+
+

बराहपोखरीले सुरु गर्‍यो आफ्नै प्रशासनिक भवनबाट सेवा

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ११ गते २१:१२

११ माघ, खोटाङ । बराहपोखरी गाउँपालिकाको सेवा प्रवाह आफ्नै प्रशासनिक भवनबाट सुरुआत गरिएको छ । गाउँपालिकाको केन्द्र बाघखोर भञ्ज्याङमा सुविधासम्पन्न चारतले प्रशासनिक भवन निर्माण गरी सेवा सुरु गरिएको हो ।

गाउँपालिका र सङ्घीय सरकारको रु छ करोड १० लाख लगानीमा कौशिल बस्नेत निर्माण सेवा प्रालि काठमाडौँले ठेक्कामार्फत प्रशासनिक भवन निर्माण गरेको पालिका कार्यालयले जनाएको छ । पालिकाको ५५ प्रतिशत र सङ्घीय सरकारको ४५ प्रतिशत लगानीमा प्रशासनिक भवन निर्माणको काम सम्पन्न गरिएको हो ।

सङ्घीय सरकारले ६० र गाउँपालिकाले ४० प्रतिशत बजेट लगानी गर्ने भनिए पनि गाउँपालिकाले १५ प्रतिशत बढी लगानी गरेर भवन बनाएको गाउँपालिकाका प्रमुख शालिकराज बञ्जराले जानकारी दिए । उनका अनुसार सङ्घीय सरकारले भने जति रकम उपलब्ध गराउन नसक्दा भवन निर्माण केही समय ढिलाइ भएको थियो।

‘निर्माण सुरु गरिएको भवन अलपत्र हुने अवस्था आएपछि गाउँपालिकाबाट १५ प्रतिशत लगानी थप गरेर काम सम्पन्न गर्‍यौँ’, उनले भने ।

भवनको भुइँतला र पहिलो तलामा छ–छ कोठा, दोस्रो तलामा सात कोठा र तेस्रो तलामा सभाहलसहित तीन कोठा रहेका गाउँपालिकाका इञ्जिनियर हिमाल कार्कीले जानकारी दिए । आर्थिक वर्ष २०७७/७८ मा बोलपत्र आह्वान भएर विसं २०७८ कात्तिक ७ गते गाउँपालिका र ठेकेदार कम्पनीबीच सम्झौता भएको थियो ।

नवनिर्मित भवनको औपचारिक रूपमा आज कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भुपेन्द्र राईले उद्घाटन गरे । कार्यक्रममा विभिन्न जातजातिको सांस्कृति झाँकी पनि प्रस्तुत गरिएको थियो ।

दश स्थानीय तह रहेको जिल्लाका अन्य पालिकाले पनि प्रशासनिक भवन निर्माणलाई तीव्रता दिएका छन् । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको भवन सम्पन्न भइसेको छभने रावाबेँसी र ऐसेलुखर्क गाउँपालिकाको निर्माणाधीन छ ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, केपिलासगढी गाउँपालिका, खोटेहाङ गाउँपलिका र जन्तेढुङ्गा गाउँपालिकाले यसअघि प्रशासनिक भवन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?