+
+
अन्तर्वार्ता :

‘बोल्दै नबोल्ने र मनपरी बोल्ने प्रवृत्तिले पार्टी बन्दैन’

‘… जनवादको नाममा अराजक हुने र अनुशासनको नाममा निरकुंश हुने प्रवृत्ति देखिन्छ । यो दुवै प्रवृत्तिले कम्युनिष्ट आन्दोलनमा क्षति भइरहेको छ’ ज्ञवाली भन्छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ११ गते २१:४०

नेकपा एमालेभित्र अनुभवी र पाका नेता मध्ये पर्छन्, युवराज ज्ञवाली । केपी शर्मा ओली नेतृत्वको कमिटीमा दोहोरिएर उपाध्यक्ष रहेका ज्ञवाली पार्टीपंक्ति बीच सरल र सादगी नेताका रूपमा चिनिन्छन् ।

कम्युनिष्ट आदर्श, मूल्य र मान्यताको सदावहार वकालत गर्ने ज्ञवाली पछिल्ला पार्टी निर्णयहरूप्रति उति धेरै खुशी देखिंदैनन् । तर उनको चर्को विरोध जनाउने शैली छैन । त्यसैले नरम स्वरमा भिन्न मत राख्दै आएको देखिन्छ ।

ज्ञवालीको बुझाइमा एमालेभित्र अहिले बोल्दै नबोल्ने र मनपरी बोल्ने समस्या छ । ‘… जनवादको नाममा अराजक हुने र अनुशासनको नाममा निरकुंश हुने प्रवृत्ति देखिन्छ । यो दुवै प्रवृत्तिले कम्युनिष्ट आन्दोलनमा क्षति भइरहेको छ’ ज्ञवाली भन्छन्, ‘पार्टीभित्र निरंकुशता र स्वेच्छाचारिता छ भने पनि त्यो कम्युनिष्ट पार्टीले समाजवाद ल्याउन सक्दैन, त्यो पतन हुन्छ ढिलोचाँडो ।’

प्रस्तुत छ, उनै एमाले उपाध्यक्ष युवराज ज्ञवालीसँग अनलाइनखबरका सइन्द्र राईले गरेको कुराकानीः

एमाले संस्थापन शक्ति हो, त्यसैले यसले सरकारको नेतृत्व गरिरहन्छ । तर बजारमा चिनिने एमाले भन्दा तपाईं कतै न कतै पृथक् देखिनुहुन्छ । यसबारे के भन्नुहुन्छ ?

कुनै एकाध घटनाबाट प्रभावित भएर या कुनै व्यक्तिविशेषबाट प्रभावित भएर पनि पार्टीमा लाग्ने हुन्छन् । त्यसरी लागेकाहरू पनि आजीवन राजनीतिमा छन् ।

मेरो पृष्ठभूमि चाहिं मार्क्सवाद पढेर, बुझेर कन्भिन्स भएर पार्टीमा लागेको हुनाले त्यो आदर्श, मूल्यमान्यता र विचारको पक्षमा निरन्तर दृढतापूर्वक उभिनुपर्छ भन्ने हो । राजनीतिमा लाग्दा कुनै पद, प्रतिष्ठा, फाइदा र निजी हित महत्वाकांक्षा नभएर विशुद्ध जनता र देशको सेवाका लागि भनेर लागें ।

राजनीति भनेको सेवा गर्ने माध्यम हो, कमाइ खाने र सुविधा प्राप्त गर्ने माध्यम होइन । त्यसका लागि जानाजान दुःख, कष्ट झेल्नुपर्छ ।

म बच्चादेखि कम्युनिष्ट पार्टीमा लागें । त्यतिखेर पुष्पलालले नेतृत्व गरेको पार्टीसँग सम्बद्ध भएर विद्यार्थी र शिक्षक राजनीतिमा लागिरहे । पछि पुष्पलालसँग विद्रोह गरेपछि मुक्ति मोर्चासँगै को–अर्डिनेशन केन्द्र (कोके) मा सामेल भएँ ।

