
News Summary
Generated by OK AI. Editorially reviewed.- डाक्टर निश्चलनाथ पाण्डेले इरान र नेपालको सम्बन्धको इतिहासबारे बताए, जसमा राजा रेजा शाह पहलवीको शासनकालको समृद्धि र सम्बन्ध उल्लेख गरे।
- उनले इरानमा १९७९ को क्रान्ति र त्यसपछि भएको राजनीतिक परिवर्तनले नेपालको सम्बन्धलाई असर गरेको बताए।
- पाण्डेले मध्यपूर्वको वर्तमान संघर्ष र इरानको कमजोर स्थिति उल्लेख गर्दै शान्ति र सहअस्तित्वको आवश्यकता औंल्याए।
इरानमा भइराखेको इजरायली तथा अमेरिकी सैन्य आक्रमण र राष्ट्रपति ट्रम्पद्वारा खुलेआम इरानमा सत्ता पलटलाई आफूले समर्थन गर्ने घोषणाले नेपाललाई इरानसँगको सम्बन्धमा घोत्लिन बाध्य बनाएको छ ।
इरानमा राजा रेजा शाह पहलवीको शासन हुँदा नेपालको सम्बन्ध राम्रो मात्र होइन नेपाली दूतावास समेत तेहरानमा थियो भन्ने कुरा अहिलेको पिंढीलाई थाहा नहुन सक्छ । ईश्वरीराज पाण्डे नेपालको पहिलो (र हालसम्म अन्तिम) नियोग प्रमुख हुनुहुन्थ्यो । परराष्ट्र मन्त्रालयको क्यारियर कूटनीतिज्ञ पाण्डे पछि बेलायतका लागि राजदूत र अतिरिक्त सचिव हुनुभयो ।
राजा रेजा शाह पहलवीले इरानलाई विश्वकै महाशक्ति बनाउने उद्देश्यले बृहत् योजना बनाएका थिए । उनको देश मध्य–पूर्वकै सबैभन्दा विकसित र आधुनिक थियो । तेहरान विमानस्थल अहिलेका दुबई र दोहा विमानस्थल झैं विश्वभरका यात्रीका लागि ट्रान्जिटको लागि प्रयोग हुन्थ्यो । राजा शाह पहलवीले आफ्नो देशको सौम्य शक्ति प्रवर्धनको लागि सन् १९७१ मा मुलुकको पुरानो नाम पर्सियाको २५०० औं जन्मजयन्ती समारोह आयोजना गरेका थिए ।
गिनिज बुकमै संग्रहित भएको यो समारोह र भोजमा ६० देशका राष्ट्रप्रमुख वा सरकारप्रमुखको सहभागिता थियो । नेपालबाट यस समारोहमा राजा महेन्द्र र रानी रत्नको इरान भ्रमण भएको थियो । त्यस बेला इरानका विश्वविद्यालयहरू पनि अब्बल मानिन्थे । उसै बेला नै इरानका वैज्ञानिक, डाक्टर, इन्जिनियरहरू मध्यपूर्वमै सबैभन्दा दक्षमा गनिन्थे । साउदी अरबिया, कतार, युएई, कुवेत, बहराइन जस्ता अहिलेका धनी देशहरू इरानको वैभव र समृद्धि देखेर अचम्मित हुन्थे किनकि उनीहरू भर्खरै स्वतन्त्र भएकाले तेल र ग्याँसको उत्खनन गरिसकेका थिएनन् ।
असीमित तेल उत्खनन र अमेरिका र युरोपेली देशसँगको नजिकको सम्बन्धका कारण राजा शाहमा सत्ता उन्माद बढ्दै थियो र उनले सोभियत रूससँग टाढिने मात्र होइन अमेरिकाबाट अत्याधुनिक हातहतियार, लडाकु विमान खरिद गर्ने निधो गरे । सम्पूर्ण मध्य पूर्वमा अमेरिकाको लागि राजा शाह जस्तो प्रिय र भरपर्दो मित्र नै अरू कोही थिएन । सन् १९७५ मा राजा वीरेन्द्रको शुभ राज्याभिषेक समारोहमा भाग लिन राजा शाहका भाइ गुलाम रेजा पहलवी काठमाडौं आएका थिए ।
