+
+
Shares

नीति तथा कार्यक्रमबारे लुम्बिनीका मुख्यमन्त्रीले गरे सत्तारुढ दलसँग छलफल

सत्ता साझेदार दलका नेताको सुझावलाई आधार मानेर नीति कार्यक्रम र बजेट बनाउने मुख्यमन्त्रीको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १७ गते १९:०१

१७ वैशाख, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका सम्बन्धमा सत्तारुढ दलहरूसँग छलफल गरेका छन्।

सरकारमा सहभागी राजनीतिक दलका प्रमुखहरूसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा आयोजना गरिएको छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम यथार्थ धरातलमा आधारित भएर तयार पार्ने दलका नेताहरूलाई जानकारी गराएका छन् ।

सरकारले घाटा बजेट पनि नबनाउने र प्रदेशको वास्तविक अवस्था अनुसार नीति तथा कार्यक्रम र बजेट ल्याउने उनले स्पष्ट पारेका छन् ।

सत्ता साझेदार दलका नेताको सुझावलाई आधार मानेर नीति कार्यक्रम र बजेट बनाउने मुख्यमन्त्रीको भनाइ छ ।

प्रदेशको आम्दानी अनुसार बजेटको आकार ३१ देखि ३२ अर्ब वरिपरि आउने उनले प्रष्ट पारे ।
सरकारले नीति तथा कार्यक्रमलाई आधार मानेर वार्षिक बजेट बनाउने भएकाले आगामी वर्षको बजेट नीति तथा कार्यक्रमभन्दा बाहिरको नहुने पनि उनले बताए ।

नेपाली कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले अनुसन्धानको आधारमा नीति तथा कार्यक्रम र बजेट बनाउन सुझाव दिए ।

`थोरै बजेटले धेरै काम हुनेगरी बजेट ल्याउन जरुरी छ । सम्पन्न हुने योजनाको सूची बनाएर बजेटको प्राथमिकतामा राख्नुपर्नेछ,´उनले भने ।

कांग्रेस लुम्बिनी प्रदेशका अध्यक्ष अमरसिंह पुनले प्रदेशप्रति आकर्षण बढाउनेगरी नीति तथा कार्यक्रम ल्याउन सुझाव दिए ।

प्रदेश सरकारले आफ्नो अधिकार प्राप्ति र कार्यान्वयनमा खुट्टा कमाउनु नहुने भन्दै संविधानले दिएका अधिकारहरू कार्यान्वयन गर्नेगरी नीति तथा कार्यक्रम र बजेट ल्याउन जोड दिए ।

`सुशासनलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाउन जरुरी छ,´ उनले भने ।

नेकपा एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेलले नीति तथा कार्यक्रमले आधारभूत क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

`जनतालाई तुलनात्मक रूपमा सन्तुष्टि हुनेगरी नीति तथा कार्यक्रम ल्याउन जरुरी छ । भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राख्नुस्´उनले भने ।

एमाले संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठ, प्रमुख सचेतक तुलसी चौधरी, एमाले लुम्बिनी प्रदेशका सचिव लक्ष्मण आचार्य लगायतले सहमति अनुकूल दृष्टिकोण उन्मुख बजेट ल्याउनुपर्ने, प्राप्त स्रोतलाई सही परिचालन गर्नेगरी नीति तथा कार्यक्रम बनाउन सुझाव दिए ।

बैठकमा मन्त्री तथा राजनीतिक संयन्त्रमा सहभागी दलका प्रतिनिधिहरू, प्रदेश योजना आयोगका पदाधिकारी तथा सचिवको सहभागिता थियो ।

बैठकबाट प्राप्त सुझावलाई आधार मानेर नीति तथा कार्यक्रम र बजेट निर्माणमा जोड दिइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?