+
+
Shares

के पेट र दिमागको सम्बन्ध टुट्दा डिप्रेसन हुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २७ गते १६:२६

हाम्रो आन्द्रामा १० करोडभन्दा बढी स्नायु कोशिकाहरू हुन्छन्, जसले शरीरको ९५ प्रतिशत सेरोटोनिन उत्पादन गर्छ । सेरोटोनिन यस्तो रसायन हो जुन हाम्रो मुड र खुसीसँग सम्बन्धित हुन्छ ।

पछिल्ला अनुसन्धानहरूले देखाएका छन्, हाम्रो आन्द्रामा रहेका माइक्रोबायोटा अर्थात् खर्बौं ब्याक्टेरिया, भाइरस, ढुसी तथा अन्य सूक्ष्म जीवहरू हाम्रो शरीर र मस्तिष्कको स्वास्थ्यका लागि अत्यन्त महत्त्वपूर्ण हुन्छन् ।

यसबाट स्पष्ट हुन्छ कि हाम्रो आन्द्रा र मस्तिष्क एक–अर्कासँग जोडिएका छन् र एक–अर्कालाई प्रभाव पार्छन् ।

सायद तपाईंले कुनै महत्त्वपूर्ण भेटघाट अगाडि चिन्ता वा बान्ता हुने अनुभूति गर्नुभएको छ, वा कब्जियत हुँदा झर्को लाग्ने महसुस गर्नुभएको छ होला । यी सबै लक्षणहरू आन्द्रा र मस्तिष्कको सम्बन्धकै असर हुन् ।

तर प्रश्न यो उठ्छ कि आन्द्रा र मस्तिष्कको यो सम्बन्ध कसरी बन्ने गर्छ ? के यस सम्बन्धलाई अझ सुदृढ बनाएर हामी स्वस्थ र सुखी जीवन बाँच्न सक्छौं ?

के झर्कोफर्कोले तनाव बढाउँछ ?

पेट रोग विशेषज्ञ तथा बेलायतस्थित बाउल रिसर्चकी शोधकर्ता डा. सलिहा महमूद अहमदका अनुसार मस्तिष्क र आन्द्रा तीन तरिकाबाट एक–अर्कासँग जोडिएका हुन्छन् । पहिलो– भेगस नर्भ, जुन स्नायुतन्त्रको एक अत्यन्तै महत्त्वपूर्ण संरचना हो । यो स्नायुले मस्तिष्कलाई मुटु र आन्द्राजस्ता प्रमुख अंगहरूसँग सिधै जोड्दछ ।

दोस्रो– हर्मोनको माध्यमबाट मस्तिष्क र आन्द्राबीचको सम्बन्ध ।

र, तेस्रो– रोग प्रतिरोधी प्रणाली ।

डा. अहमद भन्छिन्, ‘धेरैजसो मानिसहरूलाई शरीरको प्रतिरक्षा प्रणाली कोशिका (इम्यून सेल्स) केवल रगत वा लिम्फ नोड्समा मात्र सक्रिय हुन्छ भन्ने लाग्नसक्छ । तर वास्तवमा यसको ठूलो हिस्सा आन्द्रामा सक्रिय हुन्छ । यसले मस्तिष्क र सम्पूर्ण शरीरलाई जोड्ने महत्त्वपूर्ण भूमिका खेल्दछ ।

अमेरिकास्थित मेयो क्लिनिकका पेट रोग विशेषज्ञ डा. पंकज जे. पसरिचाका अुनसार मस्तिष्क र आन्द्राबीच यस्तो सम्बन्ध हुनुको कारक तत्व चाहीँ मस्तिष्कलाई कार्य गर्न अत्यधिक ऊर्जा आवश्यक पर्नु हो ।

वास्तवमा आन्द्रा हाम्रो शरीरलाई ऊर्जा उपलब्ध गराउने ’पावरहाउस’ हो ।

उनी भन्छन्, ‘मस्तिष्क शरीरको कुल तौलको करिब दुई प्रतिशत मात्र हो, तर यसले शरीरको कुल ऊर्जाको २० प्रतिशत प्रयोग गर्छ ।’

