
१३ वैशाख, काठमाडौं । शनिबार साँझ पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई काठमाडौं जिल्ला प्रहरी परिसर, भद्रकाली राखिएको छ । कपनस्थित आफ्नै घरबाट पक्राउ परेकी सांसद राईलाई उपत्यका प्रहरी अनुसन्धान कार्यालयको टोलीले परिसरको जिम्मा लगाएको हो ।
परिसरका प्रवक्ता एवं एसपी अपील राज बोहराका अनुसार, राईलाई भोलि अदालत उपस्थित गराइनेछ ।
काठमाडौंको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपलचनको मुद्दामा उनलाई प्रहरीले चौतर्फी दबाबपछिमात्रै शनिबार साँझ पक्राउ गरेको थियो ।
उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको थियो ।
राई स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिमा रहेर सहसचिव पदमा कार्यरत थिइन् ।
स्वर्णलक्ष्मी सहकारीको २ अर्ब ६५ करोड रकम हिनामिनामा संलग्न रहेको आरोप लागेको छ । उनी आर्थिक वर्ष २०७३/०७४ र आर्थिक वर्ष २०७४/०७५ देखि २०७५/०७६ सम्म उक्त सहकारीको सञ्चालक समितिमा थिइन् ।
सहकारीको रकम हिनामिनाका सम्बन्धमा प्रहरीले विभिन्न व्यक्तिविरुद्ध गत पुसमै जिल्ला अदालतमा मुद्दा लगेको थियो । प्रहरीको थप अनुसन्धान पनि चलिरहेको छ ।
प्रतिक्रिया 4