+
+
Shares

दीपेन्द्र अग्रवालको सेबोन ‘कनेक्सन’, बोर्ड सञ्चालक निल सारुको ब्रोकरमा कारोबार

पछिल्लो समय सेयर कारोबारी दीपेन्द्र अग्रवाल हातेमालो फाइनान्सियल सर्भिसेसका ठूला ग्राहक हुन् । हातेमालोमा धितोपत्र बोर्ड सञ्चालक निल सारु मगरको सेयर लगानी छ ।

भुवन पौडेल भुवन पौडेल
२०८२ असार १ गते २१:५५

१ असार, काठमाडौं । सेयर कारोबारी दीपेन्द्र अग्रवालले खुलेआम कानुन विपरीत गतिविधि गर्न नियामककै सहयोग रहेको पाइएको छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) सञ्चालक समिति सदस्यको संरक्षणमा अग्रवालले फर्जी, सर्कुलर, कर्नरिङ लगायत गैरकानुनी कारोबार गरेका पाइएको हो ।

बोर्डले अग्रवालबाट ठगिएका लगानीकर्ताको उजुरीका आधारमा केही महिनाअघि उनको कारोबारको अनुसन्धान गरेको थियो । उक्त अनुसन्धानमा अग्रवालले हातेमालो फाइनान्सियल सर्भिसेस मार्फत पनि कारोबार गर्ने गरेको पाइएको थियो ।

सोही क्रममा बोर्डले अग्रवाल मात्र नभई अन्य तीन ब्रोकर कम्पनीलाई पनि कारोबार गर्ने निष्कर्ष सहित प्रतिवेदन तयार गर्‍यो ।

तर, अध्ययन सम्पन्न भएको महिनौं हुँदा पनि धितोपत्र बोर्डले अग्रवाल तथा उनले कारोबार गर्ने धितोपत्र ब्रोकर कम्पनीलाई कारबाही गर्न सकेको छैन । पछिल्लो समय अग्रवाल हातेमालो फाइनान्सियल सर्भिसेसका ठूला ग्राहक हुन ।

हातेमालोमा धितोपत्र बोर्ड सञ्चालक निल बहादुर सारु मगरको सेयर लगानी छ । सारु नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) का उपाध्यक्ष हुन् । उनी आइक्यानको प्रतिनिधिका रूपमा बोर्ड सञ्चालक भएर गएका हुन् । त्यसले गर्दा पनि उक्त अनुसन्धान प्रतिवेदन कार्यान्वयन गर्ने प्रक्रिया रोकिएको स्पष्ट हुन्छ ।

कम्पनी रजिस्ट्रारको कार्यलयका अनुसार हातेमालोका बोर्ड सञ्चालक सारुको २ लाख ५० हजार कित्ता सेयर लगानी छ । सारु हातेमालोको दोस्रो ठूलो लगानीकर्ता हुन् । उनले आफ्नी श्रीमतीका नामबाट उक्त सेयर लगानी गरेको कम्पनी रजिस्ट्रारको कार्यलयको सेयर लागतमा देखिन्छ ।

दीपेन्द्रलाई कारबाही गर्दा आफ्नो कम्पनी पनि कारबाहीमा पर्ने भएपछि सारुले उक्त अध्ययन प्रतिवेदन कार्यान्वयन नगराउने पक्षमा रहेको धितोपत्र बोर्ड स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।

हातेमालोले अग्रवाललाई अग्रिम रकम नलिई कारोबार सीमा दिएको, ज्योति अग्रवालको कारोबार व्यवस्थापन प्रणाली दीपेन्द्र अग्रवाललाई सञ्चालन गर्न दिएको अनुसन्धान क्रममा भेटिएको छ ।

त्यसैगरी उक्त अध्ययन प्रतिवेदनले हातमालोलाइ सम्पत्ति शुद्धीकरणको कसुरमा १० लाख रुपैयाँ नगद जरिबाना गराएको छ । त्यसैगरी उक्त ब्रोकर कम्पनीलाई कारोबार सीमा विनियमावली अनुसार हदैसम्मको कारबाही गर्नुपर्ने औंल्याएको छ ।

बोर्डको अध्ययनले हातेमालोसँगै सिप्ला सेक्युरिटिजलाई २० लाख, श्रीकृष्ण सेक्युरिटिजलाई १० लाख जरिबाना गर्न सुझाएको छ ।