कोकेमा उग्रवामपन्थी चिन्तन थियो । तर पुष्पलालको पार्टी अलिक निष्क्रिय जस्तो हुनाले क्रान्ति हुँदैन होला भन्ने लागेर कोकेमा लागियो ।

जुन उद्देश्य र मूल्य–मान्यताको आधारमा कम्युनिष्ट पार्टीमा लागियो, आजीवन त्यो मूल्य–मान्यतामा अडिनुपर्छ भन्ने मान्यतामा सम्झौता कहिल्यै गरिनँ, चाहे जुनसुकै परिस्थिति आए पनि । सत्तामा पुगे पनि, नपुगे पनि । पार्टीको जुनसुकै तहमा भए पनि ।

पार्टीभित्र पर्याप्त छलफल र बहसको वातावरण होस्, निर्भयताका साथ प्रश्न उठाउन सक्ने होस् र निर्णयलाई दृढताका साथ कार्यान्वयन गर्ने परिपाटी स्थापित गर्न सकियो भने अवश्य पनि पार्टी अगाडि जान्छ ।

त्यसैले पार्टीमा अनेक खालका मतभेद र टुटफुट हुँदा आफ्नो मान्यतामा अडिएँ । एउटा विचारको पक्षमा रहें । त्यसले कहिले कुन नेतासँग जोडिन पुगें, कहिले कुन नेतासँग ।

तर व्यक्तिको पछाडि लागेको होइन, पुष्पलालको पार्टीमा रहँदा पनि व्यक्तिको पछाडि लागिनँ । पछि तमाम खालका अन्तरविरोधमा पनि अमूक नेतासँग जोडिएर रहने गरिनँ । अमूक नेता फुटेर जाँदा फुटेर जाने, फेरि तिनै नेतासँग जोडिएर आउने स्थिति भएन ।

विचारको आधारमा वैचारिक समूहमा जोडिएर आएँ, स्थायी गुटमा जोडिइनँ । एजेण्डामा अडिग रहें, आफूलाई लागेको कुरामा उभिएँ ।

मूल्य र सिद्धान्त मात्र भनिरहँदा दुःख पाइरहने अवस्था पनि हुने रहेछ । अहिले सार्वजनिक गाडी चढेर अन्तर्वार्ता दिन आउनुभयो, हैन ?

लाखौं नेपाली जनतासँग पनि त निजी गाडी छैन । निजी गाडी हुनेहरूको संख्या अत्यन्तै सानो छ । यद्यपि मानिसहरूको आर्थिक हैसियत बढिरहेको छ । तर लाखौं मानिस सार्वजनिक यातायातमै हिंडिरहेका छन् । त्यसैले मैले सार्वजनिक बसमा हिंड्नु कुन ठूलो कुरो भयो र !

यसको ठीक उल्टो, सरकारको नेतृत्व गरिरहेको पार्टीको सबैभन्दा सिनियर उपाध्यक्षसँग निजी गाडी हुनु कुन ठूलो कुरो भयो र ! भन्ने पनि होला नि ?

सबैको आर्थिक हैसियत एउटै हुँदैन । अब सरकारमा रहँदा पदका कारणले सरकारी गाडी चढ्नु स्वाभाविक हो, अर्को कुरा कतिपय साथीहरू आर्थिक उत्पादनमा लागेर अथवा उनीहरूको परिवारले राम्रो आर्यआर्जन गरेकाले निजी गाडी चढेर हिंड्छन् भन्दा अस्वाभाविक ठान्नुपर्ने आवश्यकता छैन ।

तर भूमिगत राजनीति हुँदै आएका समकालीन नेताहरूबीच अपत्यारिलो आर्थिक असमानता …. ?

