
News Summary
Generated by OK AI. Editorially reviewed.- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका क्षेत्रमा असार १ र ३ गतेदेखि सडक अवरुद्ध छ।
- इलाका प्रहरीका अनुसार सडक भासिएको र ह्युमपाइप बगाएको कारण आवागमन प्रभावित भएको छ।
- चीनको भारी वर्षाको सम्भावनाका कारण स्थानीय बस्तीहरूमा सतर्कता अपनाउन भनिएको छ।
५ असार, सिन्धुपाल्चोक। सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका क्षेत्रमा अरनिको राजमार्ग अन्तर्गत तीन ठाउँमा सडक अवरुद्ध भएको छ ।
अरनिको राजमार्ग अन्तर्गत भोटेकाशी गाउँपालिका २ कोदारीमा गत असार १ गते देखि तथा भोटेकोशी गाउँपालिका–२ कोदारी कोप्लाङ र वडा नं ३ लार्चामा असार ३ गतेदेखि राजमार्ग अवरुद्ध छ।
अवरुद्ध सडक खुलाउने प्रयास भए पनि आजसम्म कुनै प्रगति हुन नसकेको रहेको इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगतबहादुर राईले जानकारी दिए । राईका अनुसार भोटेकाशी गाउँपालिका २ कोदारीमा र कोप्लाङमा सडक भासिएको छ भने लर्चामा ह्युमपाइप बगाएको छ।
कोप्लाङमा राजमार्गको ६०–७० फिट लम्बाइमा पर्ने क्षेत्रफल नै भासिएर भोटेकोशीमा पुगेको छ । लार्चामा खोलाको बहाव बढेकोले उक्त स्थानमा आवागमनमा समस्या रहेको छ ।
लार्चाको बन्दै गरेको बेलीब्रिज सञ्चालनमा ल्याउने तयारी भएको छ । त्यसको लागि पुलको केहि भागमा माटो भर्न बाँकी रहेकोले शुक्रवार सम्ममा माटो भरेर संचालनमा ल्याउने तयारी भएको छ । गत असोजमा परेको वर्षाले लार्चा पुल बगाएपछि अहिले २ महिनादेखि बेलीब्रिज निर्माण भइरहेको छ ।
सडक भाँसिदा तातोपानी नाका हुँदै सञ्चालन हुने कन्टेनर ढुवानी रोकिएको छ, जसका कारण भन्सार नाकातर्फको आवागमन पूर्णरुपमा ठप्प भएको छ ।
माथिबाट खसेको ढुंगाले तीन घरमा क्षति
मंगलबार राति परेको वर्षाका कारण भोटेकोसी गाउँपालिका–२ अन्तर्गत लिपिङ बजार क्षेत्रमा क्षति पुर्याएको छ । पहाडबाट खसेको ढुंगाले स्थानीय तीन घरमा क्षति पुर्याएको इलाका प्रहरी कोदारीले जनाएको छ ।
प्रहरीका अनुसार भोटेकोशी गाउँपालिका-२ लिपिङ बजार बस्ने पदम श्रेष्ठको चार वटा सटर भएको दुई तले पक्की घरमा क्षति पुर्याएको छ ।
यस्तै त्रिपुरासुन्दरी गाउँपालिका-३ बस्ने ३९ वर्षीय इन्द्रकुमार श्रेष्ठले भाडामा मोवाइल पसल चलाएको घरमा नौ लाख बराबरको क्षति पुर्याएको प्रहरीले जनाएको छ ।
यसैगरी फुलमाया तामाङको दुई तले पक्की घरको दुईवटा सटर मध्ये १ वटा सटर पूर्ण रुपमा क्षति पुगेको छ भने सुनिता श्रेष्ठको एक तले जस्ताबाट बनेको घर पूर्ण रुपमा क्षति भएको इलाका प्रहरी कार्यालय कोदारीले जनाएको छ ।
भोटेकोशी तटीय बस्तीमा सतर्कता
बुधबार छिमेकी चीनको स्वशासित तिब्बत क्षेत्रमा सात दिनसम्म भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानपछि चिनियाँ अधिकारीहरूले नेपाली पक्षलाई सतर्क रहन सन्देश पठाएका छन् ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाकाअनुसार जाङ्मु पोर्टस्थित अध्यागमन कार्यालयमार्फत नेपालतर्फका सुरक्षा निकायहरू सशस्त्र प्रहरी, अध्यागमन कार्यालय कोदारी र भोटेकोशी गाउँपालिकालाई मौखिक रूपमा सूचित गरिएको छ ।
न्यालम क्षेत्रमा वर्षा सुरु भइसकेको सूचना आएको र सिन्धुपाल्चोकका भोटेकोशीको लिपिङदेखि चौतारा साँगाचोकगढीको सिम्लेसम्मका बस्तीहरूलाई सूचित गरेको उनले बताए ।
त्यस्तै काभ्रे जिल्लाका सहयक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले पनि सूचना जारी गरी पाँचखाल नगरपालिका तथा भुम्लु, चौरी, तेमाल र रोशी गाउँपालिकाका तटीय क्षेत्रका बस्ती जोखिममा पर्न सक्ने भन्दै सतर्कता अपनाउन भनिएको छ ।
प्रतिक्रिया 4