफएमले त रिजेक्ट गरेको मान्छे जो परियो ।
……………….
पाएको चिज गुमाउनु भन्दा, पाउने आश भएको चिज गुमाउँदा बडो दुःख लाग्छ । तर, दुःख र सुख अस्थायी हुँदोरहेछ । सुखी भएको बेला आफूलाई सम्हाल्नुभयो भने त्यो दीर्घकालसम्म हुन्छ । दुःखी भएको बेला पनि आफूलाई सम्हाल्नुभयो भने दुःख छोटिएर जान्छ । सम्हाल्नु चाहिँ आफूलाई पर्दोरहेछ ।
त्यो बेला म विद्यार्थी । सानो बुवाले भद्रकालीमा कार्ड फोन दिनुभएको थियो । मैले आफू असफल वा रिजेक्ट भएको कुरा आमालाई फोनमा सुनाएँ । त्यसबेला म खुब रोएँ ।
त्यो मेरो आँशु भद्रकाली माताले प्रत्यक्ष देखिन् । मेरी आमाले त्यो आँशु र आवाज प्रत्यक्ष महसुष गरिन् । आमाले सम्झाउँदै भन्नुभयो, ‘ठीकै छ, फेरी फेरी अर्को ठाउँमा काम पाइन्छ । अझ राम्रो ठाउँमा पुग्न सकिन्छ ।’
मैले आमाको कुरालाई विश्वास गरें ।
…………………..
म यता न उताको अवस्थामा थिएँ । त्यहीबेला सुपर एक्टिङ रियलिटी शोका निर्णयकमध्येका एक दीपक श्रेष्ठको फोन आयो । उनलाई एकजना अभिनय गर्ने केटो चाहिएको रहेछ, हिरो हिरो जस्तो देखिने । उनलाई मूख्य हिरो नै चाहिएको भए त राजबल्लभ कोइरालाको नाम दिन्थे होलान् । तर, हिरो होइन हिरो हिरो जस्तो देखिने चाहिएको रहेछ । त्यस मापदण्डमा म परें ।
खासमा ‘तीतो सत्य’का लागि मेरो नाम सिफारिस भएको रहेछ । त्यसमा मैले एउटा एपिसोड खेल्ने मौका पाएँ । दीपकराज गिरी र दीपाश्री निरौलाले मलाई त्यहीबाट टेलिभिजनमा देखिने रहर पुरा गरिदिए ।
एकदिन बाटोमा हिँड्दै थिएँ, आफ्नै सुरमा । अचानक गोपाल दाईले बोलाउनुभयो, ‘ए बाबु यता आउ त तिमीलाई पैसा दिनु छ ।’
पैसा दिनु छ ? केको ? किन ? म अलमलमा परें । तीतो सत्यमा खेले बापतको पारिश्रमिक रहेछ । एक हजार रुपैयाँ । म छक्क परें । मलाई त टेलिभिजनमा अनुहार देखाउनै ठूलो कुरो छ । त्यसमा पैसा आउँछ भन्ने मलाई के थाहा ?
अब यहाँ अर्को ट्वीस्ट आउँछ । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले टेलिशृंखला बनाउँदैछन् । त्यसमा खेल्नका लागि प्रदीप भट्टराईलाई भेट्नुपर्छ भन्ने थाहा पाएँ । प्रदीप भट्टराई अहिलेका चर्चित निर्देशक । त्यसबेला महसंचारमा थिए ।
म उनैलाई भेट्न गएँ । प्रदीप भट्टराईले मलाई यसो हेरेर भने, ‘ए सर, हामी हिरो–सिरो त केही खेलाउँदैनौं है । हाम्रोमा त क्यारेक्टर मात्र हुन्छ ।’ अरे, मलाई कहाँ हिरो बन्नु छ त ? केवल टिभीमा देखिनु छ । रुख नै बनाइदिएपनि म ठिंग उभिदिन्छु ।
फ्ल्यासब्याक
साथी रन्जितलालले एकदिन भन्यो, ‘रेडियो सिटी भन्ने एफएममा भ्याकेन्सी खुलेको छ, गइहाल ।’
म थाकिसकेको थिएँ । हारिसकेको थिएँ । जता गयो, त्यतै रिजेक्ट । झिनो आशा बोकेर रेडियो सिटीको कार्यलयमा पुगें । त्यहाँ एक युवती थिइन्, जसले आवेदन पुनः फिर्ता गर्न लागेकी । मैले उनैको आवेदन किने । त्यसबेला मलाई लागेको थियो, ‘मलाई भाग्यले साथ दिएको छैन । अरुको भाग्य आफ्नो पोल्टामा पर्न सक्छ ।’
आवेदन दिएपछि स्वर परीक्षण भयो, लिखित परीक्षण भयो । नतिजा आयो । म छनौट भएँ ।
संयोग कस्तो भने, त्यसबेला आमाको जन्मदिन । यता जीवनकै पहिलो जागिर पाउनु र उता आमाको जन्मदिन पर्नु सुखद् संयोग थियो । मैले उमंगसाथ आमालाई फोन गरे, ‘म आरजेमा छनोट भएँ ।’
प्रतिक्रिया 4