+
+
Shares

आर्थिक कूटनीति प्रभावकारी बनाऔं : अध्यक्ष ढकाल

ढकालका अनुसार वाणिज्यदूत व्यापार, पर्यटन, लगानी र आर्थिक सहकार्यमा पहिले नै सक्रिय छन् र उनीहरूले सरकारको खर्चविना आफ्नै स्रोत, समय र सञ्जाल प्रयोग गरेर नेपाललाई विदेशमा प्रवद्र्धन गरिरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ८ गते १८:२१

८ असार, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक कूटनीति प्रभावकारी, समन्वयात्मक र रणनीतिक बनाउन सरकार र अनररी कन्सुलर कप्र्स नेपाल (एचसीसीएन) बीच बलियो सहकार्य आवश्यक रहेको बताएका छन् ।

परराष्ट्र मन्त्रालय अन्तर्गत आर्थिक कूटनीति विभाग र एचसीसीएनको संयुक्त आयोजनामा काठमाडौं चन्द्रागिरिमा भएको ‘नेपालको निर्यात व्यापार ः अवस्था, चुनौती र सम्भावना’ विषयक अन्तक्र्रियामा महासंघ अध्यक्ष ढकालले नेपालले आफ्नो आर्थिक कूटनीति बढाउँदै विकास र समृद्धिमा फड्को मार्न विश्वका महत्त्वपूर्ण ६६ देशका अवैतनिक वाणिज्यदूतहरूको उचित उपयोग गर्नुपर्ने बताए ।

ढकाल एचसीसीएनका डिन समेत हुन् । ‘सरकार र अनररी कन्सुलर कप्र्स नेपालबीच विश्वास र साझेदारीको सहकार्य आवश्यक छ । राज्यले अनररी कन्सुलर कप्र्सलाई अवैतनिक र औपचारिक दूतका रूपमा मात्र होइन, आर्थिक कूटनीतिज्ञका रूपमा व्यवहार र उपयोग गर्नुपर्छ,’ उनले भने ।

ढकालका अनुसार वाणिज्यदूत व्यापार, पर्यटन, लगानी र आर्थिक सहकार्यमा पहिले नै सक्रिय छन् र उनीहरूले सरकारको खर्चविना आफ्नै स्रोत, समय र सञ्जाल प्रयोग गरेर नेपाललाई विदेशमा प्रवद्र्धन गरिरहेका छन् । उनले वाणिज्यदूतहरूलाई नेपाल र विश्व अर्थतन्त्रबीचको पुलका रूपमा उपयोग गर्न सकिने उल्लेख गरे ।

भूकम्प, बाढी र अन्य संकटका बेला वाणिज्यदूतहरूले प्रतिनिधित्व गर्ने देशले नेपाललाई सहयोग उल्लेख गर्दै यसले वाणिज्यदूत मार्फत उनीहरूले प्रतिनिधित्व गर्ने देशहरूसँग भविष्यमा गरिने सहकार्य अझ मजबुत बनाउन सक्ने बताए ।

‘राज्यले अनररी कन्सुलर कप्र्सलाई अवैतनिक र औपचारिक दूतका रूपमा मात्र होइन, आर्थिक कूटनीतिज्ञका रूपमा व्यवहार र उपयोग गर्नुपर्छ।’

परराष्ट्र मन्त्रालयले हालै गठन गरेको आर्थिक कूटनीति विभागको स्वागत गर्दै ढकालले यसबाट सरकार, अनररी कन्सुलर कप्र्स नेपाल, निजी क्षेत्र र कूटनीतिक निकायबीच अझ राम्रो समन्वयमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

‘आर्थिक कूटनीति केवल व्यापारमा सीमित छैन । यो रोजगार, प्रविधि, ब्रान्डिङ, पर्यटन लगायत धेरै क्षेत्रसँग जोडिएको छ,’ उनले भने ।

निजी क्षेत्रले नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) को ८१ प्रतिशतभन्दा बढी योगदान गर्ने र ८६ प्रतिशतभन्दा बढी रोजगारी सिर्जना गर्ने तथ्य प्रस्तुत गर्दै ढकालले निजी क्षेत्रलाई आर्थिक सहयोग चाहिएको नभई सम्मान, पहिचान र निर्णय प्रक्रियामा स्थान चाहिएको स्पष्ट गरे ।

भारत, चीन र यूएई लगायत देशमा प्रधानमन्त्रीको भ्रमणका बेला आयोजना गरिएका व्यापार सम्मेलनले लगानी र आर्थिक सहकार्यमा नयाँ ढोका खोल्ने काम गरेको उल्लेख गर्दै अध्यक्ष ढकालले आर्थिक कूटनीति विभागसँगको सहकार्यले आगामी दिनमा अझ धेरै, व्यवस्थित र प्रभावकारी रूपमा यस किसिमका कार्यक्रम आयोजना गर्न सकिने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?