+
+
Shares

कोशी प्रदेशका वित्तीय संस्था कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा

कोशीका बैंक तथा वित्तीय संस्थाको औसत कर्जा निक्षेप अनुपात तोकिएको सीमाभन्दा माथि पुगेकाले कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १० गते १८:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोशी प्रदेशका बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्न नसक्ने अवस्था पुगेका छन्, किनभने कर्जा निक्षेप अनुपात ११९ प्रतिशत पुगेको छ।
  • केन्द्रीय बैंकले जनाएको अनुसार, २०८१ पुस मसान्तसम्म कोशीमा कृषि क्षेत्रमा प्रवाह भएको कर्जा ९.७ प्रतिशत मात्र हो र उद्योगको क्षमता उपयोग ४८.६ प्रतिशत छ।
  • कोशीको आर्थिक वृद्धि ३.३४ प्रतिशत रहने अनुमान छ र विभिन्न जलविद्युत् आयोजना र सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

१० असार, काठमाडौं । कोशी प्रदेशका बैंक तथा वित्तीय संस्था कर्जा प्रवाह नै गर्न नसक्ने अवस्थामा पुगेका छन् ।

बैंक तथा वित्तीय संस्थाको औसत कर्जा निक्षेप अनुपात तोकिएको सीमाभन्दा माथि पुगेकाले कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेका हुन् ।

नेपाल राष्ट्र बैंकको अध्ययन अनुसार कोशीका बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात ११९ प्रतिशत पुगेको छ । चालु आर्थिक वर्ष ६ महिनामा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप परिचालन ३.१ प्रतिशतले वृद्धि भई ४ खर्ब ९२ अर्ब पुगेको छ । त्यसैगरी कुल कर्जा प्रवाह १.२ प्रतिशतले वृद्धि भई ५ खर्ब ८५ अर्ब पुगेको छ ।

२०८० पुस मसान्तको तुलनामा २०८१ पुस मसान्तमा सहकारी संस्थाको कुल पूँजी ७ प्रतिशत, कुल बचत १५.६ प्रतिशत बढेको छ भने ऋण प्रवाह २१.४ प्रतिशतले घटेको केन्द्रीय बैंकले जनाएको छ ।

२०८१ पुस मसान्तसम्म कोशीमा प्रवाहित कर्जामध्ये कृषि क्षेत्रमा प्रवाह भएको कर्जाको अंश ९.७ प्रतिशत छ । २०८१ पुस मसान्तमा कुल औद्योगिक कर्जा ५.६ प्रतिशतले बढेर १ खर्ब ४७ अर्ब ४७ करोड रुपैयाँ पुगेको केन्द्रीय बैंकले जनाएको छ ।

चालु आव पहिलो ६ महिना अवधिमा कोशीका उद्योगको औसत क्षमता उपयोग ४८.६ प्रतिशत छ । गत आव सोही अवधिमा उद्योगको औसत क्षमता उपयोग ४१.७ प्रतिशत थियो ।

चालु आव पहिलो ६ महिनामा भटमास तेल उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा बढी १०७.१ प्रतिशत छ भने घरेलु धातुका सामान उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम ४.३ प्रतिशत छ ।

चालु आव सोही अवधिमा भटमास तेल उत्पादन सबैभन्दा बढी ६४१.१ प्रतिशतले बढेको छ भने घरेलु धातुका सामान उत्पादन सबैभन्दा बढी ७९.५ प्रतिशतले घटेको केन्द्रीय बैंकले जनाएको छ ।

सोही अवधिमा कोशीको कुल औद्योगिक रोजगारीमध्ये ९१.६ प्रतिशत स्वदेशी र ८.४ प्रतिशत विदेशी कामदारले रोजगारी प्राप्त गरेका छन् ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार २०८१/८२ मा कोशीको आर्थिक वृद्धि ३.३४ प्रतिशत रहने अनुमान छ । गत आव आर्थिक वृद्धि ३.३१ प्रतिशत भएको संशोधित अनुमान छ । २०८१/८२ मा नेपालको राष्ट्रिय कुल गार्हस्थ उत्पादनमा कोशीको हिस्सा १५.९० प्रतिशत हुने राष्ट्रिय तथ्यांक कार्यालयको अनुमान छ ।

२०८१/८२ मा कोशीको जीडीपीमा कृषि क्षेत्रको हिस्सा ३४.०५ प्रतिशत, उद्योग क्षेत्रको १६.०९ प्रतिशत र सेवा क्षेत्रको ४९.८५ प्रतिशत योगदान रहने अनुमान रहेको छ ।

२०८०/८१ को पहिलो ६ महिनाको तुलनामा चालु आव सोही अवधिमा समग्र कृषि बालीको उत्पादन २.०३ प्रतिशतले बढेको छ । उक्त अवधिमा खाद्य, नगदे तथा अन्य बालीको उत्पादन २ प्रतिशत, तरकारी ५.४, फलफूल २.९, चिया ०.८ तथा कफी उत्पादन १.६ प्रतिशतले बढेको छ भने मसला उत्पादन ९.९ प्रतिशतले घटेको छ ।

सोही अवधिमा कोशीका नमुना छनोटमा परेका होटलको औसत अकुपेन्सी दर ५३.३ प्रतिशत छ । अघिल्लो वर्ष सोही अवधिमा ५५.४ प्रतिशत थियो ।

२०८१ पुस मसान्तसम्ममा कोशीका विभिन्न जिल्लामा निर्माण सम्पन्न ५३ जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता ६६२.२५ मेगावाट छ । यी आयोजनामध्ये सोलुखुम्बुमा निर्माण सम्पन्न भएका आयोजनाको उत्पादन क्षमता सबैभन्दा बढी २५७.४ मेगावाट छ ।

कोशी (उत्तर–दक्षिण) लोकमार्ग अन्तर्गतको रानी–विराटनगर–इटहरी–धरान सडक आयोजना अन्तर्गतको ४९ किलोमिटर ६ लेन सडक तथा विराटचोक–घिनाघाट ४ लेन सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?