 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- हुम्लाको नाम्खा गाउँपालिका-६ तिलगाउँमा हिमताल फुटेर आएको बाढीले २४ जना विस्थापित भए।
- सर्केगाड गाउँपालिकामा राति आगलागी हुँदा ८ घर जलेर नष्ट भए।
- दुई महिनामा हुम्लामा दुई ठूलो विपत्ति भएको छ।
२ असार, हुम्ला । हुम्ला जिल्लामा दुई महिनामा दुई वटा ठूला विपदका घटना भएको छ । गत जेठ १ गते हिमतालबाट आएको बाढीले नाम्खा गाउँपालिका-६ लिमीको तिल गाउँ नै विस्थापित भएको थियो भने असार १ गते राति सर्केगाड गाउँपालिका-३ को उनापानीमा आगलागीले आधा दर्जन बढी घर सखाप पारेको छ ।
गत १ जेठ राति साढे १० बजे सुतिरहेका बेला आएको लेदोसहितको बाढीले २१ घरधुरीका २४ जना स्थानीय विस्थापित भएका थिए । ५ हजार ३९० मिटरको उचाइमा रहेको हिमताल भासिँदा तिलगाउँको खानेपानी मुहान, सिंचाइ कुलो, पाँचवटा काठेपुल, दुईवटा आधुनिक घट्ट र १५ किलोवाटको निर्माणाधीन लघु जलविद्युत आयोजना र ५० देखि ६० रोपनी जग्गा बाढीले बगाएको थियो ।
घटनापछि तिलगाउँबासी एक सातासम्म त्रिपालमुनि बस्न बाध्य भए । अहिले पनि त्यहाँका नागरिक अझै डरैडरमा छन् । क्षतविक्षत भएको तिलगाउँका स्थानीयलाई पशुवस्तु चरिचरण र तिल गुम्बा आउजाउ गर्न समस्या भएको तिल गाउँका कुन्चोक फुर्वु लामाले बताए।
यो घटना सेलाउन नपाउँदै हुम्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा ठूलो विपत्ति आइपरेको छ ।
१ असार राति सर्केगाड गाउँपालिका-३ को उनापानी गाउँमा आगलागी भएको छ। आगलागीबाट ८ वटा घर जलेर नष्ट भएका छन्।
राति ११ बजे आगलागी हुँदा विजन फडेरा, धनबहादुर रावत, जनक रावत, बिर्ख रावत, पाले फडेरा, लालकौरा फडेरा, दूधशिला फडेरा, बाटुल्ली फडेराको घर जलेर नष्ट भएको सर्केगाड गाउँपालिका-३ का धनबहादुर रावतले जानकारी दिए।

सर्केगाड प्रहरी चौकीका प्रहरी निरीक्षक सुविन शाहको नेतृत्वको टोली राति २ बजे घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताए।
आगलागीमा परी घरमा भएका अन्नपात, भाँडाकुँडा, लिउ फेरुवा, नागरिकता, घरको लालपुर्जा, अन्य कागजात सहित घरमा भएको नगद रुपैयाँ जलेर नष्ट भएको छ ।
सदरमुकाम सिमकोटबाट प्रमुख जिल्ला अधिकारी नारायण पाण्डयेको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर पोखरेल लगायतको टोली घटनास्थल उनापानी गएको छ । क्षति यकिन हुन नसकेको डीएसपी पोखरेलले जानकारी दिए ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4