लामो राजनीतिक पृष्ठभूमि छ भन्दैमा निजी गाडी हुनैपर्छ भन्ने के छ र ? भयो भने राम्रो ।

यत्रो सत्ता वैभव, काण्डैकाण्ड । अनि एमालेको जुन तहमा हुनुहुन्छ, जाबो एउटा गाडी … !

यदि मेरो आर्थिक हैसियत राम्रो हुन्थ्यो भने गाडी चढेरै यहाँ आउँथें । गाडी चढेर हिंड्नुहुँदैन भन्ने मान्यता राख्दिनँ । किनकि वैज्ञानिक विचार मान्नेहरू गाडी नै चढ्नुहुन्न भन्ने निष्कर्षमा पुगियो भने त कसरी हामी प्रगति गर्छौं र ? फेरि मलाई बस्न, खान, लाउन पुगेकै छ, म आफैं सन्तुष्ट छु ।

तपाईंको व्यक्तिगत मूल्य, मान्यता र अवस्थाबारे यति भनिसकेपछि अब एमाले पार्टी जीवनको कुरा गरौं । एमाले ठिकठाक चलिरहेको छ ?

कमजोरी विनाको पार्टी कहीं पनि हुँदैन । तर कहिले समस्या अलि बढी जटिल हुन्छ, अन्तरविरोध चर्को हुन्छ, कहिलेकाहीं अन्तरविरोध अलिक न्यून खालको हुन्छ । अन्तरविरोध नहुने पार्टी नै हुँदैन । त्यसैले एमालेमा अन्तरविरोध छैन भन्नु बेकार कुरा हो । अन्तरविरोधहरू छन् । तर दशौं महाधिवेशनले जुन नीति, सिद्धान्त र विचारहरू सर्वसहमतिले पारित गरेको छ, मलाई सोध्नुहुन्छ भने पारित नीतिहरूप्रति मेरो प्रतिबद्धता छ ।

तर सिद्धान्त किताबमा राम्रो लेखेर महाधिवेशनबाट पारित गरेर मात्र हुँदैन । मार्क्सवाद भन्नका लागि मात्र होइन, त्योभन्दा बढी व्यवहारमा लागू गर्नु हो । कामलाई मार्गदर्शन गर्ने कुरा हो, मार्क्सवाद । तर कहिलेकाहीं सिद्धान्त एकातिर, व्यवहार अर्कातिर भइरहेको हुन्छ ।

२०४८ सालदेखि बहुमत ल्याउने भनेका छौं, तर सिंगल बहुमत आएकै छैन । त्यसैले २०८४ सालमा बहुमत ल्याउन धेरै कुरामा परिवर्तन जरूरी छ ।

एमालेमा सिद्धान्त एकातिर र व्यवहार अर्कैतिर हुने दीर्घरोग देखियो भन्ने टिप्पणीप्रति के भन्नुहुन्छ ?

भयंकर ठूलो रोगले ग्रसित भएको कुरासँग सहमत हुन सक्दिनँ । एमाले खत्तम भइसकेको छ भन्ने बाहिर व्याख्या भइरहेको छ, अनुमान गर्छन् मान्छेहरू । त्यो हदसम्म चाहिं होइन । तर समस्याहरू यहाँ पनि छन् । अरू पार्टीमा पनि छन् । कांग्रेसमा छ, माओवादीमा छ, अरू साना पार्टीहरूमा छन्, समाजवादीमा धेरै छन् । तिनलाई सच्याउँदै जानुपर्छ, आत्मसमीक्षा गरेर जानुपर्छ । काम गर्दै जाने, तर आत्मसमीक्षा नगर्ने भयो भने झन् बिग्रँदै जान्छ ।

तर एमाले जसरी चलिरहेको छ, कतिपय निर्णय र गतिविधि त सामाजिक मान्यता अनुसार पनि छैन भनिन्छ, नि !

