+
+
Shares

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा ‘बुटक्याम्प’ सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २३ गते ११:१७

२३ वैशाख, चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय, अनुसन्धान तथा प्रसार निर्देशनालय र विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा ‘बिजनेस इन्क्युबेसन बुटक्याम्प २०२५’ सुरु भएको छ । चार दिनसम्म चल्ने बुटक्याम्पको विश्वविद्यालय उपकुलपति प्रा.डा.शारदा थपलियाले शुभारम्भ गरिन् ।

बुटक्याम्पका लागि कुल ३९ टिमहरूले आवेदन दिएकोमा २० टिम छनोट छनिएका थिए । प्रत्येक टिममा ३ देखि ६ जना विद्यार्थीहरूका दरले ८४ जना विद्यार्थीहरू सहभागी छन् । तर, हरेक टिमबाट २ जना प्रतिनिधिहरुले प्रशिक्षण लिने र उनीहरुले सिकेको ज्ञानका आधारमा अरु विद्यार्थीहरुलाई पनि उद्यमशील बनाउन सहयोग पुग्ने अपेक्षा विश्वविद्यालयले गरेको अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक प्रा.डा.निराजन भट्टराईले जानकारी दिए ।

डा.भट्टराईका अनुसार बुटक्याम्पको उद्देश्य विद्यार्थीहरूमा उद्यमशील सोचको विकास गर्नुका साथै कृषि व्यवसायका अवसर तथा चुनौतीहरू बुझाउँदै व्यवहारिक योजना बनाउने क्षमताको विकास गरी भविष्यमा सफल उद्यमी बन्न दिशा देखाउने रहेको छ ।

विश्वविद्यालयका उपकुलपति प्रा. डा. शारदा थपलियाले विश्वविद्यालय स्थापना कालदेखि नै यस्ता सिर्जनात्मक कार्यक्रमहरु अगाडि बढाउने सोच राखिएको भए पनि अहिले आएर विस्तारै कार्यान्वयन हुँदै गएकोमा खुसी व्यक्त गरिन् ।

उनले बुटक्याम्पको महत्व, दीर्घकालीन सोच, आत्मनिर्भरता र युवा उद्यमशीलता विकासमा यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान दिने बताइन् ।

बुटक्याम्पमा विभिन्न क्षेत्रमा कार्यरत १६ जना विज्ञ प्रशिक्षकहरूको प्रशिक्षण दिने छ । विभिन्न क्षेत्रमा स्थापित उद्यमी, बैंकका प्रतिनिधि, कर अधिकृत, विश्वविद्यालयका प्राध्यापक, खाद्य प्रविधिका विशेषज्ञ, उद्योगी व्यवसायी, चार्टर्ड एकाउनटेन्ट, कर प्रणाली विशेषज्ञ तथा यूवा उद्यमी जस्ता अनुभवी व्यक्तिहरूले उद्यमशील बन्न गर्नुपर्ने काम र सोचहरुको बारेमा जानकारी गराउनेछन् ।

व्यवसायिक सोच निर्माण र क्षेत्र, सम्भाव्यता अध्ययन, बजारीकरण रणनीति, कर तथा बैंक प्रक्रिया र योजना प्रस्तुतिका सीपहरू सहभागीहरुले सिक्ने छन् ।

अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक प्रा. डा. निराजन भट्टराईले सीमित स्रोतमा पनि विद्यार्थी केन्द्रित कार्यक्रमहरू आगामी दिनमा सञ्चालन गर्दै जाने बताउँदै यस्ता बुटक्याम्पले सिकाइका लागि मात्र नभई नेटवर्किङको लागि पनि अवसर प्रदान गर्ने धारणा राखे ।

विश्वविद्यालयबाट सर्टिफिकेट लिएर विदेश जाने वा जागिर खानेभन्दा पनि युवाहरु मिलेर उद्यमशीलताको विकास, उत्पादन र रोजगारी सिर्जना गर्न सकुन् भन्ने उद्देश्य राखिएको उनले बताए ।

कार्यक्रममा उपप्राध्यापक डा.उज्जल तिवारीले व्यावसायिक योजना निर्माण प्रक्रिया र चरणहरु तथा सोको विशिष्ट ढाँचा, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनका मूल्य श्रृंखला विशेषज्ञ किरण मैनालीले प्रशिक्षण दिएका थिए ।

नेपालमा कृषि उद्यमशीलता र बजारीकरणलाई बलियो बनाउन एग्रिस्टार्टअपहरूको भूमिका, चुनौती, अवसरहरू र युवा संलग्नता विषयमा उनीहरुले प्रशिक्षण दिएका हुन् ।

यस्तै,  डा.भानिश्वर पोखरेलले आफ्नै अगुवाइमा चितवनको माडीमा स्थापित १७ हेक्टर क्षेत्रफल र ५.५ करोड लगानीको आधुनिक फर्मबाट प्राप्त अनुभव सुनाउँदै उन्नत प्रविधिहरू (थोपा सिँचाइ, स्वचालित सिँचाइ), पशुपालन, बाली उत्पादन, अनुसन्धान (अजोला, बाली रोग नियन्त्रण)बारे जानकारी दिए ।

उनले आगामी दिनमा हाइड्रोपोनिक्स, भर्टिकल फार्मिंङ्ग र एआई प्रविधि लागू गर्ने योजना सुनाए ।

प्रा. डा. शिवचन्द्र ढकालले ‘स्टार्टअप व्यवसायको Swot विश्लेषण र सम्भाव्यता अध्ययन’ जस्ता विषयमा सहभागीहरुलाई प्रशिक्षण दिए ।

प्रशिक्षण सकिएपछि एक हप्ताभित्र सहभागीहरुले विस्तृत व्यावसायिक योजना बनाएर ल्याउनेछन् । त्यसलाई विज्ञहरुले मूल्याङ्कन गरी स्टार्ट अप बजेट उपलब्ध गराउने लक्ष्य विश्वविद्यालयको रहेको अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक प्रा.डा. भट्टराईले जानकारी दिए ।

त्यसका लागि विश्वविद्यालय अनुदान आयोगको सहयोगमा विश्वविद्यालयले करिब २ करोड बजेट विनियोजन गरेको डा. भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?