
२५ माघ, जनकपुरधाम । जनकपुरधाम–१४ पिडारीचोकमा बिनादर्ता सञ्चालित मुस्कान अस्पतालमा शल्यक्रिया गरिएको एक बिरामीको २० दिनसम्म पनि होस आएको छैन ।
पित्तथैलीको पत्थरीको शल्यक्रिया गर्दा सर्लाहीको हरिपुर्वा नगरपालिका ५ का अंगेश यादवकी २५ वर्षीया श्रीमती बबिता यादव गम्भीर अवस्थामा पुगेकी हुन् ।
बुबा ब्रह्मदेव यादवका अनुसार माघ ३ गते बबिताको मुस्कान अस्पतालमा डा. ज्ञानकुमार साह नेतृत्वको टोलीले शल्यक्रिया गरेको थियो । त्यसयता उनी होसमा नआएको बुबा ब्रह्मदेवको भनाइ छ ।
शल्यक्रिया पश्चात बबितालाई भेन्टिलेटरमा राखिएको थियो । कुनै सुधार नआएपछि सिटीस्क्यान गराउन अस्पतालले बाहिर पठाएको थियो । सिटीस्क्यान गराएर आइसकेपछि अस्पतालले उनलाई स्नायू सम्बन्धी समस्या रहेको भन्दै अन्तै उपचार गराउन भन्यो ।
त्यसपछि माघ ६ गते उनलाई जनकपुरको जानकी हेल्थकेयरमा लगेर भेन्टिलेटरमा राखियो । तर, त्यहाँ पनि अहिलेसम्म बबिताको होस आएको छैन ।
अहिले जानकी हेल्थकेयरका चिकित्सकले पनि बबितालाई अरु नै अस्पतालमा लैजान भनिरहेका छन् । तर आर्थिक समस्याले बाहिर लैजान परिवारका सदस्यहरुले सकेका छैनन् । ‘अस्पताल पक्षले बाहिर उपचारको लागि लग्न पटकपटक भन्दा पनि आर्थिक कारण देखाउँदै घरपरिवारले लग्न मानेका छैनन्,’ जानकी हेल्थकेयरका इञ्चार्ज हरिचन्द्र यादव भन्छन् ।
शल्यक्रियामा लापरबाही गरेको आरोप
बबिताका बुवा बह्मदेव शल्यक्रियाको क्रममा डाक्टरले लापरबाही गरेकाले छोरी गम्भीर अवस्थामा पुगेको दाबी गर्छन् । उनले अस्पताल र डाक्टरहरुविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषा, नेपाल मेडिकल काउन्सिल लगायतमा उजुरी दिएका छन् ।
‘अप्रेसनमै भएको चरम लापरवाहीले छोरीको होस आएको छैन,’ ब्रह्मदेव भन्छन्, ‘लापरवाही गर्ने डाक्टर र ललाइफकाइ अप्रेसन गर्न मुस्कान अस्पताल पठाउने सुशिलकुमार यादवलाई कारबाही हुनुपर्ने र छोरीको जीवनरक्षा गर्नुपर्ने मेरो माग छ ।’
ब्रह्मदेवका अनुसार छोरी बबितालाई पेट दुःख्ने गरेपछि सुरुमा जनकपुरको सूर्या अल्ट्रासाउन्डमा जँचाउन गएकी थिइन् । अल्ट्रासाउन्डमा काम गर्ने सुशीलकुमार यादवले पित्तथैलीमा पत्थरी देखिएकाले अप्रेसन गर्नुपर्ने भन्दै मुस्कान अस्पतालमा पठाएको ब्रह्मदेवको भनाइ छ ।
‘अस्पतालले आफूसँग सुविधा नभएको र आफूले उपचार गर्न नसक्ने बिरामीलाई सुरुमै भर्ना नलिनुपर्नेमा सोको विपरीत निजले लापरवाहीपूर्ण तवरबाट बिरामीको उपचार गरी बिरामीलाई असहज अवस्थामा पु¥याइदिएकोले अन्यायमा परी यो निवेदन पेश गर्न आएको छु’, उनले दिएको उजुरीको व्यहोरामा लेखिएको छ ।
डाक्टर भन्छन्– लापरबाही भएको छैन
