
१८ वैशाख, चितवन । बीमा बापत पाउनुपर्ने भुक्तानी रकम नपाएको भन्दै चितवनको भरतपुर अस्पतालले आगामी जेठदेखि बीमामार्फत् दिइने सबै उपचार सेवा रोक्ने तयारी गरेको छ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले चालु आर्थिक वर्षको बीमामार्फत उपचार गरेबापत पाउनुपर्ने करोडौं रकम नपाए जेठदेखि बीमामार्फत दिइने सबै सेवा रोक्ने चेतावनी दिए ।
उनले दैनिक सयौं बिरामीले बीमा मार्फत उपचार सेवा लिएको रकमको शोधभर्ना पटक-पटक माग गरे पनि नपाएको गुनासो गरे ।
यो महिनाभित्र कम्तीमा पनि २५ करोड रकम शोधभर्ना बापत नआए बीमाका कार्यक्रम रोक्ने उनको चेतावनी छ ।
मेसु पौडेलका अनुसार स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्षमा एक रुपैयाँ पनि पैसा दिएको छैन । गत वर्षको बाँकी ३६ करोड रकम आए पनि चालु वर्षको रकम नआएको उनले बताए ।
‘कार्यक्रम चलाएर मात्रै भएन, पैसा पनि आउनुपर्यो, कर्मचारी र स्वास्थ्यकर्मीको तलब भत्ता दिनुपर्यो, औषधि खरिदको रकम दिनुपर्यो, रकम नदिए कसले दिन्छ सधैं औषधि ? यसै पनि सेवा प्रभावित हुने नै भयो’ मेसु डा. पौडेलले भने, ‘वैशाखमा रकम नआए जेठमा कडा निर्णय लिने छौं, यसको निर्क्यौल र समाधान छिटो हुनुपर्छ ।’
मेसु पौडेलले एमआरआईको मात्रै ४ करोड रकम लिनुपर्ने बाँकी रहेको बताए । उनले भरतपुर अस्पतालको शोधभर्ना बापतका दावी भुक्तानी माग गरिएको रकम झन्डै ६० करोड रुपैयाँ पुग्न लागेको बताए ।
बोर्डले शोधभर्ना रकम नदिएपछि अस्पतालले बीमामार्फत् गर्दै आएको विभिन्न २४ वटा प्रयोगशाला परीक्षण बन्द गरिसकेको छ । यी परीक्षणको रकम अहिले सर्वसाधारण नागरिकले आफैंले तिर्न थालेका छन् । अस्पतालले गएको २८ चैतमा सूचना प्रकाशन गरी भिटामिन डी, क्याल्सियम, फोलिक एसिड, भिटामिन बी१२ लगायतका परीक्षण स्वास्थ्य बीमामार्फत् गर्न नसकिने जनाएको थियो ।
अस्पतालले औषधि, रिएजेन्ट लगायत गरी करिब १४ करोड रूपैयाँ तिर्न बाँकी रहेको मेसु पौडेलले बताए । अस्पतालको केही आन्तरिक आम्दानीबाट जेनतेन अस्पताल चलाएको उनको दाबी छ ।
भरतपुर अस्पतालमा आउने बिरामीमध्ये ७० प्रतिशत बिरामी बीमामार्फत् उपचार गराउने बिरामी हुन् । अस्पतालले महिनामा ७ करोड बराबरको बीमा बापतको रकम शोधभर्ना माग्ने गरेको छ ।
स्वास्थ्य बीमा भएका बिरामीले सरकारी अस्पतालमा १० प्रतिशत उपचार खर्च तिर्नुपर्छ । बाँकी ९० प्रतिशत खर्च बीमा बोर्डले अस्पताललाई शोधभर्ना दिने गर्छ ।
प्रतिक्रिया 4