+
+
Shares

विद्यार्थीले हरियो निहुरोमा देखेको सुनौलो सपना

शनिबारको दिन कतिपय नानी-बाबु घुमघाममा व्यस्त होलान् । तर छाब्दीका बालबालिकाका लागि बिदाको दिन पढाइ र घर खर्च जुटाउने अवसर हो ।

सविन लामिछाने सविन लामिछाने
२०८२ जेठ २३ गते १९:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दमौलीको छाब्दी मन्दिर परिसरमा बालबालिकाले निहुरो र तरकारी बेची आफ्नो पढाइ र घर खर्च जुटाइरहेका छन्।
  • सुनिता आलेले शनिबार ४० मुठा निहुरो बेचेर १६०० रुपैयाँ कमाइ गरेर कापी, किताब किन्ने बताइन्।
  • अभिभावकहरूले विद्यालयले शुल्क नलिइरहेको दाबी गरे पनि निःशुल्क सामग्रीको अभावले बालबालिका पढाइबाट वञ्चित भइरहेका छन्।

२३ जेठ, दमौली । बिहानको सुनौलो किरण छाब्दी मन्दिरको आँगनमा छिर्न नपाउँदै केही नानी-बाबुहरू बोरा ओछ्याएर बसिसकेका हुन्छन् । उनीहरूको सामु हरियो निहुरोको मुठा छन् । मन्दिरको सिंढी चढ्दै-ओर्लंदै गरेका भक्तजनलाई उनीहरू हात उचालेर भन्छन्, ‘दिदी, निहुरो लिनुहोस् न !’

शनिबारको दिन कतिपय नानी-बाबु घुमघाममा व्यस्त होलान् । तर छाब्दीका बालबालिकाका लागि बिदाको दिन पढाइ र घर खर्च जुटाउने अवसर हो ।

कसैले सानो प्लास्टिकको टोकरीमा निउरो सजाएका छन्, कसैले बोरामा केरा राखेका छन् । कोहीले आँप, च्याउ वा जङ्गली तरकारी ल्याएका छन्। बजार नपुगेका यी बालबालिकाले मन्दिरको आँगनलाई नै आफ्नो सानो व्यापार केन्द्र बनाएका छन् ।

१४ वर्षीया सनिता आलेले शनिबारको दिन मन्दिर परिसरमा बसेर ४० मुठा निउरो बेचिन् । प्रतिमुठा ४० रुपैयाँका दरले एक हजार ६०० रुपैयाँ कमाएकी उनले त्यो पैसाले कापी र कलम किनेर लैजाने बताइन् ।

दमौलीको बालमन्दिर माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत सनिता प्रत्येक साता शनिबार यही काम गर्छिन् । शुक्रबार साँझ घरछेउको जङ्गलमा गएर निउरो, साग र च्याउ बटुल्छिन् अनि शनिबार बिहान मन्दिर परिसरमा बसेर बेच्ने गर्छिन् ।

उनी भन्छिन्, ‘निउरो नपाइने सिजनमा अम्बा, साग, केरा लगायत तरकारी बेच्छु।’ उनी पढाइका लागि आवश्यक कापी, किताब, खाजा खर्च र कहिलेकाहीँ घरको लागि नुन, तेल, मसला पनि किनेर लैजान्छिन्।

‘घरमा अरुको धेरै कमाइ छैन । आफ्नो खर्च आफैं कमाउनुपर्छ, यत्ति दुःख नगरे त स्कुल जानै पाइँदैन,’ सनिताले भनिन् ।

कक्षा १० मा अध्ययनरत सनिता आले निउरो नपाइने सिजनमा अम्बा, साग, केरा लगायत तरकारी बेच्छिन् । उनी पढाइका लागि आवश्यक कापी, किताब, खाजा खर्च र कहिलेकाहीँ घरको लागि नुन, तेल, मसला पनि किनेर लैजान्छिन्।

१० वर्षीय बिप्सन आले छाब्दीमा रहेको मत्स्यकन्या आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययन गर्छन् । उनले पनि प्रत्येक शनिबार मन्दिरको गेटमा निउरो र केरा ल्याएर बेच्ने गरेका छन् । गएको शनिबार पनि उनने २० मुठा निउरो ल्याएर डेढ घन्टामै बेचे । अनि ५०० रुपैयाँ आम्दानी गरे ।

उनले बिप्सनले भने, ‘यो पैसा घर लगेर आमालाई दिन्छु । अनि आफूलाई चाहिने कापी पनि किन्छु ।

सनिताकी आमा सपना आलेले छोरीको कमाइले परिवारको जीविकोपार्जन र उनको पढाइका लागि केही सहज भएको बताइन् । सरकारले नि:शुल्क शिक्षा भने पनि विद्यालयले अनेक बहानामा पैसा लिने गरेको उनको गुनासो छ ।

‘सरकारले निःशुल्क पढाइ अभियान भनेर के गर्नु, स्कुलले के-के शुल्क भनेर पैसा लिइहाल्छ । निःशुल्क पढाउँछु भन्नेले कापी-कलम चाहिँ दिनुपर्दैन ? अनि पो सबै बच्चा स्कुल जान पाउँछन्,’ उनले भनिन् ।

पढाइखर्च जुटाउन नसक्दा यहाँका धेरै बालबालिका सानैमा विद्यालय छाडेर अन्य काम गर्ने गरेका छन् । मत्स्यकन्या आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरू मन्दिर परिसरमा आएर निउरो, च्याउ, केरा आँप लगायतका तरकारी बिक्री गर्न बाध्य छन् ।

मत्स्यकन्या आधारभूत विद्यालयमा अध्ययन गर्ने अधिकांश विद्यार्थीको आर्थिक अवस्था कमजोर भएकाले आफ्नै प्रयासमा पढाइ खर्च जुटाउने गरेको विद्यालयका सहायक प्रधानाध्यापक चुडामणि थापा बताउँछन् । धेरैजसो दलित र भुजेल समुदायका बालबालिकाका अभिभावक ज्यालादारीमा काम गर्न दमौली झर्ने उनले बताए ।

उक्त विद्यालयमा १२५ जना विद्यार्थी अध्ययनरत छन् । देशलाई नै पूर्ण साक्षर बनाउने दौडमा लागेको सरकारले भर्ना अभियान चलाइरहँदा कापी कलमको खर्च पनि निःशुल्क गरिदिनुपर्ने अभिभावकको माग छ ।

लेखक
सविन लामिछाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?