
अनलाइनखबरमा केही समयअघिको एक रात छोटो फिचर प्रकाशित भयो– ‘एउटा भैंसीको भावपूर्ण अन्त्येष्टि !’ प्रायः राजनीति, समाज, जन–जीविका, अर्थ–व्यवस्थाबारे मात्र सामग्रीहरू प्राथमिकतामा पर्ने नेपाली मिडियाका लागि यस्तो खबर अलि ‘अगतिलो’ वा ‘मामुली’ जस्तो देखियो ।
तर सामान्य लाग्ने यो समाचार एकाएक सबैतिर फैलियो । युट्युबरदेखि मूलधारका केही मिडियाले पनि यसैबाट समाचार साभार गरेर प्रसारण, प्रकाशित गरे । यही फिचरबाट प्रभावित भन्दै ब्लग लेखिए ।
वास्तवमा यो एउटा गर्भिणी भैंसीको मात्र कथा थिएन, जो बधशालामा काटिनै लाग्दा उम्केर आफ्नो ज्यान जोगाउन सफल भयो । यो कथा त ती तमाम पशुहरूको हो जसले मान्छेको रजगजबाट हुनसम्मको पीडा भोगेर बाँच्न बाध्य छन् । मान्छेबाट तड्पिएर, सताइएर नारकीय जीवन बाँचिरहेका छन् । मान्छेको अहम् र पाखण्डीपनको शिकार हुनुपरेको छ ।
मान्छेले आफ्नो प्रजाति बाहेक सबैलाई आफ्नो उपभोग्य वस्तु देख्छ । अरू सबै आफ्नै लागि मात्र बाँचेका हुन् भन्ने ठान्छ । त्यसैले गाईवस्तु, पशुपक्षीलाई मान्छेले आफ्नो स्वाद र स्वार्थ अनुसार भोगचलन गर्छ । पशुहरूको आँखाबाट हेर्दा मान्छेहरू कति राक्षसी देखिंदा हुन् ?
यहाँ आइपुगेपछि ‘मायाकुमारी’ नाम दिइएको उक्त भैंसीको पृष्ठभूमि बताउन जरूरी हुन्छ । मायाकुमारी एउटी भैंसी थिइन्, जसलाई कसैले मासुका लागि बिक्री गरेका थिए । त्यसो त दिनहुँ सयौं मायाकुमारी काठमाडौंमा ल्याइन्छन् र बर्बरतापूर्वक मारेर मासुका लागि बिक्री गरिन्छ । काठमाडौंमा अत्यधिक खपत हुने मःममा यिनै मायाकुमारीहरूको आँशु, चीत्कार र पीडा मिसिएको छ ।
मायाकुमारीको चार थुनमध्ये दुई वटा थुनबाट मात्र दूध आउन थालेपछि किसानले ‘खरिदे’लाई बिक्री गरे । ती किसानलाई मायाकुमारीले कति दूध खुवाइन्, कति बच्चा जन्माइन्, कति मल दिइन् होला त्यसको कुनै हिसाब किताब गरेनन् । बरु बूढो र दूध कम दिन थालेपछि किसानले खरिदेलाई बिक्री गरे ।

मायाकुमारीमा दुई महिनाको गर्भ थियो । सायद यसको हेक्का किसानलाई भएन । खरिदेले गर्भवती भैंसीलाई कति दिन भोकभोकै राखेर, कति कठिनसाथ ट्रकमा कोचेर काठमाडौं ल्याए होलान् ।
काठमाडौंमा ल्याएर कुट्दै, घँचेट्दै, घिसार्दै बधशाला पुर्याए । बधशालामा कति बीभत्स ढंगले पशुहरू काट्ने, मार्ने गरिन्छ भने त्यसको दृश्य देखेर तपाईंलाई एन्जाइटी नै हुन सक्छ । बधशालामा राखेर मायाकुमारीको टाउकोमा घन प्रहार गरियो । घनको तोडले उसको सिङ भाँचियो, आँखाबाट रगत आयो । त्यो गर्भिणी भैंसी त्यहाँबाट कसो–कसो उम्किएर भाग्यो । भाग्दै भाग्दै एउटा विद्यालयमा पुगेर लुक्यो । संभवतः उसले त्यहाँ आफ्नो ज्यान बचाउन सकिन्छ भन्ने ठान्यो । तर, तत्काल भेला भएका प्रहरी, वन विभागका कर्मचारीले उसलाई मार्ने तयारी गरे ।
