
२२ वैशाख, चितवन । विश्वकै दुर्लभ मानिने एकसिङे गैँडा गणनाका लागि आगामी आर्थिक वर्षको बजेटमा डेढ करोड रुपैयाँ माग गरिएको छ । बजेट अभावमा २०८१ फागुन-चैत महिनाभित्र हुनुपर्ने गणना हुन सकेको थिएन ।
यसअघि २०७७ (सन् २०२१) साल चैत ९ गतेदेखि २७ गतेसम्म गैँडा गणना गरिएको थियो । चार/चार वर्षमा गैँडा गणना गर्ने भनिए पनि विभिन्न कारणले हरेक वर्ष पछाडि धकेलिँदै आएको छ ।
सन् २०१५ पछि सन् २०२१ मा गणना भएको थियो । २०८१ (सन् २०२५) भित्रै हुनुपर्नेमा गणना हुन नसकेर अब सन् २०२६ मा मात्रै गैँडा गणना हुने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले आगामी आर्थिक वर्षभित्र गैँडा गणना गर्नका लागि सरकारसँग डेढ करोड रकम माग गरिएको बताए ।
चालु आर्थिक वर्षको कार्यक्रमभित्र नराख्दा यस वर्ष गैँडा गणना हुन नसकेको विभागका महानिर्देशक डा. कँडेलले बताए । गैँडा गणनाका लागि विभिन्न दातृ निकायको समेत मुख ताक्ने गरिन्छ । सरकारले मागे जति बजेट नदिँदा दातृ निकायलाई जोड्नु परेको महानिर्देशक डा. कँडेलले बताए ।
आगामी आर्थिक वर्षको बजेटमा डेढ करोड माग गरे पनि सरकारले २५ प्रतिशत जति मात्रै रकम दिए अरु आर्थिक स्रोत जुटाएर गणनाको काम गर्ने तयारीमा विभाग छ ।
विभागका प्रवक्ता तथा उपमहानिर्देशक वेदकुमार ढकालले आगामी वर्षको फागुन-चैतमा गैँडा गणना गरिने बताए । गैँडाको सङ्ख्या, प्रजनन अवस्था, विचरण र आहाराको अवस्था थाहा पाउन गैँडा गणना गरिँदै आएको छ । गणनापछि यसको अवस्था हेरेर व्यवस्थापनको काम गरिनेछ ।
‘साउन, भदौ र असोज वर्षामास नै हुन्छ, चाडपर्व पनि सुरु हुन्छ, त्यसपछि मंसिर, पुस, माघ जाडो र कुहिरो लाग्ने भएकोले फागुनको अन्तिम वा चैतको पहिलो हप्ता मात्रै गणनाको काम थालिन्छ,’ विभागका प्रवक्ता ढकालले भने, ‘२०/२२ दिनमा गणना गरे सकिन्छ भन्ने योजना बन्छ ।’
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले गैँडा गणना संख्या मात्रै थाहा पाउनेभन्दा पनि गैँडाको संरक्षणका लागि योजना बनाउने, रणनीति बनाउने तथा गैँडाको उचित वासस्थानको व्यवस्थापन गर्नेसम्मका विषय जोडिएकोले यसलाई प्राथमिकतामा राखिनुपर्ने बताए । गैँडा विश्वकै दुर्लभ र नेपाललाई चिनाउने प्राणी भएकोले यसलाई पनि उच्च प्राथमिकतामा राख्नुपर्ने उनको धारणा छ ।
गैँडा गणना कार्यलाई वैज्ञानिक एवं व्यवस्थित बनाउन कुनै गैँडा नछुटुन् र नदोहोरिउन् भन्ने मान्यताका साथ विभिन्न ब्लक बनाएर प्राविधिकले एक–एक गरी गैँडा गणना गर्छन् । गैँडाको वासस्थान रहेको सबै स्थानमा ५० देखि एक सय मिटर दूरीमा जीपीएस, दूरबिनसहित प्राविधिकहिरू बसेर गैँडा स्वीप गर्दै गणना गरिने डा. पन्तले बताए । निकुञ्जलाई गणनाका लागि हात्ती, दूरबिन, क्यामेरालगायत प्रयोग गरिन्छ ।
गैँडा गणना गर्दा ५० वटा हात्तीसहित झण्डै २५० भन्दा बढी जनशक्ति आवश्यक पर्छ । गैँडा गणना गर्दा जोखिम पनि हुने भएकोले सुरक्षाको विषय पनि उठ्ने गर्छ ।
