+
+
Shares

भारत–पाकिस्तान संघर्षमा चीनको लडाकु विमान प्रयोग

भारत र पाकिस्तान बीचको लडाइँमा चीनमा निर्मित लडाकु विमानको सफल प्रयोग हुनुले चीनको सैन्य प्रविधिको प्रभावकारिता देखाएको विश्लेषण गर्न थालिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २८ गते ९:१९
पाकिस्तान डेको अवसरमा प्रदर्शन गरिएको J-10C विमान।

२८ वैशाख, काठमाडौं । भारत र पाकिस्तानबीचको पछिल्लो संघर्षमा चीनमा निर्मित लडाकु विमान पनि प्रयोग भएको पाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

पाकिस्तानले चीनबाट प्राप्त J–10C लडाकु विमान (फाइटर जेट)ले भारतसँगको लडाइँमा महत्वपूर्ण भूमिका खेलेको द टेलिग्राफले दाबी गरेको छ ।

पाकिस्तानी विदेशमन्त्री इशाक डारले पनि संसदमा यसबारे बोलेका थिए । उनले भनेका थिए, ‘हाम्रा J–10C लडाकु विमानहरूले तीनवटा भारतीय राफाल विमानहरू खसालेका छन् ।’ उनले पाकिस्तानको सफलता देखेर छिमेकी चीन खुसी भएको अभिव्यक्तिसमेत दिएका थिए ।

भारतले राफाल लडाकु विमानहरु पाकिस्तानले खसालेको भन्ने दाबी पुष्टि गरेको छैन । यदि यो पुष्टि भएमा हालसम्मकै उन्नत प्रविधियुक्त भनिएको राफेल विमान युद्धमा खसालिएको पहिलो घटना हुनेछ ।

सीएनएनका अनुसार फ्रान्सका एक गुप्तचरले भने भारत–पाकिस्तान लडाइँमा कम्तिमा एउटा राफाल विमान नष्ट भएको बताएका छन् ।

यद्यपि चिनियाँ विदेश मन्त्रालयले वक्तव्य जारी गर्दै भारत–पाकिस्तानबीचको युद्धमा आफ्ना लडाकु विमान प्रयोग भए/नभएको थाहा नभएको जनाएको छ ।

एक अमेरिकी अधिकारीले भने रोयटर्सलाई बताए अनुसार उच्च आत्मविश्वासका साथ चीनमा निर्मित J-10C विमानले दुई भारतीय लडाकु विमानलाई आकासबाट आकासमै मिसाइलमार्फत् गोली हानेको बताएका छन् । यसबाट पनि राफाल लडाकु विमान पहिलोपटक क्षति भएको भन्ने दाबीसँग मेल खान्छ ।

चीनबाट पाकिस्तानले खरिद गरेको J-10C विमान ।

चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सका पूर्वसम्पादक हुई जिन्सिनले भारत पाकिस्तान बीचको अहिलेको लडाइँले रुस र फ्रान्सको स्तरलाई पनि पार गरिसकेको दाबी गरेका छन् ।

यद्यपि रक्षा विश्लेषकहरुले भने फ्रान्समा निर्मित राफाल लडाकु विमानलाई चीनमा निर्मित विमानले खसालेको भनेर निष्कर्ष निकाल्नुअघि सावधान हुनुपर्ने बताएका छन् । यसमा पाइलटको त्रुटिको पनि कारण हुनसक्ने भन्दै त्यसलाई नहेरी निष्कर्ष निकाल्न हतार गर्न नहुने उनीहरुको भनाइ छ ।

तर युद्धग्रस्त क्षेत्रमा खसेका र टेलिभिजन एवम् सामाजिक सन्जालमा साझा गरिएका लडाकु विमानका टुक्राहरु हेर्दा चीनमा निर्मित J-10C विमानले बोक्ने मिसाइल पीएल–१५ भएको पुष्टि हुन्छ ।

जे १० सी फाइटर जेटको विशेषता के हो ?

