 
																						२७ मंसिर, काठमाडौं । सरकारले निजामती सेवा प्रवेशको अधिकतम उमेरको सीमा घटाउने प्रस्ताव गरेको छ ।
प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिमा दफावार छलफलमा रहेको संघीय निजामती सेवा विधेयकमा पुरुषले ३२ वर्ष र महिलाले ३७ वर्षसम्म लोकसेवा आयोगको परीक्षामा सहभागी हुन पाउने व्यवस्था प्रस्तावित छ । हाल पुरुषले ३५ वर्ष र महिलाले ४० वर्षसम्म प्रतिस्पर्धामा सहभागी हुन पाउँछन् ।
यो किन घटाउन खोजेको हो प्रष्ट नरहेको बताउँछिन् नेपाली कांग्रेसकी सचेतक सुशीला थिङ । ‘पुरुष उम्मेदवारको हकमा ३२ र महिलाको हकमा ३७ वर्षसम्म सेवा प्रवेशको अधिकतम उमेर हदराख्ने कुरा आएको छ । यो के को आधारमा कसलाई हेरेर उमेर निर्धारण गरिएको हो ?,’ उनको प्रश्न छ ।
कांग्रेस सचेतक थिङले औसत उमेर बढिरहेको सन्दर्भमा सेवा प्रवेशको उमेर घटाउन उचित नहुने बताइन् । उनले भनेकी छन्, ‘सेवा प्रवेशको उमेरको अधिकतम उमेरको सीमा साविककै प्रावधान अनुसार जानु उपयुक्त हुन्छ । यो नै वैज्ञानिक पनि छ ।’
प्रस्तावित विधेयकको विधेयको दफा १८ मा उम्मेदवार हुनका लागि योग्यता सम्बन्धी व्यवस्था छ । राजपत्र अनंकित वा सहायक तहको पदमा १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने र राजपत्रांकित वा अधिकृत तहको पदमा २१ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था प्रस्तावित छ ।
पुरुष उम्मेदवारको हकमा ३२ वर्ष र महिला उम्मेदवारको हकमा ३७ वर्ष उमेर पूरा नभएको हुनुपर्ने व्यवस्था दफा १८ को ‘ग’ मा छ ।
भूतपूर्व सैनिक वा प्रहरी नियुक्ति हुने भनी तोकिएको संघीय निजामती सेवाको पदमा ४० वर्ष ननाघेको व्यक्ति उम्मेदवार हुन सक्ने व्यवस्था प्रस्तावित छ ।
प्रस्तावित विधेयक कानुनमा रुपान्तरित भए अधिकृत नवौं तहको पदका लागि हुने खुला प्रतियोगितामा ४० वर्ष ननाघेको व्यक्ति उम्मेदवार हुन सक्ने छन् ।
पूर्ण अशक्त अपाङ्गता, अति अशक्त अपाङ्गता वा मध्यम अशक्त अपाङ्गता भएका व्यक्ति पनि ३७ वर्षसम्म उम्मेदवार हुन सक्ने छन् ।
संघीय निजामती सेवाका स्थायी कर्मचारी, कर्मचारी समायोजन सम्बन्धी संघीय कानुन बमोजिम सरकारी सेवाबाट प्रदेश निजामती सेवा वा स्थानीय सेवामा समायोजन भएका कर्मचारी वा लोक सेवा आयोग वा प्रदेश लोक सेवा आयोगबाट सिफारिस भई प्रदेश निजामती सेवा वा स्थानीय सेवामा नियुक्ति भएका कर्मचारीलाई भने उमेरको हद नलाग्ने व्यवस्था गरिएको छ ।
पेन्सन लगायतका सुविधा दिनुपर्ने भएकाले पनि सेवा प्रवेशको उमेर घटाउन नहुने सांसद थिङको राय छ । ४० वर्षको उमेरमा सेवा प्रवेश गरेका महिला ५८ वर्ष उमेरमा सेवा निवृत्त हुँदा सेवा अवधि १८ वर्ष मात्र हुन्छ । पेन्सन पाउन सेवा अवधि कम्तीमा २० वर्ष हुनुपर्छ । १८ वर्षमै सेवानिवृत्त हुने कर्मचारीलाई दुई वर्ष सेवा थप गरी सरकारले पेन्सन उपलब्ध गराउने प्रावधान पनि छ ।
यी लगायतका व्यवहारिक अभ्यास समेतलाई ध्यान दिएर सेवा प्रवेशको उमेरबारे निर्णय लिनुपर्नेमा उनको आग्रह छ ।
 
                









 
                                     
                                 
                             
                                 
             
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4