अघिल्लोपटक १९ वटा ब्लक बनाएर १८ दिन (चैत ९ गतेदेखि २७ गतेसम्म) गणना गरिएको थियो । गणनाका क्रममा एक जनाको ज्यानसमेत गएको थियो भने ८ जना घाइते भएका थिए ।
गैँडा गणनामा झण्डै डेढ करोड खर्च लाग्ने अनुमान गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले बताए । अघिल्लो पटकको गणनामा सरकारको १ करोड १० लाख र विभिन्न सहयोगी संस्थाले ३० लाख गरी १ करोड ४० लाख रकम खर्च भएको थियो ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले ‘लजिष्ट्रिक’ व्यवस्थापनमा बढी खर्च लाग्ने बताए । अघिल्लो वर्षको बजेट र कार्यक्रममा गैँडा गणना प्राथमिकतामा नपरे पनि यसलाई महत्व दिनुपर्ने डा. पन्तको भनाइ छ ।
गैँडा गणनाका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी), विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपाल र जेडएसएल नेपाल लगायतका संघ-संस्थाले सहयोग गर्दै आएका छन् ।
देशभर ७५२ गैँडा
सन् २०२१ मा गरिएको गणनामा देशभरका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमा ७५२ गैँडा रहेको तथ्यांक सार्वजनिक भएको थियो । सन् २०१५ मा रहेका ६४५ गैँडामा १०७ वटा बढेर ७५२ पुगेको भन्दै संरक्षणकर्मीहरूले खुसी पनि मनाए ।
सन् १९६० को दशकमा गैँडाको संख्या घटेर करिब एक सयको हाराहारीमा पुगेको थियो । नेपालमा सन् १९५० को दशकमा ८ सय वटा गैँडा थिए । यसपटक हुने गणनामा गैँडाको संख्या सन् १९५० को हाराहारीमा पुगेको हुनसक्ने विज्ञहरू बताउँछन् ।
सन् २०२१ को गैँडा गणनामा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४, बर्दिया राष्ट्रिय निकुञ्जमा २९ बाट बढेर ३८, शुक्लाफाँटमा ८ बाट बढेर १८ पुगेको थियो ।
चितवन राष्ट्रिय निकुञ्जमा रहेका ६९४ गैँडामध्ये गणना यताका आर्थिक वर्ष २०७७/०७८ मा ३३, आव २०७८/०७९ मा ३७, आव २०७९/०८० मा २२, आव २०८०/०८१ मा २१ र चालु आव २०८१/०८२ को वैशाखसम्म २३ वटा गैँडा विभिन्न कारणले मरेका छन् । समग्रमा पछिल्लो पाँच आर्थिक वर्षमा १३६ गैँडा मरेका छन् ।
सन् २०१५ मा पर्सा राष्ट्रिय निकुञ्जमा ३ वटा गैँडा रहेकोमा सन् २०२१ मा पनि ३ वटा मात्रै गैँडा भेटिएका थिए । सन् २०२१ को गणनामा छुट्टिएको भालेको संख्या १४६ र पोथीको संख्या १९८ रहेको थियो । लिङ्ग पहिचान नभएको संख्या ४०८ रहेको थियो । सो गणनामा वयश्क गैँडा ५२०, अर्धवयश्क ९६ र बच्चा १३६ रहेको पाइएको थियो ।
नेपालमा सन् १९५० मा ८००, सन् १९५५ मा ४००, सन् १९६० मा ३००, सन् १९६५ मा १००, सन् १९७० मा १०८, सन् १९७५ मा १४७, सन् १९८० मा ३१०, सन् १९८५ मा ३१०, सन् १९९० मा ३५८, सन् १९९५ मा ४६६, सन् २००० मा ६१२, सन् २००५ मा ४०९, सन् २०१० मा ४३५ र सन् २०१५ मा ६४५ र सन् २०२१ मा ७५२ गैँडा फेला परेका थिए ।
चितवन राष्ट्रिय निकुञ्जमा ८५० वटासम्म गैँडा अटाउन सक्छन् ।
बर्दिया राष्ट्रिय निकुञ्जमा १००, शुक्लाफाँटामा ५० र कोशीटप्पुमा ४० वटा गैँडा अटाउने विज्ञहरूले बताउँदै आएका छन् ।
प्रतिक्रिया 4