+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

महानगर–प्राधिकरण किचलो, काठमाडौंका सडक अँध्यारो

काठमाडौं महानगरपालिकाले सडक बत्तीको बिलबापत करिब २ अर्ब रुपैयाँ भुक्तानी नगरेपछि विद्युत् प्राधिकरणले अधिकांश सकडमा बत्तीको लाइन काटिदिएको छ ।

अमृत चिमरिया अमृत चिमरिया
२०८१ पुष ८ गते १७:५५

८ पुस, काठमाडौं । गएको मंसिर अन्तिम साता बसेको काठमाडौं महानगरपालिका कार्यपालिका बैठकमा १२ नम्बर वडाध्यक्ष बालकृष्ण महर्जनले महानगरका सडक हिँड्न नसक्ने गरी अँध्यारो हुन थालेको सुनाए ।

उनले कार्यपालिका वैठकमा टेकु हुँदै कालीमाटीबाट कलंकी जाने सडकमा बत्ती भए पनि नबल्दा स्थानीय र यात्रु मारमा परेको बताए ।

‘स्थानीयको चर्को गुनासो छ, सडकमा बत्ती छ तर बल्दैन, हामीले बुझ्दा विद्युत प्राधिकरणले पैसा नतिरेको भन्दै लाइन काटेको छ, अरे ! प्रमुखज्यूको ध्यानाकर्षण गराउन चाहन्छु,’ महर्जनले भने ।

तर, कार्यपालिका प्रमुख बालेन्द्र (बालेन) साहले जवाफ दिएनन् । वडाध्यक्ष महर्जनले भनेजस्तै काठमाडौंका सडक बत्ती भएर पनि अँध्यारो हुन थालेको धेरै भइसकेको छ ।

उनले भनेजस्तै अहिले काठमाडौंको मुख्य सडकमध्ये एक त्रिपुरेश्वर, कालीमाटी, कलंकीमा अँध्यारो हुँदा पैदल यात्रु साँझ परेपछि हिँड्न नसक्ने अवस्था छ ।

‘गाडीको उज्यालोको भरमा हिँड्नुपर्छ, पोलमा बत्ती छ तर बल्दैन । देशको राजधानीको हालत यस्तो छ, अन्तको कस्तो होला ?,’ सोही बाटोकी पैदल यात्रु सावित्रा थापा प्रश्न गर्छिन् ।

उनीमात्र होइन, त्यही बाटो सधैं मोटसाइकलमा हिँड्ने सुनिल मालाकार पनि बाटो नै डरलाग्दो भएको बताउँछन् । ‘कहिले कुकुरले झम्टिन्छ, हेडलाइटबाट देख्ने जति देखिन्छ, दायाँबायाँ केही देखिन्न । महानगरले यसमा ध्यान दिनुपर्छ,’ मालाकार सुनाउँछन् ।

रकम नतिर्दा बिजुली काटिन्छ : विद्युत् प्राधिकरण

विद्युत् प्राधिकरणले भने बक्यौता चुक्ता नगरेका कारण काठमाडौंका केही सडक पोलमा लाइन काट्नुपरेको जनाएको छ ।

‘हामीले लाइन काट्ने भन्ने होइन तर पैसा नतिरेको पोलको बत्ती सिस्टमले नै काटेको हो । बिजुली प्रयोग गर्ने तर नतिर्ने भन्ने राज्यकै निकायलाई पनि छुट हुँदैन,’ विद्युत प्राधिकरणका प्रवक्ता चन्दन घोष भन्छन् ।

उनले काठमाडौं महानगर सहित नगरपालिकामा धेरै सडक बत्ती रकम  उठाउन बाँकी रहेको बताए । ‘थुप्रै सहरको सडक बत्तीको पैसा उठेको छैन, काठमाडौंको पनि उठेको छैन । पैसा नउठेको बत्तीको लाइन काटिएको छ,’ उनले भने ।

पुरानो बिल नहुँदा पैसा दिएको छैन : महानगर

काठमाडौं महानगरपालिकाले भने अहिले बिजुली नै काट्नुपर्ने गरी बक्यौता बाँकी नरहेको दाबी गरेको छ । महानगरका सहायक प्रवक्ता समेत रहेका प्रशासन विभाग प्रमुख ध्रुव काफ्लेले मासिक महानगरले प्राधिकरणलाई १४–१५ लाख रुपैयाँ बिजुली बिल तिरिरहेको बताए ।

‘पछि राखिएको बिजुली बत्तीमा समस्या छैन, पहिले राखेकोमा कुन मिटरमा कति उठ्यो, कहिले उठ्यो भन्ने हिसाब छैन । उहाँहरूले एकमुष्ट बक्यौता छ भनिरहनु भएको छ । त्यसरी त महानगरले भुक्तानी गर्न सक्दैन । त्यहीभएर रोकिएको हो,’ काफ्लेले भने ।

उनका अनुसार अहिले काठमाडौं महानगरपालिका र विद्युत् प्राधिकरणको संयुक्त निरीक्षणबाट  ३८ हजार  ४ सय २२ वटा पोलमा सडक बत्ती रहेको भेटिएको छ ।

‘हाम्रो पछिल्लो अध्ययनमा विद्युत् प्राधिकरणको समेत समन्वय थियो, त्यहाँ भए अनुसार ३८ हजार पोलमा राखेको बत्तीको मिटरमा जति उठ्छ त्यति महानगरले तिरिरहेको छ । उहाँहरूले पुरानो बत्तीको बक्यौता भनिरहनु भएको मात्रै हो,’ काफ्लेले भने ।

उनले पछिल्लो समय त्रिपुरेश्वर–कालीमाटी–कलंकी सडकमा अँध्यारो हुनुको अर्को कारण त्यस क्षेत्रमा भएको सडक विस्तार, फुटपाथ विस्तार लगायत कामले पनि भएको बताए ।

‘प्राधिकरणसँग पनि लिनुपर्ने छ’

 

काफ्लेले विद्युत् प्राधिकरणलाई काठमाडौं महानगरले दिनुपर्ने मात्रै नभई प्राधिकरणले पनि महानगरलाई तिर्नुपर्ने रकम बक्यौता रहेको बताए ।

‘हाम्रो महानगर अन्तर्गत राखेको पोलको रोयल्टी, भाडामा दिएको संरचनाको बहाल कर, सम्पत्ति कर पनि महानगरलाई दिनुपर्ने छ तर दिएको छैन । सरदर हिसाब गर्दा काठमाडौं महानगरलाई प्राधिकरणले ५१ करोड रुपैयाँ तिर्न बाँकी छ,’ काफ्लेले भने ।

महानगरले कति तिर्न बाँकी छ ?

विद्युत् प्राधिकरणले उपलब्ध गराएको तथ्यांक अनुसार २०८०÷८१ सम्म १ अर्ब ८५ करोड ८३ लाख १२ हजार ५ सय रुपैयाँ बक्यौता छ ।

काठमाडौं महानगरले बालाजु वितरण केन्द्रलाई ४७ लाख ५८ हजार, बानेश्वर वितरण केन्द्र ४२ करोड ८६ लाख ४९ हजार, रत्नपार्क वितरण केन्द्र ९२ करोड ४७ लाख ६७ हजार, कीर्तिपुर वितरण केन्द्र ३८ लाख ७ हजार, कुलेश्वर वितरण केन्द्र ३१ करोड १४ लाख ६७ हजार र महारजगञ्ज वितरण केन्द्रलाई १८ करोड ४८ लाख  ६१ हजार रुपैयाँ तिर्न बाँकी छ ।

तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर

लेखक
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?