
News Summary
Generated by OK AI. Editorially reviewed.- किराँत समुदायले वैशाख पूर्णिमाबाट आफ्नो मुख्य पर्व साकेला उभौली मनाउन थालेको छ, जसमा भूमि, पितृ र अन्नको पूजाआजा गरिन्छ।
- साकेला पर्वले प्राकृतिक विपत्तिबाट जोगिन र अन्नबालीको सुरक्षाका लागि कामना गर्दछ र यसलाई विभिन्न जिल्लामा धुमधामका साथ मनाइन्छ।
- नेपाल सरकारले यस पर्वको अवसरमा एक दिन सार्वजनिक बिदा दिएको छ, जसमा बुद्धजयन्ती पनि परेको छ।
२९ वैशाख, काठमाडौं । किराँत समुदायले वैशाख पूर्णिमादेखि आफ्नो महान् पर्व साकेला उभौली मनाउन सुरू गरेका छन् ।
‘अन्नबाली सप्रियोस, रोगव्याधि नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनाका साथ किराँत समुदायको साकेला उभौली पर्व सोमबारबाट मनाउन सुरु गरेका हुन् ।
भूमि, पितृ र अन्नको पूजाआजा गरी यो पर्व मनाउने गरिन्छ । यसै अवसरमा काठमाडौंमा रहेका किराँत समुदायले सोमबार ललितपुरको नखिपोटमा कार्यक्रमको आयोजना गरेका छन् । काठमाडौ उपत्यकामा बसोबास गर्ने किराँत समुदायले पर्वको अवसरमा साकेला नाचेर रमाइलो गरेका छन् ।
अन्नबाली लगाउने सिजन सुरु भएकाले त्यसलाई नष्ट नहोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गरी यो पर्व मनाउने गरिएको किराँत समुदायका अगुवाहरु बताउँछन् । प्रकृतिको पूजाआजा गरे बालीनाली सप्रने किराँत समुदायको धार्मिक विश्वास रहिआएको छ ।
साकेला थानमा पितृभूमिको पूजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला नाँच्न सुरु गरिन्छ । यो पर्व अन्नबाली छर्ने बेला अर्थात् वैशाख र अन्नबाली भित्र्याउने बेला मंसिर पूणिर्मामा दुई पटक दुई महिनासम्म मनाउने चलन छ ।
यसै अवसरका किराँत समुदायहरुले आपसमा सुख, शान्ति र समृद्धिको कामना सहितको शुभकामना आदानप्रदान पनि गर्ने गर्दछन् ।
नेपालमा राई, लिम्बु, याक्खा र सुनुवारहरु किराँत समुदायमा पर्दछन् । उनीहरुले आफ्नो इतिहासलाई जोगाइराख्न पनि यो पर्वलाई भव्य रुपमा मनाउने गरिएको बताएका छन् ।
साकेला उभौली चाड पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङलगायत किरात समुदायको बसोबास रहेको ठाउँ तथा जिल्लामा साकेला नाच नाच्दै धुमधामका साथ मनाउने गरिएको छ । साकेला उधौली तथा उभौली चाडलाई किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य चाडका रूपमा मान्ने गरेका छन् ।
किरात समुदायको साकेला उभौली चाडको अवसरमा नेपाल सरकारले एक दिन अर्थात् आज सार्वजनिक बिदा समेत दिएको छ । आज किरात समुदायको साकेला उभौली चाडसँगै बुद्धजयन्ती समेत परेकाले सरकारले सार्वजनिक बिदा दिएको हो ।
हेर्नुहोस् तस्वीरहरू :
प्रतिक्रिया 4