संयोगवश केही पशुकर्मीले यो खबर थाहा पाए । उनीहरूले भैंसीलाई मार्न होइन, बचाउन जरूरी भएको भन्दै पशु एम्बुलेन्समा राखेर स्नेह केयर्स नामक पशु आश्रयस्थलमा पुर्याए ।
ललितपुरको पशु आश्रयस्थलमा राखिएको सो भैंसी सुरुमा मान्छे देख्नासाथ डराउँथ्यो । तर्सन्थ्यो । सायद मान्छेप्रति उनमा कत्ति पनि विश्वास थिएन । तर, नियमित स्नेहपूर्वक स्याहारसुसार पाएपछि भैंसी सुभानी भयो । केही समयपछि नै उसले एउटी पाडी जन्मायो । त्यो पाडीको नाम ‘मैचा’ राखियो । नेवारी भाषाको ‘मैचा’ माया गरेर बोलाउने नाम हो ।
तर, मैचाले लामो समय आफ्नी आमाको सामीप्य पाउन सकिनन् । विगतकै चोटको कारण लागेको स्नायु सम्बन्धी रोगले मायाकुमारी थलिंदै गइन् र केही दिनमै उनको मृत्यु भयो ।
एउटा कलिलो बच्चाले आफ्नी आमा गुमाइन् । उनलाई दूधको तलतल कति लाग्दो हो । त्यसक्षण आफ्नी ममतामयी आमाको सम्झना आउँदो हो । कहाँ गइन् मेरी आमा ? बोल्न सक्ने भए यस्तै सोध्दा हुन् ।
मान्छेको पाखण्डीपनले एउटा अबोध पशुमाथि कतिसम्म अत्याचार भएको छ ? यो घटनाले उदांगो पार्छ । एउटा गर्भिणी भैंसीलाई मासुको लागि बेच्नु, काट्नु आफैंमा अपराध त हो नै समाज कसरी पतन हुँदै गएको छ भन्ने प्रमाण पनि ।
तर, यहाँ आवाजविहीनको कुरा उठाउँदा पशु अधिकारकर्मी भइस् ? डलरवादी भइस् ? धर्म विरोधी भइस् ? जस्ता प्रश्नहरू आउन थाल्छन् । यस्ता प्रश्नकर्ताहरू कति संवेदनहीन होलान् ? कति निर्दयी होलान् ?
मायाकुमारी मान्छे होइनन् भैंसी हुन् । हाम्रो नश्ल र उनको फरक छ । प्रजाति फरक छ । त्यसो भन्दैमा उनीमाथि विभेद गर्न मिल्छ ? मान्छेले पाउने अधिकार उनले किन नपाउने ? के उनले सुबिस्ताको जीवन बाँच्ने हकलाई मान्छेले कुण्ठित गर्न मिल्छ ?
मायाकुमारीको कथा त्यसबेला उजागर भयो, जब उनले यस धर्तीबाट बिदा लिइसकेकी थिइन् । अनलाइनखबरमा समाचार प्रकाशित भएपछि त्यसले थोरबहुत चर्चा पायो । तर, यो चर्चाको मात्र विषय थिएन ।
खासमा मायाकुमारीका लागि न्यायको लडाईं छेड्नुपर्ने विन्दु थियो यो । अरू तमाम अबोध पशुहरूमाथि हुने क्रूरता रोक्न यसले एउटा मुद्दाको उठान गर्नुपर्ने थियो ।
मायाकुमारी साँच्चै मानिस भए के उनलाई त्यो हदको पीडा दिने दुस्साहस कसैले गर्थ्यो ? वा उनको न्यायको आवाज उनको मृत्युसँगै विलीन हुुन्थ्यो ?
प्रतिक्रिया 4