मस्तिष्कले आन्द्रालाई असर गर्छ, तर आन्द्राले पनि मस्तिष्कलाई असर गर्छ ।

यसलाई तपाईं आफ्नो दैनिक जीवनका थुप्रै घटनाहरूबाट बुझ्न सक्नुहुन्छ । जब हामी कुनै खतरा महसुस गर्छौं वा अफिसमा कुनै महत्त्वपूर्ण मिटिङ जस्ता घटनाहरूमा सहभागी हुन्छौं, तब हाम्रो पहिलो शारीरिक प्रतिक्रिया आन्द्राबाट देखिन्छ । जस्तै वाकवाकी लाग्नु, पेट दुख्नु वा कहिलेकाहीं पातलो दिसा हुनु ।

जब हामी कसैलाई प्रेम गर्छौं, त्यतिबेला पनि ‘पेटमा काउकुती’ महसुस हुन्छ । यो भावनात्मक प्रतिक्रिया हो, जुन हामीले आफूले मन पराएको व्यक्तिको उपस्थितिमा अनुभव गर्छौं ।

त्यसैगरी, यदि तपाईंलाई कब्जियत भएको छ र दिसा गर्न सक्नु भएको छैन भने, त्यसले तपाईंमा झर्कालुपन र तनाव पैदा गर्न सक्छ ।

हाम्रो पेटभित्र हुन्छ एउटा पूरै संसार

हाम्रो आन्द्रामा १० खरबभन्दा बढी सुक्ष्मजिव कोशिका हुन्छन्, जसमा ब्याक्टेरिया, भाइरस, ढुसी, प्रोटोजोआ र अन्य सूक्ष्म जीवहरू समावेश छन् । यो संख्या मानव शरीरमा पाइने कूल कोशिकाहरुको संख्याभन्दा पनि बढी हुन्छ ।

गत दुई दशकमा हाम्रो पेटमा हुने यस्ता सुक्ष्म जीवले हाम्रो स्वास्थ्यमा पार्ने प्रभावका बारेको ज्ञानमा उल्लेखनीय रूपमा वृद्धि भएको छ ।

डा. अहमदका अनुसार वैज्ञानिकहरूले विकास गरेका नयाँ उपकरण र परीक्षणहरूले आन्द्रामा बसोबास गर्ने सूक्ष्म जीवहरूबारे बुझ्न धेरै सहयोग पुर्‍याएका छन् ।

सन् २०११ मा डा. पसरिचाले मुसामा गरेको एक अनुसन्धानले देखाएको थियो कि ग्यास्ट्रिक इरिटेशन (पेटको जलन) ले ‘दीर्घकालीन डिप्रेसन र चिन्ताजस्ता व्यवहारसम्बन्धी समस्याहरू’ उत्पन्न गराउन सक्छ ।

अन्य अनुसन्धानहरूले देखाएका छन् कि डिस्बायोसिस (अर्थात् आन्द्राको माइक्रोबायोटा असन्तुलन) ले मोटोपन, मुटु सम्बन्धी रोगहरू क्यान्सर समेतको जोखिम बढाउँछ ।

राम्रो माइक्रोबायोटाका लागि स्वस्थ आहार

हालै आन्द्रा–दिमागको सम्बन्ध र माइक्रोबायोटा सम्बन्धी भएका नयाँ अनुसन्धानहरूबाट एउटा प्रश्न उब्जिएको छ– के हाम्रो पेटमा बसोबास गर्ने सूक्ष्म जीवहरूको ‘पूर्ण सन्तुलन’ सम्भव छ ?
डा. अहमदका अनुसार, यसको उत्तर दिन सजिलो छैन । किनभने हरेक व्यक्तिको शरीरमा हुने ब्याक्टेरिया, भाइरस र अन्य सूक्ष्म जीवहरूको संरचना फरक–फरक हुन्छ ।

