
काठमाडौं । यौन स्वास्थ्यको कथावस्तुमा बनेको फिल्म ‘दुखी आत्मा’ यतिबेला चर्चामा छ । टिजर र ट्रेलर रिलिज भएसँगै फिल्मले दर्शकीय ध्यान तानेको छ । पर्दामा यौन शिक्षाको विषयले स्थान नपाइरहेको र समाजमा यसबारे खुलेर कुरा नहुने प्रवृत्तिबीच निर्देशक दीपेन्द्र लामाले पहिलोपटक मूलधारको फिल्ममेकिङमा यो विषयको उठान गरेका छन् ।
‘भ्यालेन्टाइन्स डे’ सन्दर्भमा यो एडल्ट-ड्रामा २ फागुनदेखि देशब्यापी प्रदर्शन तयारीमा छ । यसबारे जानकारी दिन पत्रकार भेटघाटको कार्यक्रम आयोजना गरियो जहाँ, कलाकार दयाहाङ राई र आँचल शर्माले फिल्मसँग जोडिनुको कारणबारे कुरा गरे ।
भारतमा ४० वर्षअघि नै यस्ता खालका फिल्म बनेको बताउँदै दयाहाङले यौन स्वास्थ्यको विषयमा फिल्मले छलफल गर्नुपर्ने बताए । मानसिक स्वास्थ्यबारे नेपाली समाज बल्ल खुल्न थालेको बताउँदै उनले स्वास्थ्यबारेमा खुल्ने समय आएको टिप्पणी गरे ।
‘यौन त हाम्रो निजी कुरा हो । यो चीजलाई हामीले एकदम गोप्यरुपमा राख्छौं । तर, चासोको विषय चाहिँ हो । यो विषयमा आउने प्रतिक्रिया कस्तो हुन्छ भन्ने कुरा हामीले सोचिसकेको हो’ फिल्म गर्नुअघिको तयारीबारे उनले भने ।
फिल्ममा यौनका कुरा आउनु शिक्षाको पाटो रहेको उनले बताए । ‘यस विषयमा कुरा हुनुपर्छ । यो विषयमा छलफल र जानकारी हुुनुपर्छ’ भन्छन् । आउने प्रतिक्रियाले व्यक्तिगतरुपमा कठिन तुल्याउँछ भन्ने फिल्म गर्नुअघि नलागेको उनले बताए ।
‘तिमीले पनि यस्तो खेलेको है भनेर भन्छन् । कस्तो लाग्यो त खेल्दा ? खै कस्तो पनि भएन ? म झसङ्गै भएँ । यसरी पनि सोचिँदो रहेछ । कलाकारले यो चीज गर्नुहुन्छ, यो चीज गर्नुहुन्न भन्ने कुरा आफ्नो सोच हो’ उनले भने ।
आफ्ना अघिल्ला फिल्म हेर्न दर्शक सपरिवार हलमा पुग्ने गरेको बताउँदै दयाहाङले ‘दुखी आत्मा’ हेर्न भने छुट्टाछुट्टै जानुपर्ने बताए । ‘उहाँहरूको लागि निराशा होला । छुट्टाछुट्टै जानुपर्छ । त्यसो गर्दा सहज हुन्छ । किनभने हामी यौन स्वास्थ्यको बारेमा खुलेर कुरा गर्दैनौं । म पनि मेरो बारे भन्दिन । तर, यो विषयमा कुरा हुन जरुरी छ’ उनले भने ।
स्वस्थ र सुन्दर समाज हुन व्यक्ति र परिवार हरेक हिसाबमा स्वस्थ हुनुपर्ने उनको धारणा छ । ‘त्यसपछि यो फिल्म गर्छु भन्ने मलाई लाग्यो’ उनले भने ।
आँचलले स्क्रिप्ट सुन्ने वित्तिकै कस्तो प्रतिक्रिया आउला भन्ने लागेको बताइन् । ‘जब सब्जेक्टबारे बुझ्दै गएँ, मेरो लागि नयाँ हुन्छ भन्ने लागेर एसेप्ट ग¥या पनि हो’ प्रेसमिटमा एडल्ट फिल्मको चर्चाबारे उनले भनिन्, ‘१८ प्लस किन मात्र हो भने, हामीले ९, १० कक्षामा मात्र हामीले अरु पाठ पढ्छौं नि । किनभने, त्यतिबेला हामीलाई पढ्नुपर्ने आवश्यक हुन्छ । यसबारे, जानकारी पाउनुपर्ने आवश्यकता हुन्छ । ४ वर्षको फिमेल बच्चालाई महिनावारीको बारेमा बुझाएर कामै छैन ।’
‘जब टाइम आउँछ, हामी बुझाउँछौं नि त । यसकारण, यो सब्जेक्ट १८ भन्दा तल्लो उमेरकालाई आवश्यक छैन भनेर १८ प्लस भनिएको हो’ फिल्मलाई एडल्ट ड्रामा भनिएको बारे उनले भनिन् । उनले कथावस्तु सन्देशमूलक रहेको बताइन् ।
‘ट्याबु छ नि त, हामी यो बारेमा बोल्न खोज्दैनौं । हामीलाई अप्ठ्यारो लाग्छ, लाज हुन्छ भन्नेछ । प्राइभेट कुरा सार्वजनिक ठाउँमा त नभनौंला तर चिकित्सकसँग परामर्श गर्न सक्छौं नि । यस्तो खालको सब्जेक्टमा काम गर्दा मलाई खुसी नै लाग्या छ’ उनले भनिन् ।
फिल्ममा हिमाल कडरियाको लगानी छ । सुदिप ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा अनुपविक्रम शाही, वुद्धि तामाङ लगायतका कलाकारको अभिनय छ ।
प्रतिक्रिया 4