कतिपय त विरोधीहरूले एमालेलाई बदनाम गर्न भ्रामक कुरा सिर्जना गर्ने र नेताहरूको चरित्रहत्या गर्ने ढंगले भएका छन् । तर कतिपय कुरा सार्वजनिक रूपले उठिरहेको छ, ती कुराहरूबारे सोच्नुपर्ने अवस्था छ । किनकि हाम्रो राजनीति जनताका लागि हो । अब राजनीति गरेका छौं, निर्णय गरेका छौं र जनताले कतिपय कुरा रुचाइरहेको छैनन् । र, कमेन्ट गरिरहेका छन् भने जनताबाट सिक्ने हो ।

माओत्सेतुङको भनाइ छ– जनताबाट सिक । जति धेरै जनताबाट सिक्न सकियो, त्यति धेरै समस्या सुल्झिंदै जान्छ । जनताबाट सिक्ने भनेको जनताले के भनिरहेका छन्, जनताका समस्या के हुन् ? जनताले हामीलाई मन पराइरहेका छैनन्, आलोचना गरिरहेका छन् । त्यो कुरा के हो भन्ने ठीक तरिकाले आत्मसमीक्षा गर्ने हो ।

तर जनताबाट सिक्ने नभएर जनताले भनिरहेकै कुरा गर्दा बोल्दा एमालेमा भटाभट कारबाही गरिंदैछ …

मैले अघि पनि भनिसकें, सिद्धान्त र नीति ठीक भएर मात्र हुँदैन । त्यसलाई व्यवहारमा लागू गर्दा जटिलताहरू उत्पन्न हुन्छन् । त्यो सिद्धान्तसँग हाम्रो व्यवहार मेल खान्छ कि खाँदैन भनेर पटक–पटक त्यो परीक्षण गर्ने र जनता के भन्छन् भनेर सोच्ने । आमरूपमा जनताको मनोविज्ञान कहिलेकाहीं के भइदिन्छ भने विषय ठीक हुँदाहुँदै पनि जनताले मन नपराउने पनि हुन्छन् ।

त्यसैले जनतासँग सिक्ने, जनतालाई सिकाउने पनि हो पार्टीको काम । या त हामीले सही निर्णय गरेका छौं भनेर जनतालाई बुझाउनु पर्‍यो, तर जनता मान्न तयार छैनन् भने त्यसलाई जहिले जनता मान्ने अवस्थामा पुग्छन्, त्यतिबेला मात्र गर्नुपर्‍यो ।

जनता के पनि भन्छन् भने एमालेभित्र केपी ओलीसँग प्रश्न गर्ने हैसियतका नेता छैनन्, रहेनन् ….

सडकबाट प्रश्न गर्ने कि पार्टीभित्र प्रश्न गर्ने भन्ने दुई वटा कुरा छन् । सडकबाट प्रश्न गर्दा धेरैले सुन्छन् । पार्टी कमिटीभित्र प्रश्न गर्दा धेरैले सुन्दैनन् । यसले त्यहाँ प्रश्नै गर्दैनन् भन्ने हल्ला फैलिन्छ ।

हाम्रो पार्टीभित्र प्रश्नै गर्दैनन् भन्ने जुन कुरा बाहिर हल्ला बढी छ, त्यो साँचो कुरा होइन । कतिपयले लाग्दालाग्दै पनि प्रश्न नगर्ने हुन सक्छ । कतिपय मान्छेको स्वभाव त्यस्तो हुन्छ । मनमा लागेको छ, तर नबोल्ने ।

जो साथीहरूमाथि कारबाही भयो, त्यस्ता महत्वपूर्ण साथीहरूले पार्टीबाट निस्केर जानु पर्दा पर्सनल्ली मलाई दुःख लाग्छ । यस्तो नभइदिए हुन्थ्यो ।

