+
+
Shares

सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाको ७३ प्रतिशत कर्जा सेवा क्षेत्रमा

नेपाल राष्ट्र बैंकका अनुसार सुदूरपश्चिमका वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जाको ७२.८४ प्रतिशत सेवा क्षेत्रमा लगानी भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ४ गते १८:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदूरपश्चिम प्रदेशका बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ७२.८४ प्रतिशत कर्जा सेवा क्षेत्रमा लगानी भएको छ।
  • अर्थतन्त्रको वृद्धिदर ४.६१ प्रतिशत र प्रदेशको ३.३२ प्रतिशत अनुमान गरिएको छ, कृषि र उद्योग क्षेत्रमा गिरावट देखिएको छ।
  • सिंचाइ, यातायात र विद्युत् पहुँचका परियोजनाहरूको प्रगति र विकास कार्यहरू जारी रहेका छन्।

४ असार, काठमाडौं । सुदूरपश्चिम प्रदेशका बैंक तथा वित्तीय संस्थाको अधिकांश कर्जा लगानी सेवा क्षेत्रमा देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार सुदूरपश्चिमका वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जाको ७२.८४ प्रतिशत सेवा क्षेत्रमा लगानी भएको हो ।

चालु आर्थिक वर्ष पुससम्म यस प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कुल कर्जाको १६.४८ प्रतिशत हिस्सा उद्योग क्षेत्रमा प्रवाहित भएको छ । औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जा २०८१ असार मसान्तको तुलनामा १.३२ प्रतिशतले घटेर २५ अर्ब २६ करोड ४५ लाख कायम भएको केन्द्रीय बैंकले जनाएको छ ।

त्यसैगरी सोही अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कुल कर्जाको १०.६८ प्रतिशत हिस्सा कृषि क्षेत्रमा छ । २०८०/८१ असार मसान्तको तुलनामा समीक्षा अवधिमा कुल कृषि कर्जा ०.९७ प्रतिशतले घटेको हो ।

राष्ट्रिय तथ्यांक कार्यालयले २०८१/८२ मा राष्ट्रिय अर्थतन्त्रको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा ४.६१ प्रतिशत र आधारभूत मूल्यमा ३.९९ प्रतिशत हुने प्रारम्भिक अनुमान गरेको छ । कार्यालयले चालु आव आधारभूत मूल्यमा प्राथमिक क्षेत्रको वृद्धिदर ३.२५ प्रतिशत, द्वितीय क्षेत्रको ४.६५ र तृतीय क्षेत्रको ४.२१ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।

चालु आव २०८१/८२ मा सुदूरपश्चिमको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा ३.३२ प्रतिशत र आधारभूत मूल्यमा २.७१ प्रतिशत रहने अनुमान छ भने आधारभूत मूल्यमा प्रदेशको प्राथमिक क्षेत्रको वृद्धिदर २.८ प्रतिशत, द्वितीय क्षेत्रको २ र तृतीय क्षेत्रको २.९ प्रतिशत रहने अनुमान कार्यालयले गरेको छ ।

चालु आव प्रमुख कृषि बालीले ढाकेको भूक्षेत्र २.८५ प्रतिशत घटेको छ । यस्ता बाली उत्पादन २.२६ प्रतिशत बढेको छ । उक्त अवधिमा प्रमुख खाद्य तथा अन्य बालीमध्ये सबैभन्दा बढी दलहन र धान उत्पादन क्रमश १७.०१ प्रतिशत र ५.०९ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी तरकारी उत्पादन ९.५७ प्रतिशतले वृद्धि भएको छ भने अन्य फलफूल उत्पादन २३.१६ प्रतिशत बढेको छ ।

पशुजन्य उत्पादन अन्तर्गत दूध १०.७३ प्रतिशत, मासु ६.३० र अन्डा ३.०६ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ । चालु आव सोही अवधिमा काठ, दाउरा र औषधिजन्य उत्पादन क्रमशः ११.५४ प्रतिशत, ३३.७५ प्रतिशत र १७.७७ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा अवधिमा सुदूरपश्चिममा कुल सिञ्चित क्षेत्रफल २.४९ प्रतिशतले वृद्धि भएको छ । चालु आव सोही अवधिमा प्रदेशका उद्योगको औसत क्षमता उपयोग ३५.७९ प्रतिशत छ । औद्योगिक उत्पादनमध्ये समीक्षा अवधिमा इँटा उत्पादन वृद्धि भएको छ भने अन्य वस्तु उत्पादन घटेको छ ।

उक्त अवधिमा पर्यटक स्तरीय १० नमुना होटलको तथ्यांक अनुसार पर्यटक आवागमनमा १८.५५ प्रतिशतले गिरावट आएको देखिन्छ । चालु आव ६ महिनामा घरजग्गा रजिस्ट्रेसन संख्या ५.३१ प्रतिशतले घटेको छ भने रजिस्ट्रेसन राजस्व २६.५७ प्रतिशत बढेको छ ।

यस प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन चालु आव पुस मसान्तसम्म २०८१ असार मसान्तको तुलनामा ३.१३ प्रतिशतले घटेको छ भने कर्जा प्रवाह ०.२७ प्रतिशतले बढेको छ । चालु आव सोही अवधिमा कुल ११ हजार ३ सय ९८ यातायात साधन दर्ता भएका छन् ।

नेपाल सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार २०८१ फागुनसम्म सुदूरपश्चिममा राष्ट्रिय औसतभन्दा न्यून ८६.६० प्रतिशत जनसंख्यामा मात्र विद्युत् पहुँच पुगेको छ । सोही अवधिसम्म कुल राष्ट्रिय विद्युत् उत्पादनमा यस प्रदेशको योगदान १ सय ६७ मेगावाट मात्र छ ।

त्यस्तै रानी जमरा कुलरिया सिँचाइ आयोजनाको भौतिक प्रगति ७६.१५ प्रतिशत र वित्तीय प्रगति ७४.४० प्रतिशत छ । महाकाली सिँचाइ आयोजनाको भौतिक प्रगति ३५ प्रतिशत र वित्तीय प्रगति पनि ३५ प्रतिशत छ । त्यसैगरी महाकाली पुल आयोजनाको भौतिक प्रगति ९५ प्रतिशत र वित्तीय प्रगति ९२.५ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?