+
+

संसद् हमलाकारीलाई ट्रम्पले दिएको माफीविरुद्ध न्यायाधीश, भन्छन् : रगत धोइपखाली गर्न सकिंदैन

अमेरिकी संसद आक्रमणका प्रतिवादीहरूको मुद्दा सुनुवाइ गरिरहेका वासिङ्गटनका दुई अन्य संघीय न्यायाधीशहरूले पनि बुधबार माफीलाई कडा शब्दमा आलोचना गर्दै मुद्दा खारेज गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १० गते १५:३८

१० माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसदमा आक्रमण गर्ने समर्थकहरूलाई दिएको माफीको तीन न्यायाधीशहरूले कडा आलोचना गरेका छन् ।

बुधबार राष्ट्रपति ट्रम्पले सन् २०२० को निर्वाचनको नतिजा उल्ट्याउने प्रयास स्वरुप अमेरिकी संसद‌्मा आक्रमण गर्ने आफ्ना समर्थकहरूलाई आममाफी दिएका थिए ।

न्यायाधीश टान्या चुटकनले आदेशमा भनेकी छन्, ’कुनै माफीले २०२१ जनवरी ६ मा के भयो भन्ने दुःखद यथार्थ परिवर्तन गर्न सक्दैन ।’

उनले अगाडि थपेकी छन्, ’यो भीडले छाडेको रगत, फोहोर आतंकलाई धोइपखाली गर्न सकिंदैन र, यसले अमेरिकाको सत्ता शान्तिपूर्ण हस्तान्तरण गर्ने पवित्र परम्परामा फाटेको गहिरो धाँजा निको पार्न सक्दैन ।’

ट्रम्पले सोमबार पद सम्हालेको केही घण्टामै १५ सयभन्दा बढी आफ्ना समर्थकहरूलाई माफी दिएका थिए । उनीहरूले जो बाइडेनको विजय प्रमाणित गर्न लागेका बेला त्यसलाई बिथोल्न संसद‌्मा हमला गरेका थिए ।

साथै, ट्रम्पले यसक्रममा कट्टर दक्षिणपन्थी समूह प्राउड बोइज र ओथ किपर्स मिलिसियाका १४ सदस्यहरूको सजाय पनि कम गरेका थिए।

चुटकनले विशेष अभियोजक ज्याक स्मिथद्वारा ट्रम्पविरुद्ध दायर गरिएको आपराधिक मुद्दाको सुनुवाइ गर्दै उक्त आदेश दिएकी हुन् । उक्त मुद्दामा ट्रम्पलाई सन् २०२० को निर्वाचनको नतिजा उल्टाउने प्रयास गरेको आरोप लगाएको छ ।

ट्रम्पले नोभेम्बरमा चुनाव जितेपछि यो मुद्दा अदालतमा अगाडि बढ्न सकेको थिएन । पदमा रहेका राष्ट्रपतिविरुद्ध मुद्दा नचलाउने अमेरिकी न्याय क्षेत्रको लामो समयदेखि अभ्यासमा रहेको नीति हो ।

अमेरिकी संसद् आक्रमणका प्रतिवादीहरूको मुद्दा सुनुवाइ गरिरहेका वासिङ्गटनका दुई अन्य संघीय न्यायाधीशहरूले पनि बुधबार माफीलाई कडा शब्दमा आलोचना गर्दै मुद्दा खारेज गरेका छन् ।

जिल्ला न्यायाधीश बेरेल हाउवेलले आफ्नो अदालतमा आएका दुई प्रतिवादीहरूका आरोपहरू खारेज गर्न कुनै तथ्यगत आधार नभएको बताइन्। खारेजीका लागि ट्रम्पको ह्वाइट हाउसले मात्र ’गम्भीर राष्ट्रिय अन्याय’ भएको दाबी गरेको थियो।

’यहाँ कुनै गम्भीर राष्ट्रिय अन्याय भएको थिएन, जसरी सन् २०२० को राष्ट्रपति चुनावमा कुनै निर्वाचन धाँधली भएको थिएन,’ हाउवेलले भनेकी छन्। हार मान्न नसक्नेहरूले शक्ति शान्तिपूर्ण रूपमा हस्तान्तरण गर्ने परम्परालाई निस्फिक्री रूपमा अवरोध गर्ने उनको तर्क छ ।

’यसले मात्र अरू हार मान्न नसक्नेहरूको भविष्यमा कानुनविपरीतको आचरणको खतरा बढाउँछ र कानुनको शासनलाई कमजोर बनाउँछ,’  उनले भनेकी छन्।

त्यस्तै, अर्का जिल्ला न्यायाधीश कोलिन कोल्लार–कोटेलले आरोपहरू खारेज गरेर र माफी दिएर २०२१ जनवरी ६ मा के भएको थियो भन्ने सत्यलाई परिवर्तन गर्न नसकिने बताएका छन् ।

’त्यो दिन के भयो भन्ने कुरा भविष्यका लागि हजारौं भिडियो, मुद्दाका प्रतिलेख, न्यायाधीशका फैसलाहरू र न्यायिक रायमार्फत संरक्षित छ,’ कोल्लार–कोटेलले भनिन्।

उनले थपेकी छन्, ’यी अभिलेखहरू अपरिवर्तनीय हुन् र सत्यको प्रतिनिधित्व गर्छन्, चाहे जनवरी ६ का घटनाका प्रतिवादी वा तिनका सहयोगीहरूले जसरी वर्णन गरे पनि।’

ट्रम्पले उक्त दिनलाई मायाको दिनको रूपमा चित्रित गर्दै चुनावी अभियानका दिनहरूदेखि राष्ट्रपति निर्वाचित भए आक्रमणकारीहरूलाई माफी दिने बाचा गर्दै आएका थिए । उनले आक्रमणकारीहरूलाई देशभक्त र राजनीतिक कैदी भनेर सम्बोधन गर्छन् ।

संसद‌् आक्रमण ट्रम्पले ह्वाइट हाउसनजिक आफ्ना समर्थकहरूलाई उक्साउपूर्ण भाषण दिएपछि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?