सन् १९७८/७९ सम्म आइपुग्दा इरानी युवा पिंढीमा इस्लामिक अतिवादी धर्मगुरु आयोतोल्ला खोमेनीको प्रभाव बढ्न थाल्यो । राजपरिवारको अनावश्यक खर्च, अमेरिकासँगको चाहिने भन्दा न्यानो आलिंगन, रूस र साम्यवादी मुलुकहरूसँगको चिसो सम्बन्धका कारण शीतयुद्धकालीन विश्वमा इरानलाई अमेरिकाको उपनिवेशको रूपमा हेरिन थालियो ।
राष्ट्रपति जिम्मी कार्टरले वाशिङ्टनमा शासन शुरू गरेपछि त झन् राजतन्त्रको विरोधमा ठूला प्रदर्शनहरू हुन थाले । कार्टरलाई एक कमजोर र निर्णय लिन नसक्ने राष्ट्रपतिको रूपमा हेरिन्थ्यो ।
सन् १९७९ मा विद्यार्थी आन्दोलन बढ्दै जाँदा राजा शाह पहलवीले कार्टर प्रशासनको पूर्ण समर्थनको लागि अनुरोध त गरे तर आयोतोल्ला खोमेनी स्वयं फ्रान्समा बसेर राजतन्त्रको अन्त्यको लागि पहल गरिराखेका थिए र अमेरिकासँग गोप्य वार्ता समेत गरेर आफू सत्तामा आए अमेरिकी स्वार्थलाई नजरअन्दाज नगर्ने कबुल गरिराखेका थिए ।

अत्याधुनिक पश्चिमी पहिरनमा अंग्रेजी गीत गाएर इरानी छात्र–छात्राहरू सडक प्रदर्शन गर्न थाले । लोकतन्त्रको पक्षमा जनमत बन्न थाल्यो । नेतृत्व समेत मुलुकमा नभएको विद्यार्थी आन्दोलन शक्तिशाली बन्दै गयो ।
आन्दोलन बढ्दै जाँदा, नेपालले आफ्नो कार्यवाहक राजदूत र दूतावासमा कार्यरत कर्मचारीलाई तुरुन्त फिर्ता आउने निर्देशन दियो । राजदूत पाण्डेका छोरा बैंकर सिद्धान्तराज पाण्डे दिल्ली उड्न लागेको ‘प्यान आम’ विमानमा केही सिट पाएर आफ्नो पितासँग इरानबाट फिर्ता आएको सम्झना सुनाउनुहुन्छ । संयोगले त्यो नै प्यान आम एयरलाइन्सको इरानबाट अन्तिम उडान थियो ।
केही दिनमै इरानमा राजतन्त्रको अन्त्य भयो । राजा देश छोडेर गए । नेपालले त्यसपछि आफ्नो दूतावास नै बन्द गर्ने निर्णय लियो जुन निर्णय आजसम्म कायम नै छ । हाल नेपालको इजरायल, कतार, युएई, ओमन, साउदी अरेबिया, कुवेन, बहराइनमा दूतावास छ तर इरानमा पुन: दूतावास खोल्ने सोच सन् १९७९ पछि कहिल्यै पनि बनाएन ।
आफ्नो देश निंरकुश राजतन्त्रबाट लोकतन्त्रमा परिणत हुने इच्छामा सडकमा आएका युवा पिंढी केही महिनामै अतिवादी इस्लामिक रुढिवादीको चंगुलमा फस्न पुगे । महिलाहरूले टाउकोदेखि खुट्टासम्म कालो बुर्का लगाउनुपर्ने कट्टरपन्थीहरूको आदेशको विरोध त शुरू भयो तर विरोधीहरूलाई अल्लाहको विरोध गरेको भन्दै जेल हाल्न थालियो ।
नयाँं संविधानमा इरानको सार्वभौमिकता अल्लाहमा निहित हुनेछ भनेर लेखिएपछि त आयोतोल्लाह नै राष्ट्राध्यक्ष, सेनाको परमाधिपति भए । यसरी प्रजातन्त्रको लागि गरिएको आन्दोलनलाई भ्रष्ट, रुढिवादी ठगहरूले अपहरण गरे ।
