News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली महिला फुटबल टोलीले उज्बेकिस्तानसँगको खेललाई महत्वपूर्ण मान्दै छनोटको अन्तिम अवसरको रुपमा हेरेको छ।
- सामान्य रुपमा बराबरी भएमा गोल अन्तर र अंक बराबरी हुँदा पेनाल्टी सुटआउट हुनेछ, जसले विजेतालाई निर्धारण गर्नेछ।
- यदि नेपालले उज्बेकिस्तानलाई हरायो भने, २६ वर्षपछि महिला एसियन कपमा पुग्ने अवसर प्राप्त हुनेछ।
२० असार, काठमाडौं । ‘यो टिमले यतिका वर्षसम्म खेलिसक्यो । मैले भन्दै आएको छु, अहिलेको जस्तो टिम बन्न समय लाग्छ । अर्को ५-६ वर्ष लाग्छ । नेपाली फुटबलमा केही गर्छ भने यही टिमले गर्छ । यो टिमले रिजल्ट दिन सक्छ भन्ने सबैले देखेको छ । आशा पनि छ’
नेपाली राष्ट्रिय महिला फुटबल टिमले उज्बेकिस्तानमा एएफसी महिला एसियन कप छनोटको यात्रा सुरु गर्नुअघि पूर्व कप्तान अनु लामाले यसो भनेकी थिइन् ।
‘हाम्रो लागि अहिले गोल्डेन चान्स छ । यो पाली गर्यो भने गर्यो नभए पछि गर्छु भनेपनि झन् कठिन हुन्छ । किनभने नयाँ टिम बनाउनुपर्छ, त्यसका लागि समय लाग्छ’ उनले भनेकी छन् । अनुले भने जस्तै नतिजा दिनका लागि नेपाली महिला टोली अब एक खेल मात्र टाढा छ । अर्को अर्थमा भन्दा एक जित टाढा छ ।
अहिले सबैको नजर एसियन कप छनोट अन्तर्गत शनिबार तास्केन्तमा हुने घरेलु टोली उज्वेकिस्तान विरुद्धको खेलमा छ । यो खेल नेपाली महिला फुटबलको लागि पर्खाईको खेल हुनेछ । भविष्य जोडिएको खेल हुनेछ र यही खेलले नेपाली महिला फुटबल टोलीले अब कस्तो यात्रा गर्ने भनेर भविष्य निर्धारण गर्न सक्छ ।
किनभने छनोटको समूह एफ अन्तर्गत नेपाल र उज्बेकिस्तानबीच हुने खेलबाट समूह विजेताको टुङ्गो लाग्नेछ र त्यही टोली अर्को वर्ष अष्ट्रेलियामा हुने एएफसी महिला एसियन कपमा छनोट हुनेछ । हार्ने टिम छनोटबाटै बाहिरिनेछ । एसियन कप खेल्नका लागि नेपाल २६ वर्ष देखि प्रतीक्षा गरिरहेको छ भने उज्बेकिस्तान पनि २२ वर्षपछि फेरि एसियन कप पुग्ने अभियानमा छ ।
नेपालले पछिल्लो पटक सन् १९९९ मा महिला एसियन कप खेलेको थियो । त्यो बेला नेपालकै समूहमा रहेको उज्बेकिस्तानले सन् २००१ र २००३ मा पनि महिला एसियन कप खेलेको थियो ।
नेपालकी कप्तान सावित्रा भण्डारीले लगातार दुई खेल जितेपछि अन्तिम खेलमा उज्वेकिस्तानसँग फाइट गर्न तयार रहेको बताएकी थिइन् । उनले चुनौती सामना गर्न तयार रहेको बताएकी थिइन् । ‘निश्चय पनि दुई खेल खेलिरहँदा हामीसँग ६ अंक छ । टिममा सबैसँग पोजिटिभ मेन्टालिटी छ’ उनी भन्छिन्, ‘अब मुख्य चुनौती बाँकी छ र त्यो चुनौतीलाई स्वीकार गरेर हामी फाइट गर्न रेडी छौं ।’
उज्बेकिस्तान महिला टिमकी कप्तान ल्युदमिला काराचिकले एसियन कपमा छनोट हुने लक्ष्यसहित नेपालविरुद्ध खेल्ने बताएकी छन् । ‘हरेक खेल कठिन हुन्छ । नेपाल पनि एसियन कपका लागि छनोट हुन चाहन्छ, हामी एसियन कपको टिकट काट्ने लक्ष्यसहित मैदानमा उत्रनेछौं’ लाओसलाई हराएपछि उनले भनेकी छन् ।
नेपाल र उज्बेकिस्तान दुवै समूह विजेता बन्दै अष्ट्रेलियामा हुने एसियन कपमा छनोट हुने अभियानमा छन् । तर त्यसमा एउटा टिम मात्र सफल हुनेछ । त्यसैले यो खेल रोमाञ्चक, प्रतिस्पर्धात्मक र हेर्नलायक पनि हुनेछ । किनभने यसअघि दुवैले तुलनात्मक रुपमा पनि कमजोर टिमलाई पराजित गरेकोले असली खेल अब देखिनेछ ।
