+
+
Shares

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएको सेना नै असुरक्षित

५० वर्ष पुराना जीर्ण संरचना र न्यूनतम सुविधा अभावमा चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको सेनाले आफैं असुरक्षित महसुस गरिरहेको छ ।

सुवास पण्डित सुवास पण्डित
२०८२ वैशाख २३ गते १०:४८
५० वर्षअघि बनेको सुरक्षा पोष्टको भवन ।

२३ वैशाख, चितवन । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षा जिम्मेवारी सम्हालेको नयाँ गोरख गणमा सैनिक जवान चन्द्रकिशोर दासको गत चैत ३० गते आफैंले बोकेको राइफल अचानक पड्किएर गोली लाग्दा मृत्यु भयो । गणपति शिवराम बन्स्यातका अनुसार सेतीदेवी सामुदायिक वनबाट गस्ती गरेर फर्किएर हतियार थन्क्याउन लाग्दा झुक्किएर गोली लागेको हो ।

यो घटना हुनुमा सुरक्षा पोष्टको दयनीय अवस्था जिम्मेवार रहेको त्यहाँ कार्यरत सैनिक बताउँछन् । एक सैनिक अधिकृतले भने, ‘पोष्टको भौतिक संरचना ज्यादै कमजोर छ । हतियार राख्ने र मान्छे सुत्ने एकै ठाउँ छ । त्यो पनि निकै कठिन र साँघुरो छ । त्यसैले सैनिकहरू आनन्दसँग बस्न र सुत्नसमेत मिल्दैन ।’

पोष्ट मात्रै हैन, निकुञ्ज सुरक्षाका लागि साइकल गस्तीमा हिँड्ने सेनाको अवस्था पनि बिजोग छ । २०७४ र २०७६ सालमा किनिएका थोत्रा साइकल सकिनसकी ठेलेर गस्तीमा निस्कनुपर्ने बाध्यता सेनाका जवानहरुको छ ।

२०८२ वैशाख ८ गते यसरी नै गस्तीमा निस्किएका एक सैनिक साइकलको मुख्य डण्डी नै भाँचिएर लड्दा अनुहार र टाउकोमा गहिरो घाउ भएको थियो । उपचारका क्रममा २३ वटासम्म टाँका लगाउनुपरेको थियो । ‘हतियार बोक्ने की, साइकल बोक्ने की, पानीका भाँडाकुँडा बोक्ने कि, निकै सास्ती छ’ एक सैनिक अधिकारीले अनलाइनखबरसँग भने, ‘कम्तीमा पनि सुत्ने र हतियार राख्ने व्यवस्थित ठाउँ भएमा र गस्तीका लागि नयाँ साइकल उपलब्ध गराउन सकेमा यस्ता दुर्घटना हुने थिएनन् ।’

निकुञ्ज स्थापना भएको ५२ वर्ष र सुरक्षामा सेना खटिएको ५० वर्ष पुगिसक्दा पनि अधिकांश सुरक्षा पोष्टहरु जीर्ण छन् । स्रोत साधन पुराना छन् । गिद्देनी, ध्रुवघाट, बोटेसिमरा, बागवन, भुताहा, त्रिवेणी, सेतीदेवी, स्यालबास पोष्ट सबैभन्दा दयनीय हालतमा छन् । यी हरेक पोष्टमा बस्ने १०/११ जना सैनिकहरु राति राम्ररी निदाउनसमेत सक्दैनन् । कतिपय पोष्ट अनकन्टार ठाउँमा छन् । ती ठाउँमा न विद्युत पुगेको छ, न इन्टरनेट, न त शुद्ध पिउने पानीको सुविधा छ ।

निकुञ्जको सुरक्षाका लागि सेनाका ५२ वटा पोष्ट छन् । निकुञ्ज प्रशासनका मात्रै ८ वटा अलग्गै छन् । सेनाका ५२ मध्ये ३ वटा अस्थायी प्रकृतिका हुन् भने बाँकी ४९ वटा स्थायी पोष्ट छन् ।

माओवादी सशस्त्र द्वन्द्वकालमा ३७ वटा पोष्टलाई घटाएर ६ वटामा झारिएको थियो । पछि फेरि बढाएर ४९ बनाइएको हो । निकुञ्जमा १४ वटा मचान पक्की, २८ वटा मचान काठमा छन् । तीमध्ये ९ मचान जीर्ण अवस्थामा छन् ।

निकुञ्जको सुरक्षामा खटिएका झण्डै ८ सय सैनिकमध्ये अति संवेदनशील क्षेत्रहरु कुमारी मचान, कुसुमखोला र चिसापानीमा राखिएका एफओबी (फिल्ड अप्रेशन बेस) मा झण्डै २० जनाका दरले ६० जना सैनिक खटिन्छन् ।