कतिपयको स्वभाव पार्टीभित्र भनेर हुने कुरालाई बाहिर भन्ने र पार्टीभित्र पनि भन्ने । बाहिर चर्चामा आउनलाई बोल्न हुन्छ । यी दुवै स्वभाव अतिवाद हो– लागेको कुरा सार्वजनिक गर्दै हिंड्ने र कमिटीभित्र बोल्दै नबोल्ने ।

यी दुवै प्रवृत्ति हाम्रो विधान र सिस्टमसँगै मिल्दैन । जब तपाईं पार्टीको सदस्य हुनुहुन्छ र कुनै कमिटीमा बस्नुभएको छ भने पार्टी निर्णय भन्दा फरक विचार हुँदा सार्वजनिक बोल्ने कि पार्टीमा ?

यदि तपाईं सार्वजनिक व्यक्ति हो, स्वतन्त्र वामपन्थी हो, सामान्य भोटर हो भने सार्वजनिक रूपमा बोल्न पाउनुहुन्छ । नेपालको संविधानले पूरै अधिकार दिएको छ । तर तपाईं पार्टी कार्यकर्ता हो, सदस्य हो भने पार्टी निर्णय मान्नुपर्छ, र आफ्ना मतहरूलाई पार्टीभित्र राख्नुपर्छ ।

कतिपयलाई यस्तो गर्न गाह्रो हुन्छ । तर धैर्य हुनुपर्छ । पार्टी सदस्य हुने यो एउटा क्राइटेरिया हो ।

मैले बुझेको कम्युनिष्टभित्र डेमोक्रेसी हुन्छ, तपाईं बोल्न पाउनुहुन्छ, छलफल गर्न पाउनुहुन्छ, बहस गर्न पाउनुहुन्छ, चुनाव गर्न पाउनुहुन्छ, चुनावमा उठ्न पाउनुहुन्छ, मन परेको व्यक्तिलाई भोट हाल्न पाउनुहुन्छ, त्यसमा तपाईंलाई लोकतन्त्र हुन्छ । तर चित्त नबुझेको कुरा सार्वजनिक रूपमा बोल्न मिल्दैन । हाम्रो विधानले रोकेको छ ।

सार्वजनिक रूपमा बोल्दै हिंड्ने हो भने तपाईं स्वतन्त्र व्यक्ति भएर बाँच्न सक्नुहुन्छ । पार्टी सदस्य नभएर पनि कैयौं मानिस एमालेसँग हुनुहुन्छ । पद्मरत्न तुलाधर पार्टी सदस्य हुनुभएन र कुनै कमिटीमा बसेर काम पनि गर्नुभएन । तर उहाँ हिजो मालेलाई मान्नुहुन्थ्यो, एमालेलाई मान्नुहुन्थ्यो । अहिले पनि छन्, त्यस्ता मान्छेहरू । बुद्धिजीवीहरू आफ्नो पेशा–व्यवसाय गरेर खाएका छन्, चित्त नबुझेको कुरा बोल्छन्, तर एमालेलाई भोट हाल्छन् ।

विश्लेषण आ–आफ्नै छन् । पार्टीभित्र तानाशाह भयो भन्नेहरू पनि छन् अनि अराजक भनेर भटाभट कारबाही पनि चलिरहेको छ । खास हुनुपर्ने के हो ?

को मान्छेले के भन्छन् भन्नु भन्दा पनि यो पार्टीसँग विधान र सिस्टम छ । कसैले पार्टी निर्णय भन्दा पृथक् बोल्यो भने पनि उसलाई तुरुन्तै निष्कासन गरिंदैन, त्यो विधानमा लेखिएको छ । सुरुमा स्पष्टीकरण सोधिन्छ, चेतावनी दिइन्छ । र, त्यसपछि निलम्बन अनि मात्र निष्कासन गरिन्छ । कुनै मान्छेलाई कारबाही गर्नुपर्ने स्थिति छ भने पनि त्यसको स्टेप हुन्छ ।

कुनै मान्छेले चोरी वा डकैती गरेको छ भने पनि त्यसको अदालती प्रक्रिया हुन्छ नि, नियम र विधि हुन्छ । पार्टीभित्र पनि गल्ती कसैले गरेको छ भने सकभर गल्ती सच्याउन प्रयत्न गर्नुपर्छ भन्ने मान्यता छ, विधानमै त्यो मान्यता छ ।

पार्टीभित्र भइरहेको निर्णयप्रति के हो त कुरा ?

