+
+
Shares

जब उडिरहेको विमान २६ हजार फिट तल खस्यो, यात्रुहरुले लेख्न थाले अन्तिम इच्छापत्र

एजेन्सी एजेन्सी
२०८२ असार १९ गते ८:०१
विमानका यात्रुहरु ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापान एयरलाइन्सको बोइङ ७३७ विमानले यान्त्रिक समस्या देखिएर ३६,००० फिटबाट १०,५०० फिटमा झरेको थियो।
  • उडानको क्रममा उचाइ घट्दा यात्रुहरू त्रसित भए र मास्क प्रयोग गर्न थाले, विमानलाई ओसाकाको कान्साई विमानस्थलतर्फ मोडियो।
  • कुशल पाइलट र चालक दलको प्रयासले विमान सुरक्षित अवतरण गराइयो, कुनै मानवीय क्षति भएन, तर यात्रुहरू मानसिक रूपमा तनावमा परेका छन्।

हालै चीनको सांघाइबाट जापानको टोकियो जाँदै गरेको एउटा विमान आकाशमा उडिरहेको बेला एक्कासी २६ हजार फिट तल झरेपछि यात्रुहरूले जीवनकै भयावह क्षणको अनुभूति गर्नुपरेको छ ।

गत जुन ३० को बेलुकी सांघाईबाट जापानका लागि उडेको जापान एयरलाइन्सको जहाज ३६ हजार फिटको उचाइँमा उडिरहेको बेला केही मिनेटमै एक्कासी १० हजार ५०० फिटको उचाइमा झरेको थियो।

शाङ्घाईको पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलबाट टोकियोको नारिता विमानस्थलतर्फ उडेको उक्त बोइङ ७३७ विमानमा १९१ जना सवार थिए। उडानको क्रममा एकाएक विमानमा यान्त्रिक समस्या देखिएर दबाब प्रणालीमा समस्या आएपछि विमानभित्र हावाको दबाब घट्यो र अक्सिजन मास्कहरू खस्न थाले।

यात्रुहरूमा एकाएक त्रास फैलियो। आफूहरु मृत्युको मुखमा पुगिसकेको अनुभूति गर्दै कतिले प्रियजनका लागि आफ्नो अन्तिम सन्देश लेख्न थाले । कसैले इच्छापत्र  बनाउन थाले भने कसैले आफ्ना बैंक विवरण र बीमा जानकारी परिवारसँग बाँड्न थाले। जहाजका कर्मचारीहरुले यात्रुहरूलाई मास्क लगाउन र शान्त रहन लगातार निर्देशन दिइरहेका थिए। कतिपय निदाएका यात्रु जहाज एक्कासी तल झर्दा झस्केर ब्युँझिए अनि आत्तिए।

एपीका अनुसार, स्थानीय समयअनुसार साँझ करिब ६:५३ बजे हावामा उडिरहेको बेला विमानको हावा प्रणालीमा यान्त्रिक समस्या देखापर्‍यो। सो समस्याका कारण विमान १० मिनेटभन्दा कम समयमा करिब ३६,००० फिटको उचाइबाट करिब १०,५०० फिटमा झर्‍यो। यसरी विमान तल झर्दा क्याबिनको दबाब प्रणालीको अलार्म सक्रिय भयो, जसका कारण पाइलटले आपतकालीन घोषणा गर्नुपर्‍यो र विमानलाई ओसाकाको कान्साई अन्तर्राष्ट्रिय विमानस्थलतर्फ मोड्नुपर्‍यो ।

त्रासदीको अवस्थामा पनि चालक दलको सुझबुझ र पाइलटको कुशलताले विमानलाई राति ८:५० बजे सुरक्षित अवतरण गराइयो । दुर्घटनामा कुनै मानवीय क्षति नभएको पुष्टि भएको छ।

यात्रुहरूका अनुसार, यो अनुभव उनीहरूको जीवनकै सबैभन्दा त्रासपूर्ण पलमध्ये एक थियो। अक्सिजन मास्क लगाउनुपर्ने, विमानको झट्का र अन्य यात्रुहरूको चिच्याहटले वातावरण निकै तनावपूर्ण बनेको थियो । उडान सकुशल अवतरण भए पनि धेरै यात्रुहरूको मानसिक अवस्था अझै ठीक भइसकेको छैन ।

पछिल्लो समय बोइङ विमानहरूमा विभिन्न खालका दुर्घटना तथा प्राविधिक समस्या देखिइरहेको बेला पछिल्लो घटनाले थप चिन्ता थपिदिएको छ। केही साताअघि मात्र भारतमा बोइङकै एउटा विमान भारतको अहमदावादमा दुर्घटना हुँदा एक जना यात्रु बाहेक सबैको ज्यान गएको थियो ।

लेखक
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?