+
+
Shares

निर्वाचन आयोगले भन्यो- मुकुल ढकाल अझै रास्वपा महामन्त्री

एक वर्षअघि रास्वपा केन्द्रीय समितिबाट निष्कासित महामन्त्री मुकुल ढकाल अझै पनि सोही पदमा रहेको निर्वाचन आयोगको पत्र सार्वजनिक भएसँगै उक्त दलभित्र नयाँ बहस सुरु हुने देखिन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ६ गते १७:४५

६ असार, काठमाडौं । निर्वाचन आयोगले आफ्नो हालसम्मको अभिलेखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री डा. मुकुल ढकाल नै रहेको भनी आफ्नो धारणा सार्वजनिक गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र सदस्यहरूको १५ महिनाअघि हेरफेर भएको र त्यसयता केही अद्यावधिक नभएको भनी आयोगले पत्राचार गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट कारबाहीमा परेका डा. मुकुल ढकालले गत बुधबार निर्वाचन आयोगमा अभिलेखको विवरण अद्यावधिक भए नभएकोवारे सूचना माग गरेर निवेदन लेखेका थिए । त्यसको जवाफमा आयोगले २० चैत, २०८० यता राष्ट्रिय स्वतन्त्र पार्टीको विवरण अद्यावधिक नभएको भनी जवाफ लेखेको हो ।

निवेदक दिएकै दिन निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखामा कार्यरत शाखा अधिकृत उशा गजमेरले ढकालको नाममा पत्र लेखेकी हुन् ।

२० चैत, २०८० मा निर्वाचन आयोगको बैठकले रास्वपाको विधानको दोस्रो संशोधन अभिलेखिकरण गरेको थियो । त्यसक्रममा केही पदहरू हेरफेर भएका थिए ।

त्यसअघि रास्वपामा सभापति रवि लामिछाने, उपसभापति डोल प्रसाद अर्याल र महामन्त्री तथा प्रवक्तामा डा. मुकुल ढकाल थिए । त्यतिबेला आयोगले अद्यावधिक गरेको विवरणमा स्वर्णिम वाग्ले दोस्रो उपसभापतिमा मनोनयन भएका थिए भने महामन्त्री ढकाल चौथो बरियतामा थिए ।

त्यहीदिन तीन सहमहामन्त्री, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष अनि तीन प्रवक्ताको जिम्मेवारी पनि थपिएको अभिलेखबाट देखिन्छ । ‘त्यसयता राष्ट्रिय स्वतन्त्र पार्टीका कुनैपनि विवरण अद्यावधिक भएको छैन,’ निर्वाचन आयोग सम्बद्ध स्रोतले भन्यो, ‘अहिले पनि पार्टीको महामन्त्रीमा डा. मुकुल ढकालको नाम छ, त्यही विवरण नै आधिकारिक हो ।’

निर्वाचन आयोगको यो पत्रले मुकुल ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीको मान्यता दिएको देखिन्छ । रास्वपाले उनलाई कारबाही गरी दलबाट निष्कासित गरेको भएपनि आयोगले भने कारबाही सहितको त्यो विवरण आफ्नो अभिलेखमा राखेको छैन । यतिसम्म कि, सांसद सुमना श्रेष्ठले सहमहामन्त्रीको जिम्मेवारी त्यागेको भएपनि त्यो विवरण समेत आयोगमा पुगेर अद्यावधिक हुन सकेको छैन ।

निर्वाचन आयोग उच्च स्रोतले आयोगमा सरसल्लाह भएरै पत्र जारी भएको पुष्टि गर्‍यो । ‘मुकुल ढकालले सूचना माग गर्नुभएको रहेछ, त्यसबमोजिम आयोगबाट सूचना प्रदान गरिएको हो,’ आयोग स्रोतले भन्यो, ‘पुरानै विवरण अनुसार पत्र पठाइएको हो । पत्राचारका क्रममा आयोगको कुनै नयाँ निर्णय छैन ।’

