+
+
Shares

पेट्रोलियम ट्यांकर चालकहरूमा आँखाको समस्या, दुर्घटनाको जोखिम

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८२ असार ८ गते २०:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालका पेट्रोलियम पदार्थको ट्यांकर चालकहरू आँखासम्बन्धी समस्याबाट पीडित छन्, शिविरमा १८४ जनामा समस्या देखियो।
  • डाक्टरहरूले लामो समयसम्म धूलो, घाम र ग्यासको सम्पर्कले आँखामा समस्या बढ्ने बताए।
  • नेपाल आयल निगमले स्वास्थ्य शिविर आयोजना गर्ने योजना बनाएको छ र सुरक्षात्मक उपाय अपनाउन सुझाव दिएको छ।

८ असार, काठमाडौं । रातको अँध्यारोमा पेट्रोलियम ट्यांकरको स्टेयरिङ सम्हाल्दै ५३ वर्षीय जित नारायण यादवले ३० वर्ष बिताए । अमलेखगन्जदेखि थानकोटसम्मको लामो यात्रामा उनलाई आँखाको धमिलोपनले सधैं सताइरह्यो । रातमा ट्रक चलाउँदा गाडीको विपरीत दिशाबाट आउने अन्य गाडीको लाइटले झनै तनाव दिन्थ्यो ।

‘सहचालकको सहयोगले जसोतसो चलाउँथें,’ यादवले भने, ‘तर यो समस्यालाई बेवास्ता गरें ।’ नेपाल आयल निगमको थानकोट डिपोमा आयोजित आँखा शिविरमा जाँच गर्दा उनमा मोतियाबिन्दुको समस्या पत्ता लाग्यो ।

यादव एक्ला होइनन् । नेपालका सडकमा पेट्रोलियम पदार्थ बोकेका ट्यांकर चलाउने सयौं चालकहरू आँखासम्बन्धी समस्याबाट पीडित छन् । नेपाल आँखा अस्पताल र पेट्रोलियम ट्यांकर चालक संघको सहकार्यमा आज भएको आँखा शिविरमा यो तथ्य उजागर भएको छ । करिब ४०० चालक सहभागी भएको उक्त शिविरमा १८४ जनामा विभिन्न आँखा सम्बन्धी समस्या देखियो ।

चालकहरूको आँखामा बढ्दो जोखिम

२० वर्षदेखि ट्यांकर चलाउँदै आएका सानुमान श्रेष्ठलाई टाढा नदेख्ने समस्या छ । धेरै वर्षअघि चस्मा लगाए पनि नियमित जाँच नगर्दा उनको चस्माको पावर बढेको थियो । ‘जबरजस्ती ट्रक चलाउँथें’ उनले भने, ‘शिविरमा आँखा जाँचपछि मात्र चस्माको पावर बढेको थाहा भयो ।’

त्यस्तै, ५३ वर्षीय बालकृष्ण खड्कालाई पछिल्ला केही महिनादेखि आँखा सुख्खा हुने र नजिकको कुरा नदेख्ने समस्या थियो । उनले खासै त्यसलाई वास्ता गरेका थिएनन् । तर, आजको आँखा शिविरमा उनमा आँखा सुख्खापन र नजिकको दृष्टिदोष पत्ता लाग्यो ।

नेपाल आँखा अस्पतालका दृष्टिरोग विशेषज्ञ डा. अरुण ढुंगानाका अनुसार पेट्रोलियम ट्यांकर चालकहरूमा आँखा सुख्खापन, एलर्जी, दृष्टिदोष, मोतियाबिन्दु र आँखामा मासु पलाउने समस्या व्यापक छ । ‘पेट्रोलियम पदार्थको ग्यास भ्यापरले आँखामा जलन र सुख्खापन निम्त्याउँछ’ उनले भने, ‘धूलो, घाम, सूर्यको यूभी किरण, र रातको अत्यधिक लाइटले पनि यी समस्यालाई झनै बढाउँछ ।’

किन बढ्दैछ समस्या ?