वाक् स्वतन्त्रता हनन गरियो । प्रेस र वाक् स्वतन्त्रता शाहको शासनकाल भन्दा निकै गुणा तल झर्यो । आयोतोल्लाहलाई आलोचना गर्नेलाई मृत्युदण्ड दिन थालियो । धर्मगुरुहरूको निरंकुश शासनमा विशेष गरी महिला माथि अत्याचार नै शुरू भयो । चेतनाको बन्दी भयो । केही वर्षभित्रै इरानमा अराजकता शुरू भयो ।
राजा शाहलाई हस्तान्तरण गर्न दबाब दिंदै इस्लामिक कट्टरपन्थीले अमेरिकी दूतावास नै कब्जा गरेर त्यहाँका ६६ जना अमेरिकी कूटनीतिज्ञलाई नियन्त्रणमा लिए । यसपछि इरानको अमेरिकासँग मात्र होइन सम्पूर्ण युरोपसँग सम्बन्ध बिग्रियो । हमास र हेजबुल्लाहलाई समर्थन गर्ने, तालिम र हतियार दिने नीति अवलम्बन गरेपछि त झन् अमेरिकाले इरानमा नाकाबन्दी नै लगायो जुन अहिलेसम्म कायम छ ।
यसका कारण ४६ वर्षदेखि इरानी अर्थतन्त्र जर्जर हुँदै युवा पलायन, मुद्रास्फीति, भोकमरीको सामना गर्दै आइराखेको छ । जुन मुलुक वा कम्पनीले इरानको तेल किन्छ वा व्यापार गर्छ उसलाई समेत अमेरिकाले नाकाबन्दी लगाउने डरका कारणले पनि इरानको अर्थतन्त्रमा सुधार आउन नसकेको हो ।
आफ्नै देशमा बेरोजगारी भएपछि अरू देशको श्रमिक चाहिने त कुरै भएन । ९० को दशकमा छिमेकी युएई, कतार र साउदी अरेबियाले आर्थिक प्रगति गर्दै गए तर मध्यपूर्वकै धनी इरान पछि पर्दै गयो ।
कुनै बेला ख्याति कमाएको इरानी कार्पेट, बदाम, किसमिस, पिस्ता, अंजिरले बजार नै पाउन छोड्यो । इरानी आकाशमा प्रतिबन्ध नै लागेको जस्तो गरेर विदेशी विमान सेवा कम्पनीहरूले उडान बन्द गर्दै गए । उल्टो छिमेकी इराकसँग अनावश्यक युद्ध लड्न गएर ८ वर्षमा ३ लाख नागरिकको ज्यान गुमाउनुमा पनि आयोतोल्ला जस्ता कट्टर र संकीर्ण धर्मगुरुहरूकै हात छ भनिन्छ । सन् २०२५ सम्म आइपुग्दा इरानको कुल गार्हस्थ्य उत्पादन मध्य–पूर्वकै सबैभन्दा कम छ ।
सन् १९७९ को परिवर्तन पछि इरानको अहिलेको सत्ता सबैभन्दा कमजोर र निरीह बन्न पुगेको प्रस्ट छ । एकातिर इजरायल र अमेरिकाबाट भइराखेको मिसाइल आक्रमण र अर्कोतर्फ आन्तरिक रूपमा कुनै पनि बेला विस्फोट हुनसक्ने स्तरको नागरिक उकुसमुकुसले मध्यपूर्वको दृश्यपटमा विषम प्रलयको संकेत गरिराखेको छ ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय शान्ति, प्रगति, सह–अस्तित्व र असंंलग्न परराष्ट्र नीति अवलम्बन गरेको नेपालले युद्धको अन्त्य, मध्यपूर्वमा शान्तिको कामना त गर्नै पर्छ तर ४६ वर्षअघि इरानसँगको सुमधुर सम्बन्धलाई मानसपटलमा ताजा बनाउनु हितकर नै हुन्छ ।
प्रतिक्रिया 4