चितवन राष्ट्रिय निकुञ्ज चितवन, पर्सा, मकवानपुर र नवलपुर गरी चार जिल्लामा फैलिएको छ । निकुञ्जको पूर्व–पश्चिम लम्बाइ ८५ किलोमिटर जति छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पनि सेनाले विशेष सावधानीसहितको सुरक्षा रणनीति अपनाएर निगरानी गर्छ । तर कमजोर भौतिक पूर्वाधार र न्यून सुविधाका कारण सेना आफैं असुरक्षित छ ।

५० वर्ष अगाडिकै अवस्थामा सुरक्षा पोष्ट

निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरख गणका गणपति शिवराम बस्न्यातका अनुसार बर्खाका बेलामा अधिकांश पोष्ट डुबानमा पर्छन् । ‘पोष्टमा ५/६ फिटसम्म डुबान हुन्छ, हतियार कहाँ राख्ने ? पकाएर कसरी खाने ? सुत्ने कसरी ? बाँच्ने कसरी ?’ गणपति बस्न्यातले भने, ‘हामीले न्यूनतम मानवीयता पनि ख्याल गर्न सकेनौं जस्तो लाग्छ । १० जना सुत्न मिल्ने १० वटा बेड पनि राख्न नसक्ने अवस्था पोष्टमा छ ।’

गत वर्षको वर्षामा भएको डुबान । फोटो सौजन्य : नेपाली सेना

निकुञ्जका २६ वटा पोष्टमा विद्युत सेवा छैन । २७ वटामा इन्टरनेट टिप्दैन । कतिपयमा फोन पनि लाग्दैन । दुई वटा पोष्टमा आर्सेनिकयुक्त पानी खानुपर्ने बाध्यता छ । सामान्य यातायातको पहुँच नभएका ६ वटा पोष्ट छन् । बर्खाको समयमा २७ वटा पोष्टसँग यातायात सम्पर्क नै टुट्छ ।

गणपति बस्न्यातका अनुसार ५० वर्ष अगाडि सुरक्षा पोष्टको जस्तो अवस्था थियो अहिले पनि त्यस्तै अवस्था छ ।

सेनाकै असुरक्षा, मनोबल खस्किने खतरा

यस्तो अवस्थामा निकुञ्ज सुरक्षार्थ खटिने सेनाको नै कसरी सुरक्षा गर्ने भन्ने चिन्ता हुने गरेको गणपति बस्न्यात बताउँछन् । तर पनि संवेदनशील निकुञ्जमा अति नै न्यून भौतिक पूर्वाधार र सुविधाका बीचमा सेनाले आफूलाई प्राप्त जिम्मेवारी पूरा गरिरहेको उनको भनाइ छ ।

निकुञ्जका कतिपय पोष्टहरूको अवस्था बस्नका लागि उचित नभएको बताउँदै उनले भने, ‘कतिपय पोष्टमा त बस्ने, सुत्ने, पकाएर खाने ठाउँ पनि छैन, हतियार राख्ने ठाउँ पनि छैन, हतियार र मानिस एकै ठाउँमा राख्नुपर्ने अवस्था छ, न्यूनतम् आधारभूत सुविधा भएको बनाउनुपर्छ भन्ने लाग्छ ।’

निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगानाले कतिपय सेनाका पोष्टहरुको दयनीय अवस्था देख्दा आफूलाई निकै नरमाइलो लाग्ने गरेको बताउँछन् । ‘पोष्टका १०/११ जना सैनिकले २४ सै घण्टा अनकन्टार डिउटी गर्नुपरेको देख्छु’ ढुंगानाले भने, ‘कतिपय ठाउँमा त खानेकुरा पनि पर्याप्त छ जस्तो लाग्दैन, केही सहयोग गरौं की भन्ने भावना आउँछ ।’

उनले भरखरै सेनामा भर्ति भएका युवाहरु विद्युत, इन्टरनेटसमेत नभएको अनकन्टार जंगलमा बस्दा उनीहरूको मनोदशा कस्तो हुन्छ भन्ने विषय पनि ख्याल गर्नुपर्ने बताए । बेलाबखतमा उनीहरुले भोगिरहेको पीडा समुदायमा आएर पोखिने गरेको अध्यक्ष ढुंगानाले बताए ।

बाँच्न चुनौती

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षा गस्तीमा खटिएको एक टोली

सेनाले निकुञ्जहरुको सुरक्षा गर्न थालेयता हालसम्म ११६ जना सैनिकहरुको ज्यान गएको छ । तीमध्ये ४४ जना (३७ प्रतिशत) सैनिकले चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका बेला ज्यान गुमाएका छन् । ४४ जना सैनिकमध्ये सबैभन्दा धेरै गैंडाको आक्रमणबाट मृत्यु भएको छ । हात्ती र बाघको आक्रमणबाट समेत सेनाको मृत्यु भएको छ ।