विज्ञहरूका अनुसार केही सामान्य उपायहरू छन् जो हाम्रो आन्द्राको स्वास्थ्यका लागि लाभदायक मानिन्छन् । यसका लागि सन्तुलित र विविध प्रकारको भोजन एउटा राम्रो सुरुआत हुन सक्छ ।

यसका लागि प्रोबायोटिक राम्रो विकल्प हो। प्रोबायोटिक भनेको त्यस्तो खाना हो जुन पाचन प्रणालीका लागि उपयोगी हुन्छ ।

प्रोबायोटिक खानेकुराको सबैभन्दा राम्रो उदाहरण हो– दही । साथै, फलफूल र तरकारी पनि राम्रो विकल्प हुन् ।

विज्ञका अनुसार भोजनमा विविधता अत्यन्तै आवश्यक छ । र, यसमा विशेष गरेर बोटबिरुवाबाट प्राप्त हुने खाद्य पदार्थहरू महत्त्वपूर्ण हुन्छन् ।

हरेक व्यक्तिले आफ्नो आहारमा फलफूल, तरकारी, अन्न र दालजस्ता कुराहरूको मात्रा हरेक दिन ध्यानपूर्वक मिलाउनुपर्छ ।

डा. अहमदका अनुसार जो मानिसहरू हप्तामा औसत ३० किसिमका बोटबिरुवामा आधारित खाद्य पदार्थ खान्छन्, उनीहरूको शरीरमा माइक्रोबायोम बढी स्वस्थ हुन्छ ।

के आहारमा परिवर्तनले भावना र मनोदशालाई असर पार्न सक्छ ? के यसले डिप्रेशनजस्ता समस्यामा सहयोग पुर्‍याउन सक्छ ?

यस विषयमा अक्सफोर्ड विश्वविद्यालयले एउटा अध्ययन गरेको थियो ।

विशेषज्ञहरूले डिप्रेशनबाट पीडित ७१ जना स्वयंसेवकहरूलाई दुई समूहमा बाँडे । पहिलो समूहलाई चार हप्तासम्म प्रोबायोटिक आहार दिइयो । दोस्रो समूहलाई प्लेसिबो (नक्कली औषधि) दिइयो ।

यो अध्ययन यस्तो प्रकारको थिया, जहाँ कसलाई के दिइएको हो भन्ने कुरा न त वैज्ञानिकलाई थाहा थियोे, न स्वयंसेवकलाई नै । यस अध्ययनमा मनोवृत्ति, चिन्ता, निद्रा र थुकमा पाइने कोर्टिसोल (तनावसँग सम्बन्धित हर्मोन) जस्ता चिजहरूको परीक्षण गरियो ।

यो अध्ययन पोर्चुगलको युनिभर्सिटी इन्स्टिच्युट अफ लिस्बनको स्कूल अफ सोशल साइन्सेसमा सहायक प्राध्यापक रिटा बायाओको नेतृत्वमा गरिएको थियो ।

उनका अनुसार डिप्रेशनबाट पीडित मानिसहरू सामान्यतः तटस्थ वा सकारात्मक संकेतको सट्टा नकारात्मक संकेत र अनुहारका भावहरूमा बढी ध्यान दिन्छन् ।

उनी भन्छिन्, ‘हामी बुझ्न चाहन्थ्यौं कि के प्रोबायोटिक सेवनले मस्तिष्कमा भावनात्मक सूचनाको प्रक्रियामा असर पार्न सक्छ ? प्रोबायोटिक समूहमा हामीले देख्यौं कि अनुहारका भावहरू र अन्य संकेतहरूको पहिचान गर्ने क्रममा उनीहरूको नकारात्मक संकेततर्फको झुकाव कम थियो ।’

उनका अनुसार प्रोबायोटिक्सले डिप्रेशनसँग सम्बन्धित केही लक्षणहरू कम गर्न सक्ने सम्भावना देखिन्छ, तर यसमा अझ गहिरो अनुसन्धान आवश्यक छ । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?