फिफा वरियतामा उज्बकिस्तान नेपाल भन्दा ४९ स्थान माथि भएपनि अहिलेको प्रदर्शन हेर्दा उस्तै किसिमको देखिएको छ । उज्बेकिस्तान ५१औं र नेपाल १००औं वरियतामा छ ।
पूर्व कप्तान अनुले छनोट सुरु हुनुअघि नै वरियतामा माथि भएपनि त्यसले धेरै फरक नपार्ने बताएकी थिइन् ।
रोमाञ्चक स्थिति
समूह एफमा नेपाल र उज्बेकिस्तानले दुवै खेल जित्दै समान ६ अंक जोडेको छ । दुवैले लाओस र श्रीलंकालाई पराजित गरे । पहिलो खेलमा नेपालले लाओसलाई ९-० ले पराजित गर्दा उज्बेकिस्तानले श्रीलंकालाई १०-० ले हरायो ।
त्यसपछि नेपालले श्रीलंकालाई ८-० ले हराउँदा उज्बेकिस्तानले लाओसलाई ७-० ले हरायो । दुवैले क्लिनसिट राखे ।
संयोग कस्तो भने दुवैले समान १७ गोल गरे भने कुनै गोल खाएनन् । यस्तोमा समूह विजेता बन्नका लागि समिकरण रोमाञ्चक बन्यो । गोल अन्तर पनि बराबर भएको र समूहको अन्तिम खेल नै यही दुई टिमबीच हुँदा रोचक स्थिति बनेको हो ।
अब अन्तिम खेल बराबरी भएमा गोल अन्तर पनि बराबर हुने हुँदा समूह विजेता कसरी छुट्टिन्छ भन्ने धेरैको चासो छ ।
एएफसी महिला एसियन कप प्रतियोगिताको नियमावली अनुसार यस्तो अवस्थामा अंक र गोल अन्तर सबै बराबरी भएमा सिधै पेनाल्टी सुटआउट हुनेछ । सम्बन्धित दुई टिमबीचको खेल अन्तिममा हुँदा र अंक र गोल अन्तर बराबरी हुँदा यस्तो अवस्था आउने भएको हो ।
नेपालका लागि दुवै खेलमा नवनियुक्त कप्तान सावित्रा भण्डारी साम्बाले ह्याट्रिक गरेकी थिइन् । उनले दुई खेलमा गरेर ७ गोल गरिसकेकी छन् ।
नेपाल र उज्बेकिस्तानको विगत
महिला फुटबलमा नेपालभन्दा उज्बेकिस्तान नै बलियो टोलीको रुपमा देखिँदै आएको छ । यसअघिको नतिजाले पनि त्यो पुष्टि गर्छ । अहिलेसम्म यी दुई टोलीले एकआपसमा तीन पटक खेलेका छन् । जसमा सबै तीन खेल उज्बेकिस्तानले नै जितेको छ ।
पहिलो भेट सन् १९९९ को महिला एसियन कपमै भएको थियो । फिलिपिन्समा भएको एसियन कपको समूह चरणमा उज्बेकिस्तानले नेपाललाई ६-१ ले पराजित गरेको थियो । त्यो खेल हारेपनि नेपालका लागि एक कारणले भने सम्झनलायक बन्यो । त्यही खेलमा गरेको गोल नेपाली महिला टोलीले अन्तर्राष्ट्रिय खेलमा गरेको पहिलो गोल बन्यो । उक्त ऐतिहासिक गोल गर्ने खेलाडी थिइन् पेमा डोल्मा लामा ।
त्यसपछि लामो समयमसम्म यी दुई टिम भेट भएन् । सन् २०१९ मा कीर्गिस्तानमा भएको नादेज्दा कपमा नेपालले फेरि उज्बेकिस्तानसँग खेल्यो । जहाँ यी दुई टोलीबीच दुई खेल भएको थियो । तर दुवै खेलमा उज्बेकिस्तानले नै बाजी मार्यो ।
लिग चरणमा उज्वेकिस्तानले २-० को जित हात पारेको थियो । यिनै दुई टोली फाइनल पनि पुगेका थिए र प्रतिस्पर्धात्मक खेलमा उज्बेकिस्तान ३-२ ले विजयी भयो । त्यस खेलमा दुवै गोल सावित्रा भण्डारीले गरेकी थिइन् ।
हाल उनी नेपाली टिमको कप्तानको भूमिकामा पनि छिन् र सर्वाधिक गोलकर्ता समेत हुन् । उनी सामु पनि आप्नै कप्तानीमा उज्बेकिस्तानलाई हराएर नेपाललाई एसिया कपमा छनोट गराउने अवसर हुनेछ ।
चौथो प्रयासमा उज्बेकिस्तानलाई हराउला ?