निर्वाचन आयोगले गत बुधबार मुकुल ढकाललाई उपलब्ध गराएको सूचनासहितको पत्र ।

निर्वाचन आयोगको पत्रबार उत्साहित भएका डा. मुकुल ढकालले शुक्रबार नै कार्यबाहक सभापति डोलप्रसाद अर्याल र उपसभापति डा. स्वर्णिम वाग्लेलाई सम्बोधन गरेर ‘छलफलका लागि समय पाउँ’ भनी पत्र लेखेका छन् ।

पत्रमा दुवै जनालाई ‘उपसभापति’ भनी सम्बोधन गर्दै उनले पार्टी सभापतिको परामर्शमा केन्द्रीय समितिको बैठक बोलाउने जिम्मेवारी आफूमा रहेको स्मरण गराएका छन् ।

पार्टी सभापति रवि लामिछाने थुनामा रहेको विषम परिस्थितिमा पार्टीको नेतृत्वको जिम्मेवारी लगायतका विषयमा छलफल गर्न भन्दै उनले उपसभापतिको हैसियतले बैठक बोलाउने समय तोक्न माग गरेको देखिन्छ । निवेदनमा उनले भनेका छन्, ‘पार्टीको उपसभापतिको हैसियतले तपाईंसँग परामर्श गरी केन्द्रिय समितिको बैठक बोलाउनुपर्ने भएको हुँदा समय माग गर्न यो निवेदन पेश गर्दछु ।’

गतवर्ष रास्वपा महामन्त्री मुकुल ढकालले देशव्यापी स्थगत भ्रमण गरी प्रतिवेदन पेश गरेपछि सभापति रवि लामिछाने लगायत संस्थापन पक्ष उनीसँग रुष्ट भएको थियो । पार्टी अनुशासन विपरीत काम गरेको आरोपमा रास्वपाले उनलाई कारबाही प्रक्रिया अघि बढायो ।

२५ असार, २०८१ मा केन्द्रिय समितिको बैठकले डा. ढकाललाई केन्द्रीय सदस्य, प्रवक्ता एवं महामन्त्रीको जिम्मेवारीबाट हटाउने निर्णय गरेको थियो । त्यही दिन पार्टीका पदाधिकारीहरूको हेरफेर समेत भएको थियो ।

रास्वपाले जिम्मेवारी हेरफेरको निर्णय निर्वाचन आयोगमा अद्यावधिक गराउने प्रयास समेत भएको थियो । तर प्रक्रिया नपुगेको भन्दै आयोगले विवरण फेरबदल गरेको थिएन । ढकालले ‘पार्टीको पदाधिकारी अद्यावधिक नभएको हुँदा हालसम्म म नै पार्टीको महामन्त्री तथा प्रवक्ता पदमा कार्यरत रहेको विषय निर्विवादित रुपमा पुष्टी भइरहेको’ भनी दावी गरेका हुन् ।

रास्वपाको संस्थापन पक्ष भने निर्वाचन आयोगको हालको विवरणलाई स्वीकार गर्न तयार छैन । कारवाहीको निर्णय गर्दा केही प्रक्रियागत त्रुटी देखिएको भन्दै उनीहरू त्यसलाई अद्यावधिक गरेर आयोगमा पेश गर्ने र त्यसपछि ढकालमाथिको कारबाहीको विवरण ‘स्वत: अपडेट हुने’ बताउँछन् ।

तेस्रो वार्षिकोत्सव मनाउने तयारीमा रहेको रास्वपालाई बहिर्गमित महामन्त्री ढकाललाई पदमा बहाल नै रहेको निर्वाचन आयोगको सूचनाले तरंगित बनाइदिएको छ । रास्वपाले आपसी परामर्शपछि आफ्नो विस्तृत धारणा दिने बताएको छ ।

रास्वपाका प्रवक्ता मनिष झा भन्छन्, ‘हामी आन्तरिक छलफलमै छौं, के रहेछ भनेर बुझेपछि मात्रै प्रतिक्रिया दिनु उचित होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?