+
+
Shares

हाँडीगाउँमा फल्चासहितको पुस्तकालय भवन शिलान्यास

भवनको सडकतर्फको भागमा फल्चा हुनेछ । भवनभित्र बहुउद्देश्यीय सभा कक्ष, पुस्तकालय कक्ष, कार्यालय कक्षसहितका सुविधा हुने छन् । भवन नेपाल मण्डलको परम्परागत शैलीमा निर्माण हुनेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १७ गते १२:४८

१७ वैशाख, काठमाडौं । हाँडीगाउँ (नरःदे) भीमसेनस्थानमा फल्चासहितको पुस्तकालय भवनको शिलान्यास गरिएको छ ।

काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोल र वडाध्यक्ष वीरेन्द्र प्रजापतिले संयुक्त रूपमा वैदिक विधिअनुसार शिलान्यास गरेका हुन् ।

शिलान्यासपछिको संक्षिप्त प्रतिक्रियामा उपप्रमुख डंगोलले सम्पदा मूल्य अन्य कुनै वस्तु वा सामग्रीसँग तुलना गर्न नसकिने बताइन् ।

मौलिक स्वरूपमा सम्पदा पुनरुत्थानमा महानगरले लगानी बढाएको उनको भनाइ छ ।

मूर्त, अमूर्त सम्पदासँगै अभिलेख सम्पदा संरक्षण र प्रवर्द्धनमा महानगरपालिकाले अविराम काम गरिरहेको उनको भनाइ छ ।

हाँडीगाउँलाई प्राचीन नरःदेको स्वरूपमा ल्याउने काम भइरहेका वडाध्यक्ष प्रजापतिले बताए । फल्चा निर्माण यसको एउटा उदाहरण भएको उनले बताए ।

भवनको सडकतर्फको भागमा फल्चा हुनेछ । भवनभित्र बहुउद्देश्यीय सभा कक्ष, पुस्तकालय कक्ष, कार्यालय कक्षसहितका सुविधा हुने छन् । भवन नेपाल मण्डलको परम्परागत शैलीमा निर्माण हुनेछ ।

भवन निर्माणको लागत करसहित २ करोड ८४ लाख ८० हजार रुपैयाँ रहेको छ । सार्वजनिक खरिद प्रक्रियाबाट १ करोड ७४ लाख ७९ हजार रुपैयाँमा निर्माण पक्षले कामको जिम्मा लिएको छ ।

२०८२ चैत मसान्तभित्र यसको निर्माण सम्पन्न गरिसक्नु पर्ने छ । यो स्थानमा २०१९ सालदेखि पुस्तकालय सञ्चालन रहेको हाँडीगाउँ सम्पदा समाजका अध्यक्ष गणेश श्रेष्ठले जानकारी दिए । यससँगैको फल्चा भने स्थानीय पैँता खलले प्रयोग गर्ने गरेको उनले जानकारी दिए ।

भवनका सामुन्ने भीमसेनको मन्दिर छ । यो स्थानलाई महाभारतकालमा भीमसेनले किचक राक्षसलाई वध गरेको स्थानका रूपमा लिइन्छ । वध गरिसकेको किचक उठेर फेरि जनतालाई दुःख देला कि भनेर भीमसेनले कुरेर बसेको स्थान हो । लोककथन अनुसार अन्य दिन भीमसेनले कुर्छन् । टुँडालदेवी जात्राको एक दिन देवीले कुर्छिन् । यसका लागि जात्राका दिन एक रात देवीको खट मन्दिर छेउको चौबाटोमा राख्ने गरिन्छ ।

यो स्थानमा किचकको प्रतीक स्वरूप ठूलो ढुंगा छ । सडक विस्तारका क्रममा ढुंगालाई यताउता सार्ने गरिने श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?