अग्रवालले सेयर खरिद गरेर एकीकृत गरिसकेपछि सामाजिक सञ्जाल मार्फत हल्ला फैलाउने, कारोबार समयमा लाइभ बसेर लगानीकर्तालाइ खरिद गर्न उक्साउने र मूल्य बढाएर आफूले बिक्री गर्ने गर्दै आएका छन ।

अग्रवालले सानो पूँजी भएका कम्पनीहरूको सेयरलाई कर्नरिङ गर्ने, म्याचिङ गर्न, सर्कुलर ट्रेडिङ गर्ने, विभिन्न व्यक्तिका टीएमएस आफैं चलाउने एकअर्काको खाताको कारोबार राफसाफ नेटिङ गरेर मिलाउने गरेको बोर्डको अध्ययनले नै औंल्याएको छ ।

सेयर कारोबारी अग्रवाललाई धितोपत्र बोर्ड सञ्चालक निल सारुको संरक्षण मिलेकाले पनि कारबाही नभएको ब्रोकरहरू बताउने गरेका छन् ।

‘बोर्डमा मान्छे छन् भन्दै बजारमा जे पनि गर्न त भएन नि !,’ एक ब्रोकरले भने, ‘ठूलो कारोबार गरिदिने ग्राहक पाएपछि बोर्ड सञ्चालकले आफ्नो कम्पनीको आम्दानी हेरेर पनि संरक्षण गरे होलान् ।’

अग्रवालले आफ्नोमात्र नभई अन्य धेरै व्यक्तिका नामबाट पनि कारोबार गर्ने भएकाले ब्रोकरलाई कमिसन आम्दानी पनि राम्रै हुने ती ब्रोकरको भनाइ छ । अग्रवालले ‘बोर्डमा आफ्नो मान्छे भएको’ भन्दै धितोपत्र ब्रोकरलाई नियमसंगत नभएका गतिविधि गर्न दबाब दिने गरेको ब्रोकर बताउँछन् ।

पछिल्लो समय उनले हातेमालो मार्फत कर्पाेरेट डेभलपमेन्ट बैंकको सेयर कर्नरिङ गर्दै आएका छन् । हाल उनले हातेमालो मार्फत उक्त बैकको ६ लाख कित्ता सेयर एक वर्षका लागि होल्ड गरेका छन् । उनले कर्पोरेट डेभलमेन्ट बैंकको सेयर मूल्य १० हजार पुर्‍याउन भन्दै समाजिक सञ्जालमा समेत प्रचार–प्रसार गर्दै आएका छन् ।

उनले सेयर मूल्य बढाउन र धेरै सेयर खरिद गरेर राख्न १५ व्यक्तिका नामबाट कारोबार गर्छन् । सेयर मूल्य बढाउन पर्दा तिनै खाताबीच कारोबार गराउँछन् । अग्रवालले आफ्नो नामका अतिरिक्त सविता अग्रवाल, ज्योति अग्रवाल, जयप्रकाश अग्रवाल, मिता मुरारका अग्रवाल, रेशु अग्रवाल, कुसुमदेवी अग्रवाल, नरेन्द्रकुमार अग्रवाल, आहान मुरारका अग्रवाल, रामसिंह साउद, मनकुमारी गुरुङ, वीरेन्द्रबाहदुर साउद र सीमाकुमारी अग्रवालका नामबाट सेयर कारोबार गर्छन् । साथै, एस मल्टिपर्पाेज कम्पनी र गोल्डम्यान इन्भेस्टमेन्टका नामबाट पनि सेयर कारोबार गर्छन् ।

बोर्डले प्रहरीको सहयोगमा अग्रवाल उपरको अनुसन्धान पूरा गरेर अन्तिम प्रतिवेदन पनि तयार गरिसकेको अवस्था छ । तर, फौजदारी अभियोग भएको कारबाही नेपाल प्रहरीबाट थप अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाइ मुद्दा चलाउनु पर्ने व्यवस्था धितोपत्र ऐनमा छ ।

बोर्डले प्रतिवेदन तयार गरे पनि उक्त प्रतिवेदन उपर थप कारबाहीका लागि प्रहरीकोमा पठाएको देखिँदैन । प्रहरी कार्यालयमा सम्पर्क गर्दा अग्रवालको विषयको फाइल धितोपत्र बोर्डबाट नआएको प्रहरी अधिकारीले जानकारी दिए ।

लेखक
भुवन पौडेल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत पौडेल बैंक, वित्तीय तथा नेपाल धितोपत्र बजारमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?