जो साथीहरूमाथि कारबाही भयो, त्यस्ता महत्वपूर्ण साथीहरूले पार्टीबाट निस्केर जानु पर्दा पर्सनल्ली मलाई दुःख लाग्छ । यस्तो नभइदिए हुन्थ्यो । तर हाम्रो सिस्टमले बाध्य भएर पनि कारबाही गर्नुपर्ने हुन्छ, नियमले त्यस्तो भन्छ ।

अब नेपाली कांग्रेसमा पार्टीभित्र मात्र होइन, बाहिर पनि बोल्छन् । बाहिर बोलेबापत कारबाही गर्ने चलन हुँदैन । तर निर्णय चाहिं मान्नैपर्छ त्यहाँ पनि ।

हाम्रोमा तुलनात्मक कडा छ, त्यो सिस्टमले गर्दा भएको हो । कम्युनिष्टहरू समाजवादमा जाने भएकाले अनुशासित पार्टी हुन्छ । हामी के चाहन्छौं भने पार्टी लोकतान्त्रिक र अनुशासित होस् । अनुशासन र लोकतन्त्र अन्तरसम्बन्धित विषय हुन् ।

त्यसलाई जनवादी केन्द्रीयता भनेर फर्मुलेट गरेका छौं । जनवाद पनि हुुनुपर्छ, केन्द्रीयता पनि हुनुपर्छ । जनवाद बेस हो, केन्द्रीयता त्यसको उपज ।

सार्वजनिक आलोचना चाहिं एमालेमा जनवाद छैन, परम्परागत नेतृत्वशैली छ भनिन्छ नि ?

टिप्पणी व्यापक छ । पार्टीभित्रका मान्छेले पनि सार्वजनिक रूपमा बोल्दा के हुन्छ र ? बोल्न किन नपाइने ? भन्ने आम प्रश्न छ । तर हाम्रो पार्टी त्यो ठाउँसम्म पुगेको छैन ।

भविष्यमा छलफल गर्दै जाँदा ‘बोल्न चाहिं पाइने, तर निर्णय चाहिं अनिवार्य लागू गर्ने’ भन्ने ठाउँमा पुगिएछ भने अलग कुरा हो । अहिले संसारका कतिपय कम्युनिष्ट पार्टीमा त्यस्तो पनि छ । बोलेकै कारणले कारबाही हुँदैन, निर्णय उल्लङ्घन गरे भने कारबाही हुन्छ ।

भनेपछि पार्टीभित्र बोल्दै नबोल्ने र मनपरी बोल्ने समस्या भयो ?

यी दुई अतिवाद हो । मनमा लागेको छ, बोल्नै नसक्ने । यसले पार्टी बन्दैन । र अर्को अलिअलि मन लाग्यो भने पनि कमिटी बाहिर बोलिहाल्ने । यो अराजकता हो ।

समग्रमा संसारभरका कम्युनिष्टहरूभित्र जनवादको नाममा अराजक हुने र अनुशासनको नाममा निरंकुश बन्ने प्रवृत्ति देखिन्छ । यो दुवै प्रवृत्तिले कम्युनिष्ट आन्दोलनमा क्षति भइरहेको छ । पार्टीभित्र निरंकुशता र स्वच्छेचारिता छ भने पनि त्यो कम्युनिष्ट पार्टीले समाजवाद ल्याउन सक्दैन । त्यो ढिलोचाँडो पतन हुन्छ ।

