+
+
Shares

बागमती प्रदेश : बजेटअघि आयोजना छनोट गर्न नयाँ व्यवस्था

मापदण्डअनुसार १० करोड रुपैयाँसम्मका आयोजना दुई आर्थिक वर्षभित्र, १० करोडदेखि २० करोड रुपैयाँसम्मका आयोजना बढीमा तीन वर्षभित्र, २० करोडदेखि ५० करोड रुपैयाँसम्मका आयोजना चार वर्षभित्र र ५० करोडभन्दा माथिका जुनसुकै लागतका आयोजना पनि पाँच वर्षभित्रै सम्पन्न गर्नुपर्ने प्रावधान राखिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १५ गते १६:४५

१५ वैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणको तयारीसँगै आयोजना छनोट प्रक्रियालाई व्यवस्थित बनाउन जिल्लाबाटै सिफारिस गर्ने व्यवस्था गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको वार्षिक आयोजना प्रस्ताव तथा छनोट सम्बन्धी निर्देशिका, २०८३ अनुसार जिल्लास्तरमै आयोजना प्रस्ताव छनोट सिफारिस समिति गठन गरिने व्यवस्था गरिएको हो ।

बजेटलाई मितव्ययिता कायम गर्न तथा भौगोलिक समावेशीता, पारदर्शिता र क्षेत्रगत सन्तुलन कायम गर्न सिफारिस समिति गठनको व्यवस्था गरिएको आर्थिक मामिलामन्त्री प्रभात तामाङले बताए ।

निर्देशिकाको दफा ६ को उपदफा (८) अनुसार पेश भएका आयोजनाहरुको छलफल, अन्तरक्रिया र विश्लेषण गरी उपयुक्त आयोजना छनोट गरिने उल्लेख छ । छनोटका क्रममा भौगोलिक क्षेत्र, जिल्लागत तथा स्थानीय तहगत सन्तुलन मिलाउने र दोहोरो नपर्ने सुनिश्चित गरिने भनिएको छ । यसरी छनोट गरिएका आयोजना सम्बन्धित विषयगत मन्त्रालयमा सिफारिस गरिने व्यवस्था गरिएको छ ।

समितिको संयोजक प्रत्यक्षतर्फबाट निर्वाचित प्रदेशसभा सदस्य रहनेछन् भने सह–संयोजकको जिम्मेवारी सम्बन्धित निर्वाचन क्षेत्रका समानुपातिकतर्फका प्रदेशसभा सदस्यलाई दिइएको छ । त्यसैगरी, प्रत्येक स्थानीय तहबाट प्रमुख वा उपप्रमुख अथवा प्रमुखले तोकेको प्रतिनिधि सदस्यका रुपमा सहभागी हुनेछन् । प्रदेश सरकारका योजना कार्यान्वयन गर्ने कार्यालय वा निकायका प्रमुख सदस्य–सचिव रहने व्यवस्था गरिएको छ ।

समितिको बैठक सञ्चालन कार्यविधि सम्बन्धित कार्यालयले निर्धारण गर्नेछ । यदि संयोजक अनुपस्थित भएमा सह–संयोजकको नेतृत्वमा बैठक सञ्चालन हुने व्यवस्था निर्देशिककाले गरेको छ । बैठक बस्नुभन्दा कम्तीमा तीन दिनअघि सदस्य–सचिवले संयोजकसँग परामर्श गरी बैठकको मिति, समय, स्थान र कार्यसूचीसहित जानकारी दिनुपर्ने प्रावधान छ ।

उपदफा (५) अनुसार समितिले छनोट गरेका आयोजनालाई संयोजक र सदस्य-सचिवबाट प्रमाणित गराउनुपर्नेछ । त्यसपछि ती आयोजनालाई सम्बन्धित कार्यालयले आयोजना बैंकमा प्रविष्ट गरी तोकिएको समयावधि भित्र सम्बन्धित मन्त्रालयमा पठाउनुपर्ने व्यवस्था गरिएको छ ।

यदि तोकिएको समयभित्र आयोजना सिफारिस हुन नसकेमा जिल्लास्थित कार्यालयले प्राप्त प्रस्तावको प्रारम्भिक परीक्षण गरी उपयुक्त देखिएका आयोजनालाई आयोजना बैंकमा समावेश गरेर मन्त्रालयमा पेस गर्नसक्ने प्रावधान पनि राखिएको छ ।

समितिको सचिवालयको जिम्मेवारी जिल्लास्थित सम्बन्धित कार्यालय वा निकायले वहन गर्नेछ । तर, एउटै मन्त्रालयका जिल्लामा एकभन्दा बढी कार्यालय भएमा मन्त्रालयले तोकेको कार्यालयले अन्य कार्यालयसँग समन्वय गर्दै सचिवालयको भूमिका निर्वाह गर्नुपर्ने व्यवस्था निर्देशिकामा उल्लेख गरिएको छ ।

यसैगरी, निर्देशिकाले सरकारले अब नयाँ पूर्वाधार आयोजना प्रस्ताव गर्दा लागत अनुसार कति समयभित्र सक्नुपर्छ भन्ने स्पष्ट सीमा तोकेको छ । निर्देशिकाको दफा ४ को बजेट प्रस्ताव गर्दा पालना गर्नुपर्ने मापदण्डअनुसार १० करोड रुपैयाँसम्मका आयोजना दुई आर्थिक वर्षभित्र, १० करोडदेखि २० करोड रुपैयाँसम्मका आयोजना बढीमा तीन वर्षभित्र, २० करोडदेखि ५० करोड रुपैयाँसम्मका आयोजना चार वर्षभित्र र ५० करोडभन्दा माथिका जुनसुकै लागतका आयोजना पनि पाँच वर्षभित्रै सम्पन्न गर्नुपर्ने प्रावधान राखिएको छ ।

यो नियमले लामो समयसम्म अधुरा रहने आयोजना नियन्त्रण गर्न, लागत वृद्धि घटाउन तथा सार्वजनिक स्रोतको प्रभावकारी उपयोग सुनिश्चित गर्न मद्दत पुग्ने मन्त्री तामाङले अपेक्षा गरेका छन् । साथै, स्पष्ट समयसीमाले सम्बन्धित मन्त्रालय र निकायलाई थप जिम्मेवार बनाउने विश्वास पनि उनले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?