
काठमाडौं । टिभी रियालिटी शो ‘कमेडी च्याम्पियन’बाट उदाएका सुमन कोइराला र पवन भट्टराई यतिबेला धेरै रुचाइने कमेडियन हुन् । रोचक र समसामयिक पात्रमार्फत उनीहरूले हामीले बाँचिरहेको समय र समाजलाई व्यंग्य गर्दै आइरहेका छन् ।
प्रसारण भैरहेको टिभी शो ‘कमेडी नाइट् विथ च्याम्पियन्स’मा यी दुई कलाकारको दमदार प्रस्तुति देख्न सकिन्छ । ‘कमेडी च्याम्पियन’मा दले दाईको भूमिकाले चर्चित बनेका सुमन अहिले भने ‘शमशेरसिंह चौलागाईंं’को रोलमा छन् ।
पवन चाहिँ हरिवंश आचार्यको कालजयी पात्र हरिबहादुरको भूमिकामा । यी दुई कलाकारका यी पात्र अहिले टिभी दर्शकमाझ ‘टक अफ द टाउन’ बनेको देख्न सकिन्छ । यस सन्दर्भमा सुमन र पवनले अनलाइनखबरसँग गफगाफ गरे ।
सुमनले आफ्नो बहुचर्चित पात्र ‘दले दाई’बारे कुरा गरे । धेरैले उनलाई सुमनभन्दा दले दाई नामले चिन्छन् । नहोस् पनि किन, यो पात्रमार्फत उनले घरेलु कमेडीमा शक्तिशाली पात्रको स्थापना गरे । यतिबेला सुमनलाई दले दाईको ट्यागलाई मेट्नुछ र शमशेरसिंह पात्रलाई हिट गराउनुछ ।
‘दले दाइ मेरो प्रिय पात्र हो । त्यसले मलाई दर्शकमाझ चिनायो । तर कलाकारको नाताले फरक-फरक भूमिकामा काम गर्नुपर्छ । अहिले म ‘शमशेर सिंह चौलागाईं’मा छु, र यो पात्र दर्शकले अत्यन्तै मन पराइरहनुभएको छ। त्यसैले यसैलाई अझ विस्तार गर्न चाहन्छु’ उनले भने ।
सुमनले यतिबेला निर्वाह गरिरहेको ‘शमशेरसिंह चौलागाईं’को पात्रलाई मनोरञ्जन मात्र होइन, सन्देश प्रवाह गर्ने अवसरको रुपमा पनि लिएका छन् । पहिलेको समाजमा देखिने संरचनागत सोच, विभाजन र भाषिक व्यवहारको व्यंग्यात्मक प्रस्तुतिलाई यस भूमिकामार्फत व्यक्त गर्न खोजिएको हो ।
पवनले प्रस्तुत गरिरहेको हरिवंशको हरिबहादुर पात्रलाई अहिले निकै रुचाइएको छ । स्वयम हरिवंशले पनि आफूले निर्वाह गरेको यो पात्रलाई हेरेर मन पराइसकेका छन् । ‘म ‘हरिबहादुर’मा रमाइरहेको छु,’ उनले भने, ‘दर्शकको प्रतिक्रियाले झन हौसला मिलेको छ । अब यो पात्रलाई अझ मजबुत रूपमा अगाडि लैजाने योजना छ ।’
भिन्न पात्रमार्फत दर्शकलाई मनोरञ्जनसँगै सन्देश दिन खोजेको उनले बताए । कमेडीको नाममा प्रचलित रोस्ट कल्चरबाट अलग उनले दर्शकसँग गहिरो रूपमा जोडिने खालका प्रस्तुति दिन खोजेका छन् । यी दुई कलाकार अहिले ‘रोस्ट’भन्दा पनि ‘कन्टेन्ट’मा ध्यान दिइरहेका छन् । अहिलेका धेरै कमेडी कार्यक्रममा पाहुनालाई मजाक बनाउने चलन देखिन्छ । तर सुमन र पवनको भनाइमा उनीहरू यस्तो शैलीभन्दा बाहिर जान खोजिरहेका छन् ।
सुमन भन्छन्, कमेडीको नाममा केवल मजाक गर्नु उचित लाग्दैन । अहिले हामी कन्टेन्टमा ध्यान दिइरहेका छौं । हामीले गर्ने प्रस्तुति रमाइलो पनि हो, र सोच्न पनि लगाउने खालको होस् भन्ने चाहन्छौं ।’
पवन पनि त्यही कुरामा जोड दिन्छन् । भन्छन्, ‘कमेडीको अर्थ केवल हँसाउनु मात्र होइन । केही सन्देश दिन सक्नु पनि हो । अहिले हामीले प्रस्तुति बनाउँदा पात्रको पृष्ठभूमिबाट लिएर बोल्ने शैलीसम्ममा ध्यान दिइरहेका छौं ।’
यी दुवैको भनाइमा अहिले कमेडी गर्न सजिलो छैन । अहिलेका दर्शक क्रिटिकल छन् । कमेडीलाई लिएर समाज प्रतिक्रियात्मक पनि बनेको देखिन्छ । त्यसैले उनीहरू प्रस्तुति तयार गर्नुअघि धेरै समय रिसर्च, अभ्यास र पात्रमा घुस्नमा खर्च गर्छन्
सुमन र पवनको भनाईमा, ‘कमेडी नाइट् विथ च्याम्पियन्स’मा अहिले यस्ता सामग्रीलाई प्राथमिकता दिइएको छ, जसले कमेडीलाई हाँसोको साधनमात्र नभई सामाजिक संवेग अभिव्यक्त गर्ने माध्यम पनि बनाउन सकोस् ।
कुराकानीको क्रममा, हाँसो भनेको मजाक मात्र होइन, यो एक कला हो जसले समाजको गहिरो यथार्थलाई पनि सजिलो ढंगले प्रस्तुत गर्न सक्छ भन्ने मत उनीहरूको छ । दर्शकसँग जोडिने, मनोरञ्जन दिनुका साथै सोच्न बाध्य पार्ने खालका विषयवस्तु समेट्नु अहिलेको कमेडीको मुख्य उद्देश्य रहेको उनीहरूको भनाइ छ ।
तस्वीरहरू : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4