+
+
Shares

‘दुर्गा प्रसाईंले मिडिया हाउस जलाउनुपर्छ भन्दै पठाएको म्यासेज भेटियो’

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १ गते १२:५४

१ असार, काठमाडौं । गत १५ चैतमा तीनकुनेमा राजावादीहरुले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंले मिडिया हाउस सहित विभिन्न ठाउँमा आगो लगाउनुपर्छ भन्दै आफ्ना समर्थकलाई म्यासेज पठाएको पाइएको छ ।

तिनकुनेको हिंसात्मक घटना गराएको आरोपमा पक्राउ परेका व्यक्तिहरुबाट बरामद भएका मोबाइल जाँच गर्ने क्रममा प्रसाईंले ‘आगो लगाउनुपर्छ’ भन्दै म्यासेज पठाएको भेटिएको हो ।

मोबाइल जाँचका लागि ‘डिजिटल फरेन्सिक ल्याब (डीएफएल)’मा पठाइएको थियो । डीएफएल जाँचका क्रममा प्रसाईंले भिडलाई हिंसात्मक बनाउन उक्साउने गरी म्यासेज गरेको भेटिएको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए ।

‘… सरकारलाई अब आगो लगाउनुपर्छ । अब चाहिँ सबै जिल्लाहरुमा यस्तै गर्नुपर्छ । ठाउँ–ठाउँमा आगो लगाउने हो अब । …. मिडिया पनि जलाउनुपर्छ,’ प्रसाईंले पठाएको म्यासेजमा लेखिएको छ ।

चैत १५ मा तिनकुनेमा प्रहरीसँग झडप भएपछि राजावादीहरुले घर, पार्टी कार्यालय, सवारी साधन र जडिबुटीमा सन्चो औषधी उत्पादन हुने उद्योग लगायतमा आगजनी गरेका थिए । साथै कान्तिपुर र अन्नपूर्ण पोष्टका कार्यालयमा ढुंगा प्रहार भएको थियो ।

आगो लगाउने र मिडिया हाउस केन्द्रित आक्रमण गर्न आह्वान गर्दै म्यासेज पठाएको भेटिएपछि यसैलाई मुख्य प्रमाण मानेर अदालतले प्रसाईंलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको देखिन्छ ।

बिहीबार राति साढे १२ बजे काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले प्रसाईंसहित ७ जना प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो । त्यसपछि प्रसाईं अहिले डिल्लीबजार कारागार चलान भएका छन् ।

झापाको बिर्तामोड नगरपालिका–५ का ५४ वर्षीय विवादास्पद व्यक्ति प्रसाईं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको संयोजक हुन् । उनकै नेतृत्वमा यो महाअभियान काम गर्दै आएको छ ।

यो महाअभियानलाई प्रशासनले १५ चैतमा आन्दोलन गर्न तीनकुनेमा स्वीकृत दिएको थियो । राजसंस्था पुनर्स्थापनाका लागि भनिएको यो आन्दोलनका उनी जनकमान्डर तोकिएका थिए । उनै जनकमान्डर प्रसाईंबाट उच्छृखल अभिव्यक्ति आउने, भिडलाई उत्तेजित पार्ने, निषेधित क्षेत्र तोड्न लगाउने, आफैं सुरक्षाकर्मीलाई ज्यान मार्ने उद्देश्यले गाडीले पेल्ने प्रयास गरेको आरोप छ ।

यो घटनामा पत्रकार सुरेश रजकको समेत ज्यान गएको थियो । यसका कमान्डर समेत भएको र उनैलाई कार्यक्रम गर्न अनुमति दिएको भन्दै उनीविरुद्ध ५ कसुरमा मुद्दा दायर भएको थियो ।

जसमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधमा मुद्दा दर्ता भएको थियो । अन्य कसुरको हकमा आदेशमा कुनै कुरा उल्लेख भएको छैन । तर प्रसाईंले आपराधिक उपद्रवको कसुर होइनन् भनी विश्वास गर्ने ठाउँ नदेखिएको भन्दै अदालतले उनलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ ।

आन्दोलन हिंसात्मक बनेपछि फरार भएका प्रसाईं २९ चैतमा आसामबाट पक्राउ परेका थिए । यो घटनामा प्रसाईंसँगै ६१ जना प्रतिवादीलाई सरकारी वकिल कार्यालयले ११ जेठमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । जसमध्ये आपराधिक उपद्रवको कसुरमा मात्रै मुद्दा दायर भएका ११ जना यसअघि नै धरौटीमा रिहा भएका थिए । केही पक्राउ पर्न बाँकी छन् भने हाजिरी जमानीमा छुटेका समेत अदालत उपस्थित भएका थिएनन् ।

बिहीबार रातिसम्म जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा ३९ जना थिए । जसमध्ये प्रसाईंसँगै कुमार तामाङ, सरोज गौतम, गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल र केशव बस्नेत कारागार चलान भए । बाँकी ३२ जनालाई भने धरौटी माग भएकाले उनीहरू धरौटी बुझाएर रिहा भए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?