
News Summary
Generated by OK AI. Editorially reviewed.- बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा त्रुटीपूर्ण रहेको भन्दै विपक्षी दलहरूले लिखित समझदारी मागेका छन्।
- सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठकमा विपक्षी दलहरूले बजेट सच्याउने लिखित समझदारीको माग गरेपछि सरकारले मौखिक प्रतिबद्धता जनाएको छ।
- विपक्षी दलहरूले बजेटमा बहुवर्षीय योजना, अनुदान, र बजेट कटौतीको विषय उठाएका छन्, जसलाई सरकार बैठकबाटै सम्बोधन गर्न तयार रहेको छ।
१९ असार, हेटौंडा । बागमती प्रदेशका प्रतिपक्षी दलहरुले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट त्रुटीपूर्ण रहेको भन्दै सरकारसँग बजेट सच्याउने लिखित समझदारी मागेको छ ।
सभामुख भुवनकुमार पाठकले बिहीबार राखेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायतका विपक्षी दलहरुले बजेट सच्याउने लिखित समझदारी माग गरेको हो ।
विपक्षी दलहरुको मागमा सरकार पक्षले भने प्रदेश सभा बैठकमा बजेट सच्याउने मौखिक प्रतिबद्धता जनाउने प्रस्ताव राखेको थियो ।
सरकारको प्रस्तावमा प्रतिपक्षी दलहरुले असहमति जनाएको माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकालले जानकारी दिए । सरकारले लिखित समझदारी गरेर अगाडि बढे मात्रै सदन सञ्चालन हुन दिने उनको भनाइ छ ।
‘बजेट सच्याउने लिखित समझदारी भए अवरोध हुँदैन, उहाँहरुले त्यसको लागि समय दिनु भएको छ, प्रदेशसभामा मौखिम बोलेर मात्रै हामी मान्दैनौं भनेका छौं’, उनले भने ।
विपक्षी दलहरुले बजेटमा बहुवर्षीय योजनामा बजेट कटौती भएको, चालु शिर्षकमा राखेर सिधै पैसा बाँड्ने गरि अनुदान दिन खोजिएको, गैरसरकारी संस्थालाई सिधै बजेट तोकिएको, बिचौलियाहरुबाट आएको योजना कटौती हुनुपर्ने, मन्त्रालयको कार्यक्षेत्र मिचेर हालिएको बजेटलाई सच्याउनुपर्ने विषय सरकारसँग उठाएको सचेतक ढकालले बताए ।
तर, सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले विपक्षी दलहरुसँग प्रदेश सभा सञ्चालनको लागि सहमति भएको बताए ।
विपक्षी दलहरुले उठाएको विषयलाई प्रदेश सभा बैठकबाटै सम्बोधन गरेर अगाडि बढ्ने सरकारको तयारी रहेको उनको भनाइ छ ।
बागमती प्रदेश सभाको बैठक बिहिबार बस्दैछ । बजेटमाथि छलफलका लागि यसअघि असार १२ र १६ गते बोलाइएको बैठक सञ्चालन हुन नसकेपछि आजका लागि सारिएको थियो ।
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्रै यसअघि बजेटको विषयलाई लिएर विवाद उत्पन्न भएपछि सदन सञ्चालन हुन सकेको थिएन ।
प्रतिक्रिया 4