
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको संसदीय दलले खगराज भट्टलाई पुनः दलको नेता चयन गरेको छ।
- बैठकले उपनेता, प्रमुख सचेतक र सचेतकको सम्बन्धमा कुनै निर्णय गरेको छैन।
२ जेठ, धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताको जिम्मेवारी फेरि खगराज भट्टले पाएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका पदाधिकारीको उपस्थितिमा डडेल्धुरामा बसेको संसदीय दलको बैठकले दलको नेतामा भट्टलाई पुनर्वहाली गर्ने निर्णय गरेको हो ।
प्रदेश सभा सदस्य शिवसिंह ओलीले बैठकले सर्वसम्मत रूपले दल नेता परिवर्तन गरेको जानकारी दिए ।
१२ माघ २०८० मा उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बहुमत सांसदहरुको बैठकले भट्टलाई हटाउँदै दल नेतामा मानबहादुर धामीलाई चयन गरेको थियो । त्यसपछि माओवादी प्रदेश संसदीय दल विभाजित बनेको थियो ।
पार्टीका स्थायी कमिटी सदस्य समेत रहेका भट्टलाई दलको नेतामा निरन्तरता दिन पार्टी अध्यक्ष प्रचण्डले पटक–पटक लिखित र मौखिक निर्देशन दिदै आएका थिए तर प्रदेश संसदीय दलले अटेरी गर्दै आएको थियो ।
तर अध्यक्ष प्रचण्डले मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियान शुभारम्भ गर्न सुदूरपश्चिम आएका बेला आफ्नै उपस्थितिमा दलको बैठक राखेर भट्टलाई दलको नेतामा पुनर्वहाली गराएका हुन् ।
बैठकले दलको उपनेता, प्रमुख सचेतक र सचेतकका सम्बन्धमा भने कुनै निर्णय गरेको छैन ।
प्रतिक्रिया 4