+
+
Shares

‘ग्रिड संवाद’ को तेस्रो अंक प्रसारण, वन पैदावार महत्त्वबारे छलफल 

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २६ गते १५:१०

२६ मंसिर, काठमाडौं । नेपालको वातावरणीय समस्या, चुनौती र समाधानका विषयवस्तुमा केन्द्रित विशेष कार्यक्रम ‘ग्रिड संवाद’ को तेस्रो अंक प्रसारण भएको छ । कार्यक्रमको तेस्रो अंक २५ मंसिर मंगलबार साँझ ८ बजे प्रसारण भएको हो । हिमालय टेलिभिजनबाट प्रसारित कार्यक्रममा वन पैदावारको मूल्य शृंखला र यसका आयामहरूबारे छलफल गरिएको थियो ।

कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सहसचिव नवराज पुडासैनी, एसिया नेटवर्क फर सस्टेनेबल एग्रिकल्चर एन्ड बायोरिसोर्सेस् (एन्स्याब)का नायब कार्यकारी निर्देशक पुष्पलाल घिमिरे, हिमवन्ती नेपालका महासचिव निर्मला श्रेष्ठ सहभागी थिए ।

सहभागी वक्ताहरूले वन क्षेत्रले ठूलो जनसंख्यालाई आधारभूत सेवा उपलब्ध गराउने भएकाले ग्रामीण जीवनयापनलाई दिगो बनाउन यसको महत्त्वबारे चर्चा गरेका थिए ।

ग्रामीण महिला तथा निम्न वर्गको आर्थिक उपार्जन, विपन्न वर्गको उत्थान, स्थानीय रोजगारी सिर्जनामा वन क्षेत्रले बहुआयामिक टेवा पुर्‍याएका दृष्टान्त कार्यक्रममा प्रस्तुत गरिएको थियो । यद्यपि मुलुको कुल गार्हस्थ्य उत्पादन (जीडीपी )मा अझै ठूलो योगदान दिन सक्ने भए तापनि वन क्षेत्रको दिगो, वैज्ञानिक र प्रभावकारी ढंगले उपयोग गर्न नसकिएको औंल्याइएको थियो ।

कार्यक्रममा एन्स्याबका नायब कार्यकारी निर्देशक घिमिरेले वन क्षेत्रबाट बहुआयामिक लाभ लिन सकिने भए पनि उद्यम, व्यवसाय लगायत आर्थिक दृष्टिकोणले धेरै उपयोग गर्न नसकिएको धारणा राखे ।

अर्का वक्ता हिमवन्ती नेपालका महासचिव श्रेष्ठले महिलाहरू वन क्षेत्रमा आधारित स-साना उद्यम व्यवसायमा लाग्ने क्रम बढेको बताइन् । यद्यपि वन क्षेत्रबाट उद्यम व्यवसाय आपूर्तिमा महिलाहरू अगाडि रहे पनि उत्पादित वस्तुको बिक्रीवितरण र मूल्य सिर्जनामा भने अझै पछाडि रहेको उनले औंल्याइन् ।

मन्त्रालयका सहसचिव पुडासैनीले समुदायमा आधारित वनक्षेत्रलाई अंगीकार गरिसकेपछि वन संरक्षण संस्थागत भएको र अहिले यसलाई आर्थिक उत्थान तथा समृद्धिसँग जोडेर लैजान विभिन्न काम भइरहेको बताए ।

सरकारले वनबाट हासिल गर्न सकिने समृद्धिका पाँच स्तम्भ छनोट गरेको, जसमा काष्ठजन्य उद्योग, गैरकाष्ठजन्य उद्योग, वन्यजन्तुको व्यवसाय, कार्बन व्यापार र प्रकृतिमा आधारित पर्यापर्यटन रहेको उनले जानकारी दिए । यसबाट लक्षित लाभ हासिल गर्न उद्योग मन्त्रालय लगायत निकायसँग सहकार्य र समन्वय गर्दै अघि बढ्ने उनले बताए ।

ग्रिड संवादको पहिलो अंक नेपालमा वायु प्रदूषणको अवस्था, यसले ल्याएका जनस्वास्थ्य समस्या, विकास र अर्थतन्त्रमा पारेको प्रभाव र दोस्रो अंक कृषि क्षेत्रको विषयमा केन्द्रित थियो ।

‘नेपालको हरित, उत्थानशील र समावेशी विकासतर्फको मार्ग बुझ्न’ थिम रहेको कार्यक्रम कम्तीमा ७ अंक प्रसारण हुनेछ । कार्यक्रम हिमालय टेलिभिजनका साथै आधिकारिक फेसबुक पेज र युट्युबमार्फत पनि प्रसारण हुने गरेको छ । कार्यक्रम प्रस्तोता पूर्व मिस नेपाल सुगरिका केसी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?