शल्यक्रियामा संलग्न डा. ज्ञानकुमार साहले लापरबाही नगरेको र छारेरोगले च्यापेपछि बबिता जटिल अवस्थामा पुगेको दाबी गरेका छन् । ‘उपचारमा कुनै लापरबाही भएको छैन । अप्रेसनपछि बिरामी होसमा आउनु भएको थियो । तर छारेरोगले च्यापेपछि बेहोस् अवस्थामा पुग्नुभयो’, डा. साहले अनलाइनखबरसँग भने, ‘बिरामीलाई पहिलेदेखि छारे रोग छ भन्ने कुरा परिवारजनले लुकायो ।’
न्यूरो सम्बन्धी समस्या रहेकाले स्नायु सम्बन्धी उपचार हुने ठाउँमा लैजान सल्लाह दिएकोमा परिवारका सदस्यले सिटी स्क्यानका लागि लगेको र त्यतैबाट जानकी हेल्थकेयरमा भर्ना गरेको उनको दावी छ ।
यता बबिताका सुसुरा पर्ने वीरेन्द्र अधिकारी उपचारमा भएको लापरबाही ढाकछोप गर्न छारे रोग रहेको भनेर झुठो कुरा गरेको दाबी गरेका छन् ।
‘बिरामीलाई छारे रोग छैन । अपरेसनमा गरेको चरम लापरवाही ढाकछोप गर्न डाक्टर र अस्पतालले छारेरोग रहेको झुटो दाबी गरिरहेका छन् । बबिताको गाउँमै बिहे भएको छ । सबै कुरा बुझेर मात्र गाउँमा बिहे हुन्छ । यो घटनाको छानबिन होस् । सत्यतथ्य सबै बाहिर आउँछ’, उनले भने ।
अधिकारीले सुरुमै जानकी हेल्थकेयरले बाहिर लग्न सल्लाह दिए पनि भेन्टिलेटर सहितको गाडी र पैसा नहुँदा बाहिर लग्न नसकिएको बताए । बबिताका दुई र चार वर्षीय छोराहरु छन् ।
भेटिएन अस्पतालको दर्ता रेकर्ड
बबिताको शल्यक्रिया भएको मुस्कान अस्पताल एक महिना अघि सञ्चालनमा आएको थियो । अस्पतालको अवस्था बुझ्न बिहीबार दिउँसो २:५० बजे पुग्दा त्यहाँ एकजना पनि चिकित्सक थिएनन् ।
इमरजेन्सी कक्षमा तीनजना बिरामी र एकजना स्वास्थ्यकर्मी मात्र थिए । मो.अफराज सदाम नामका कर्मचारी काउन्टरमा थिए । उनले आफूलाई कुनै कुराको जानकारी नरहेको बताए ।
बोर्डमा रहेको नम्बरमा फोन गर्दा अस्पतालका सल्लाहकार बताउने कमल राइनले फोन उठाए । उनले २५ बेडको मुस्कान अस्पताल जनकपुरधाम उपमहानगरपालिकामा दर्ता भएको दावी गरे । तर उपहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विजय साहले यहाँ मुस्कान अस्पताल दर्ता नरहेको र दर्ता प्रक्रियामासमेत नआएको बताए ।
सैयद अलि सञ्चालक रहेको भनिएको यो अस्पताल मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा समेत दर्ता भएको रेकर्ड छैन ।
जनकपुरमा दर्ताविना हस्पिटल खोलेर मनपरी शुल्क असुल्ने र उपचारको नाममा बिरामीको ज्यानसँग खेलबाड गर्ने गरेको गुनासो सुनिन्छ तर नियामक निकाय मुकदर्शक बनेको आरोप लाग्ने गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले यो घटनालाई संवेदनशील रुपमा लिएको बताए । यस विषयमा दुईपक्षबीच दुईदिन छलफल समेत भएको तर निष्कर्ष ननिस्किएको उनले बताए ।
उनका अनुसार प्रहरीले बबिताको उपचारलाई पहिलो प्राथमिकता दिन र पछि बिरामीका आफन्तका माग, अस्पतालको वैधानिकता लगायतका विषयमा प्रवेश गर्न भनेको छ ।
प्रतिक्रिया 4