
१८ माघ, काठमाडौं । नेपालमा लेखासम्बन्धी पेसा तथा शिक्षाको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) २८औं वर्षमा प्रवेश गरेको छ ।
आइक्यानले आफ्नो वार्षिकोत्सवमा बिहीबार काठमाडौं र मुलुकभरि विविध कार्यक्रम आयोजना गरेको छ ।
आइक्यानको वार्षिकोत्सवमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्र सही दिशामा चलायमान गराउन र वित्तीय अनुशासन कायम गर्न चार्टर्ड एकाउन्टेन्टको भूमिका महत्त्वपूर्ण रहेको बताए ।
चार्टर्ड एकाउन्टेन्टको काँधमा वित्तीय लेखाजोखा मूल्यांकन गर्ने जिम्मेवारी रहेको भन्दै उनले त्यो ठिक भएको खण्डमा वित्तीय सुशासन आफैं सही ठाउँमा आउने बताए ।
उनले सार्वजनिक वित्त व्यवस्थापन सुधारमा महत्त्वपूर्ण भूमिका खेल्ने समेत सुझाव दिए ।
मुलुकको कर प्रणाली सुधार र राजस्व वृद्धिमा चार्टर्ड एकाउन्टेन्टको महत्त्वपूर्ण सहकार्यको अपेक्षा सरकारले गरेको उनले बताए ।
कर र राजस्व क्षेत्रमा आवश्यकता अनुसार काम हुन नसकेको भन्दै उनले कर प्रणालीमा धेरै सुधार चाहिएको बताए ।
व्यवसायीले कर छल्न नसक्ने प्रकारको कर प्रणाली स्थापित गरिनुपर्ने उनको भनाइ छ ।
‘कर सुधार र राजस्व वृद्धिका कुरा गरिरहे पनि पछिल्ला कतिपय तथ्यांकले यस्तो देखाएको छैन,’ अर्थमन्त्री पौडेलले भने, ‘कर प्रणालीमा सुधारको कुरा गर्छौं तर त्यसमा चाहे अनुसार सुधार गर्न सकिरहेका छैनौं । कुनै पनि व्यवसायीले कर छल्न नसक्ने र औचित्यमा आधारित कर प्रणाली स्थापित गर्ने सन्दर्भमा हामीले अझै धेरै काम गर्न बाँकी छ ।’
पूँजीबजार दिगो, भरपर्दो र विश्वसनीय तरिकाले अगाडि बढाउन र कुनै पनि प्रकारका चिटिङ प्रवेश हुन नदिन आइक्यानले आफ्नो ठाँउबाट भूमिका खेल्न सक्ने उनको अपेक्षा छ ।
सरकारले अर्थतन्त्र सामु आएका समस्या समाधान गर्न एकसाथ २९ कानुन संशोधन गर्न अध्यादेश ल्याएको बताए ।
उनले अर्थतन्त्रलाई चलायमान बनाउन, लगानी बढाउन, उत्पादन बढाउन, रोजगारी बढाउन र विदेशी लगानी आकर्षण गर्न सरकारले प्रयास गरिरहेको दाबी गरे ।
कार्यक्रममा महालेखा नियन्त्रक डा. गणेशप्रसाद पाण्डेले अर्थतन्त्र विकासमा वित्तीय प्रणाली सुधार आवश्यक हुने र यसमा चार्टर्ड एकाउन्टेन्टको भूमिका महत्त्वपूर्ण रहेको बताए ।
विश्वमै चार्टर्ड एकाउन्टेन्ट एक प्रतिष्ठित व्यवसाय भएको भन्दै उनले सरकारको प्रतिनिधि र कर अधिकृतका रूपमा रहेको उनको भनाइ छ ।
आइक्यान अध्यक्ष प्रविणकुमार झाले लेखा, लेखा परीक्षण तथा कर लगायत विषयमा चार्टर्ड एकाउन्टेन्टले गहन अध्ययन र सोही क्षेत्रमा तालिम तथा व्यावसायिक अनुभव प्राप्त गर्ने हुनाले चार्टर्ड एकाउन्टेन्टलाई विज्ञका रूपमा हेरिँदै आइएको बताए ।
चार्टर्ड एकाउन्टेन्टले सरकारका विभिन्न निकायको लेखा परीक्षण तथा परामर्श सम्बन्धी सेवा दिँदै आएको भन्दै विभिन्न अध्ययन तथा छानबिन सम्बन्धी सीमितमा रहेर समेत काम गरिरहेको उनले बताए ।
आइक्यान उपाध्यक्ष निलबहादुर सारु मगरले नेपालमा पनि ठुल्ठूला काम गर्ने फर्म सञ्चालनमा सरकारले सहजीकरण गरिदिनुपर्ने बताए ।
कार्यक्रममा संस्थाका अध्यक्ष सीए प्रवीणकुमार झाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन तथा २०८१/८२ देखि २०८५/८६ सम्मको पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक गरे ।
रणनीतिमा चार प्रमुख रणनीतिक नियत, २० रणनीतिक लक्ष्य र ८० कार्यनीति रहेको संस्थाले जनाएको छ ।
रणनीतिहरूमा लेखा व्यवसायको पहुँच र विश्वसनीयता विस्तार गर्ने, सदस्यहरूलाई अधिकतम सहभागिता र सरोकारवालासँग सहकार्य गर्ने, आर्थिक समृद्धिका लागि सरकारको साझेदारीका रूपमा विस्तार गर्ने र ग्लोबल स्ट्यान्डिङ अभिवृद्धि गर्ने तथा संस्थागत प्रभावकारिता र दिगो विकास छन् ।
आधा दिवसीय सम्मेलनमा दुई कार्यपत्र
संस्थाको २८औं वार्षिकोत्सवमा काठमाडौं र उपत्यका बाहिर विभिन्न गतिविधि आयोजना गरिएका थिए । बिहीबार नै संस्थाले आधा दिवसीय सम्मेलन समेत आयोजना गरेको छ ।
सम्मेलनमा दुई कार्यपत्र प्रस्तुत भए । संस्थाका निर्देशक सीए किरणकुमार खत्रीले प्रस्तुत गरेको पहिलो कार्यपत्रमाथि संस्थाका अध्यक्ष झा, नेपाल राष्ट्र बैंकका एएमएल/सीएफटी विशेषज्ञ डा. हरि नेपाल र फाइनान्सियल इन्टिलिजेन्स युनिट प्रमुख वासुदेव भट्टराई, सीए अमन उप्रेती र सम्पत्ति शुद्धीकरण निवारण अनुसन्धान विभागका महानिर्देशक सुमन दाहालले छलफल गरेका थिए । दोस्रो कार्यपत्र सीए शैलेन्द्र उप्रेतीले प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया 4