पार्टीभित्र जनवादको नाममा, लोकतन्त्रको नाममा अराजकता छ भने पनि त्यो पार्टी समाप्त हुन्छ । त्यसले समाजलाई ठीकसँगले नेतृत्व गर्न सक्दैन । समाजवादमा पुग्न सक्दैन । यी दुवै कुरासँग जोगिएर पार्टीलाई अगाडि बढाउनुपर्छ । र; जनवाद र केन्द्रीयता दुवैलाई सन्तुलन मिलाएर जानुपर्छ ।

पार्टीभित्र पर्याप्त छलफल र बहसको वातावरण होस्, निर्भयताका साथ प्रश्न उठाउन सक्ने होस् र निर्णयलाई दृढताका साथ कार्यान्वयन गर्ने परिपाटी स्थापित गर्न सकियो भने अवश्य पनि पार्टी अगाडि जान्छ ।

थोरै फरक प्रसंगको कुरा गरौं, मिसन–०८४ भनिरहनुभएको छ । अहिलेकै शैलीले एमाले पहिलो शक्ति बन्छ ?

पार्टी खोलिसकेपछि जो–कोहीले बहुमत ल्याउँछु भनिहाल्छ । एकीकृत समाजवादी र राप्रपाले पनि भनिरहेकै छन् । त्यसैले बहुमत ल्याउँछु भन्ने अभिव्यक्ति अन्यथा होइन । अझ अहिले सरकारको नेतृत्व गरिरहेको शक्ति हो, एमाले ।

नेपालको राजनीतिमा बहुमत ल्याउन सक्ने व्यापक जनाधार भएको पार्टी हो, एमाले । तर अहिलेसम्म एमालेले एक्लै बहुमत ल्याउन सकेको छैन, यो पनि बुझ्नुपर्छ । २०४८ सालदेखि बहुमत ल्याउने भनेका छौं, तर सिंगल बहुमत आएकै छैन । त्यसैले २०८४ सालमा बहुमत ल्याउन धेरै कुरामा परिवर्तन जरूरी छ ।

विशेषगरी युवा पुस्ताको त एमालेमा आकर्षण देखिंदैन, पार्टी सञ्चालनको विषय विवादमा परिरहन्छ । सम्भव होला परिवर्तन ?

अनेक कुरा छ । हामीले श्रमजीवीहरूको पार्टी भनेका छौं । कतिको श्रमजीवीमा आधारित छौं ? श्रमजीवीबाट छुटेर मध्यम वर्गमा मात्र सीमित हुँदै गएका छौं कि ? मध्यम चाहिन्छ, तर सबै नेपालका पार्टी मध्यम वर्गमा छ । कांग्रेस धेरै मध्यम वर्गमा छ, एमाले र माओवादी त्यस्तै । त्यसो भएकाले मध्यम वर्ग सँगसँगै श्रमजीवी, किसान, मजदुर र गरीब वर्गमा कति गइरहेका छौं ? युवाको स्थिति के छ ?

अर्कातिर हामीले आफ्ना कमजोरीलाई कतिको आत्मसमीक्षा गर्छौं ? कति करेक्सन गर्दै गइरहेका हुन्छौं ? काम गर्दै करेक्सन गर्दै जानुपर्छ ।

घर दैनिक सफा गरिन्छ नि कुचो लगाएर, पार्टी पनि त्यस्तै हो । यति ठूलो पार्टी, जिम्मेवारी छ । सरकारको नेतृत्व गर्नुपर्नेछ, देश चलाउनुपर्नेछ । लाखौं पार्टी सदस्य छन्, तिनलाई चलाउनुपर्नेछ । त्यस्तो क्रममा विभिन्न कमजोरीहरू हुनसक्छन् । ती कुराको आत्मसमीक्षा गर्नुपर्छ ।

यसरी समग्र रूपान्तरण गरेर जाँदा आगामी चुनावमा बहुमत सम्भव छ ।

 तस्वीर/भिडियो : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?