टेलिग्राफको समाचारमा लेखिए अनुसार राफाल लडाकु विमानहरूलाई खसाल्न पाकिस्तानले चीनबाट प्राप्त J-10C विमान प्रयोग गरेको थियो । समाचारमा लेखिए अनुसार चीनमा निर्मित J-10C विमानले PL-15 मिसाइल प्रयोग गरेर भारतीय विमानहरूलाई निशाना बनाएको थियो । PL-15 मिसाइलले १४५ किलोमिटरको दूरीमा लक्ष्य भेदी गर्न सक्ने बताइन्छ ।

चीनमा निर्मित J-10C विमानमा प्रयोग हुने मिसाइल ।

J-10C विमान चेंग्दू एयरोस्पेस कर्पोरेशनले विकास र निर्माण गरेको हो, जुन चीनको सरकारी रक्षा कम्पनी अन्तर्गत पर्छ ।

यो ४.५ जेनेरेसनको मल्टिरोल फाइटर जेट हो । यसमा शक्तिशाली राडार PL-15 जस्ता मिसाइल लोड हुन्छ । आकास र जमिन दुबैबाट आक्रमण गर्न सक्ने गरी यसको डिजाइन गरिएको छ ।

भारतले फ्रान्सको दासो एभियसन कम्पनीबाट राफाल लडाकु विमान ल्याउन सन् २०१६ मा सम्झौता गरेपछि त्यसको सामना गर्नका लागि पाकिस्तानले चीनबाट PL-15 मिसाइलयुक्त J-10C लडाकु विमान ल्याएको थियो ।

फ्रान्सको राफेल (Rafale) चीनको J-10C लडाकु विमानको तुलना

विशेषता राफेल (Rafale F3R) J-10C
निर्माता Dassault Aviation (फ्रान्स) Chengdu Aerospace Corp. (चीन)
प्रवेश वर्ष 2001 2018
पीढी 4.5th Generation 4.5th Generation
इञ्जिन 2×Snecma M88 (Twin-engine) 1×WS-10B or AL-31FN (Single-engine)
अधिकतम गति Mach 1.8+ (~2,222 km/h) Mach 2.0 (~2,470 km/h)
उड्ने दायरा ~3,700 km (with drop tanks) ~2,000 km (without refueling)
अधिकतम लोड 9.5 टन 6 टन
हतियार प्रणाली Meteor, SCALP, Hammer, MICA आदि PL-15, PL-10, unguided bombs आदि
BVR मिसाइल क्षमता Meteor (150+ km), MICA PL-15 (145–200 km)
राडार RBE2-AA AESA (Thales) KLJ-7A AESA
इलेक्ट्रोनिक वारफेयर प्रणाली SPECTRA Internal EW Suite (कम ज्ञात)
सम्भावित मूल्य प्रति विमान  लगभग USD $220 million ~USD $35–50 million
विमान संख्या भारतसँग 36 पाकिस्तानसँग 25+

पाकिस्तानले सन् २०२२ को मार्च ४ मा ६ वटा यी फाइटर जेट चीनबाट प्राप्त गरेको थियो । तिनलाई पाकिस्तान डे अर्थात् मार्च २३ को परेडमा प्रदर्शन गरिएको थियो । हाल यस्ता फाइटर जेट पाकिस्तानसँग २५ भन्दा बढी संख्यामा रहेको अनुमान छ ।

भारतसँग राफाल लडाकु विमान करिब ३६ वटा रहेको बताइन्छ । तिनलाई भारतले चीन र पाकिस्तानसँगको सीमा क्षेत्र नजिक तैनाथ गरेको छ । भारतले पाकिस्तानविरुद्धको लडाइँमा राफालसँगै इजरायलमा निर्मित हवाई प्रतिरक्षा प्रणाली पनि प्रयोग गरेको थियो ।

राफेल विमान ।

राफाल प्राविधिक रूपमा उन्नत, धेरै महँगो र भरोसायोग्य मानिन्छ । J-10C भने सस्तो, संख्यामा बढी ल्याउन सकिने र लामो दूरी मिसाइल पीएल–१५ का कारण खतरनाक मानिन्छ ।

भारत–पाकिस्तान लडाइँमा चिनियाँ सैन्य प्रविधिको परीक्षण

भारत र पाकिस्तान बीचको लडाइँमा चीनमा निर्मित लडाकु विमानको सफल प्रयोग हुनुले चीनको सैन्य प्रविधिको प्रभावकारिता देखाएको विश्लेषण गर्न थालिएको छ ।

साथै चीनको J-10C विमान र PL-15 मिसाइलको विश्वसनीयता पनि बढाएको छ । त्यसैले यो लडाकु विमान निर्माता चीनको चेंग्दु एयरक्राफ्ट कम्पनीको शेयर मूल्यमा २० प्रतिशत वृद्धि भएको छ ।

भारत-पाकिस्तानबीचको संघर्ष चीनको सैन्य प्रविधि परीक्षण गर्ने अवसर पनि बनेको छ । अर्कोतर्फ भारत र पाकिस्तानबीचको सैन्य प्रतिस्पर्धालाई नयाँ उचाइमा पुग्दा क्षेत्रीय सुरक्षा सन्तुलनमा प्रभाव पर्ने चिन्ता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?