निकुञ्जको झाडीमा भिजिबिलिटी निकै कम हुँदा गस्तीमा खटिएका सैनिकहरु गैंडा, हात्ती र बाघको आक्रमणबाट मारिएका छन् । बर्खाको समयमा सर्पको डर पनि उत्तिकै हुने त्यहाँ कार्यरत सैनिकहरु बताउँछन् ।

राजश्व उठाए पनि प्रयोग गर्ने अधिकार छैन

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्तले सेनाले कठिन अवस्थामा निकै जोखिम मोलेर निकुञ्जको सुरक्षा गरिरहेको बताउँछन् । निकुञ्जले बर्सेनि करोडौं राजश्व उठाए पनि त्यसको प्रयोग गर्ने अधिकार नहुँदा चाहेर पनि सेनाका लागि केही गर्न नसक्ने अवस्था रहेको उनको धारणा छ ।

वन मन्त्रालय वा विभागको स्वीकृत कार्यक्रममा नै पोष्टहरुको स्तरोन्नतीको लागि बजेट विनियोजन भए सेनाका लागि सहज हुने धारणा डा.पन्तको छ । उनले विगतको भन्दा नयाँ–नयाँ चुनौतीहरु संरक्षणमा थपिदै गएको र बजेटको आकार घट्दै गएको गुनासो गरे ।

सेनाका प्रवक्ता भन्छन्– पूर्वाधार पक्की बनाउँछौं

नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसी

नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले चुनौती, जोखिम मोलेर कठिन अवस्थामा पनि सेनाले राज्यले लगाएको कार्य गरेको स्मरण गर्दै विस्तारै पूर्वाधारका कामहरु पनि हुँदै जाने बताए । उनले निकुञ्ज संरक्षण विभागको सहयोगमा निकुञ्जका पोष्टहरु पक्की बनाउँदै लैजाने बताए ।

निकुञ्जका बाघमारा, दिव्यपुरी, बादरझुला, लौगाई, दुधौरा पोष्ट र बाटुलीपोखरी पोष्टका संरचना भने पक्की बनिसकेका छन् ।

२०३० सालमा स्थापना भएको चितवन राष्ट्रिय निकुञ्जको सुरक्षा जिम्मा नेपाली सेनाले २०३२ सालमा पाएको थियो । २०३८ सालदेखि एउटा गण नै निकुञ्जको सुरक्षामा तैनाथ हुने गरेको छ । हालसम्म १८ गणले निकुञ्जको सुरक्षा सम्हालिसकेका छन् । हरेक गण ३ वर्षसम्म बसेर निकुञ्जको सुरक्षामा जुट्छन् ।

२०४१ कार्तिकमा पहिलोपटक चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि आएको नयाँ गोरख गणले दोस्रोपटक २०८१ वैशाख १० गतेदेखि सुरक्षाको कमाण्ड सम्हालेको छ । नयाँ गोरख गण आएपछि निकुञ्जमा गैँडा चोरी शिकारी शून्य बनाउने अभियानले निरन्तरता पाइरहेको छ । हरेक हप्ता शुक्रबारको दिन योजनाको कार्यान्वयन तथा अनुगमन, सुरक्षा रणनीतिको योजना निकुञ्ज प्रशासनसँग बसेर सेनाले बनाउने गरेको छ ।

सेनाले रियल टाइम पट्रोल, भेइकल ट्र्याकिङ्ग मोनिटरिङ्ग, सीसीटीभी, स्पाइ क्यामेरा, एसआरपी, एमआरपी/एलआरपी, लिंकअप पट्रोल, स्वीप, चेक पोइन्ट कोभर्ट जस्ता अभियान चलाउँदै आएको छ ।

दैनिक पैदल, साइकल वा मोटरसाइकलमा गरेर २१५ वटा गस्ती गरेर ५ सय किलोमिटरको यात्रा गर्ने तालिका बनाइएको छ । सेनाले गणका ६ वटा र गुल्मका २ वटा सवारी साधनले पनि गस्ती गर्ने गरेको छ । हात्तीमा दैनिक ३/४ पटक, डुंगामा हप्तामा २ पटक गस्ती गर्ने गरेको गणपति बस्न्यात बताउँछन् ।

हाल चितवन राष्ट्रिय निकुञ्जको सुरक्षा सम्हालिरहेको नयाँ गोरख गण

निकुञ्ज सुरक्षार्थ खटिएको सेनाले विपद् व्यवस्थापनमा समेत काम गर्दै आएको छ । गत वर्ष असारमा भरतपुर महानगरपालिका वडा नं. २९ सिमलतालबाट दुईवटा बस खस्दा नदीले बगाएका ६ वटा शव गोलाघाट, स्यालबास, सिसुवार र भुताहाबाट फेला पारेर बुझाएको गणपति बस्न्यातले जानकारी दिए ।

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?