पेट्रोलियम ट्यांकर चालकहरूको काम अत्यन्त जोखिमपूर्ण छ । उनीहरू लामो समयसम्म धूलो, घाम र पेट्रोलियम पदार्थको ग्यासको सम्पर्कमा रहन्छन् । रातमा गाडी चलाउँदा गाडीको लाइटको चमकले आँखामा तनाव सिर्जना गर्छ । ‘यो पेशामा नियमित आँखा जाँच र सुरक्षात्मक उपायको अभावले समस्या जटिल बन्दै गएको छ,’ डा. ढुंगाना भन्छन् ।

नेपाल पेट्रोलियम ट्यांकर चालक संघका केन्द्रीय अध्यक्ष इश्वर लामाले चालकहरूको स्वास्थ्यमा ध्यान नदिइएको गुनासो गरे । ‘३० वर्षसम्म ट्यांकर चलाउने चालकहरूको स्वास्थ्य र सुरक्षामा हामीले कम ध्यान दिएका छौं’ लामाले भने, ‘मोबाइलको अत्यधिक प्रयोग, रातको लाइट र पेट्रोलको भ्यापरले आँखालाई हानि पुर्‍याइरहेको छ ।’

लामाले नेपालमा सुरक्षा मापदण्ड कमजोर भएको र यसले चालकहरूमा आँखासहित अन्य स्वास्थ्य समस्या बढाएको बताए । ‘अनिद्रा, मधुमेह, उच्च रक्तचाप र आँखाको समस्याले चालकहरूको स्वास्थ्य बिग्रँदै छ । यसले दुर्घटनाको जोखिम पनि बढाउँछ’ लामाले भने ।

विशेषगरी, अति प्रज्वलनशील पदार्थ बोक्ने ट्यांकरमा यस्ता समस्याले ठूलो खतरा निम्त्याउन सक्छ ।

समाधानको पहल

नेपाल आयल निगमले चालकहरूको स्वास्थ्यप्रति गम्भीर बन्दै आगामी आर्थिक वर्षदेखि हरेक प्रदेश र डिपोमा स्वास्थ्य शिविर आयोजना गर्ने योजना बनाएको छ । नियमित स्वास्थ्य जाँचको अभाव र स्वास्थ्यप्रति सचेतनाको कमीले चालकहरूमा यस्ता समस्या देखिएको निगमका कार्यकारी निर्देशक डा. चन्डिकाप्रसाद भट्टले बताए ।

‘हामीले कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत चालकहरूको स्वास्थ्य सुधार र सेवा गुणस्तर वृद्धि गर्ने लक्ष्य राखेका छौं’ कार्यकारी निर्देशक भट्टले भने ।

दृष्टि रोग विशेषज्ञ डा. ढुंगानाले चालकहरूलाई सुरक्षात्मक चस्मा प्रयोग गर्न, नियमित आँखा जाँच गर्न र आँखाको सुख्खापन कम गर्ने औषधि प्रयोग गर्न सुझाव दिए । ‘धूलो, घाम र रातको लाइटबाट बच्न विशेष सावधानी अपनाएमा चालकहरूले आफ्नो पेशालाई निरन्तरता दिन सक्छन्’ उनले भने ।

जोखिम

कोभिड महामारीमा पनि धेरै चालकले जोखिम मोलेर पेट्रोलियम पदार्थ ढुवानी गरे । ‘हाम्रो एक जना साथीको त अनिद्रा र स्वास्थ्य समस्याका कारण कामकै क्रममा दुर्घटना भएर मृत्यु समेत भयो’ एक चालकले भने ‘हाम्रो काम जोखिमपूर्ण छ, तर हाम्रो स्वास्थ्यमा कसैको ध्यान छैन।’

थानकोटको आँखा शिविरले यस्ता समस्यालाई उजागर गरेको छ । शिविरमा सहभागी चालकहरूले निःशुल्क आँखा जाँच, चस्मा, र औषधि प्राप्त गरे । ‘यस्ता शिविरले हामीलाई आफ्नो स्वास्थ्यप्रति सचेत बनाएको छ,’ सानुमान श्रेष्ठले भने ।

नियमित स्वास्थ्य शिविर, सुरक्षा मापदण्डको कडाइ, र चालकहरूलाई स्वास्थ्य सचेतना फैलाउनु जरूरी छ । ‘हाम्रा चालकहरूको स्वास्थ्य सुधारेमा सडक सुरक्षित हुन्छ, र सेवा गुणस्तर पनि बढ्छ’ अध्यक्ष लामाले भने ।

लेखक
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?