महिला फुटबलमा उज्बेकिस्तानसँग नेपालको विगत राम्रो छैन । के चौथो प्रयासमा सफल होला त? अहिलेसम्म तीन खेलमा उज्बेकिस्तानले ११ गोल गर्दा नेपालले ३ गोल मात्र गरेको छ ।
अहिले नेपाली महिला टिममा नयाँ प्रशिक्षक छन् प्याट्रिक डे वाइल्ड । उनी फरक रणनीति र फर्मेसनमा खेलाइरहेका छन् । पहिलो खेलमै यसअघिका कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बालाई बेन्चमा राख्दै अन्जना राना मगरलाई खेलाए । यस्तै सावित्राले कप्तानी सम्हालिन् ।
सरस्वती हमालले पहिलो खेलमा डेब्यु गर्दै डिफेन्सिभ मिडफिल्ड सम्हालिरहेकी छन् । पहिलो खेलमा प्रीति राईले बेन्चबाट खेल सुरु गरिन् । तीन डिफेन्समा गीता राना सहित समिक्षा घिमिरे र निशा थोकरलाई प्रशिक्षकले जिम्मेवारी दिएका छन् ।
प्रशिक्षकले रणनीतिअनुसार बेन्चका खेलाडीलाई प्रयोग गरिरहेका छन् र गोल पनि गरिरहेका छन् । यस पटक डिफेन्डरदेखि फरवार्डसम्म सबैले गोल गरिरहेका छन् ।
प्रशिक्षकले पनि मैदानमा सुरुवाती रोजाइमा खेल्ने खेलाडीबाहेक अरु खेलाडीबाट पनि प्रभावित भएको बताइरहेका छन् । प्रशिक्षकको फरक रणनीति नयाँ प्रशिक्षक र कप्तानको जोडीले सफलता दिलाउने अपेक्षा गरिएको छ ।
एसियन कपमा इतिहास
महिला एसियन कपको कुरा गर्दा उज्बेकिस्तान भन्दा पहिले नेपालले खेलेको थियो ।
नेपालले सन् १९८६ मा महिला एसियन कपमा डेब्यु गर्दा उज्बेकिस्तान सोभियत रुसकै हिस्सा थियो । यस्तै नेपालले दोस्रो पटक सन् १९८९ मा एसियन कप खेल्दा पनि उज्बेकिस्तान छुट्टिएको थिएन ।
उज्बेकिस्तानले सन् १९९५ देखि महिला एसियन कप खेल्न थालेको हो । त्यसपछि उसले सन् १९९७, १९९९, २००१ र २००३ मा गरी लगातार पाँच पटक महिला एसियन कप खेल्यो । नेपालले भने यो बीचमा १९९९ मा मात्र खेल्यो ।

त्यसपछि उज्बेकिस्तानले ५ पटक महिला एसियन कपमा लागि छनोट खेलेपनि सफल हुन सकेन । नेपालले भने सन् २०२२ को लागि अघिल्लो पटक छनोट खेलेको थियो । त्यसमा नेपाल पनि सफल भएन ।
यदि नेपालले यसपटक उज्बेकिस्तानलाई हराएर एसियन कप पुगेमा पहिलो पटक छनोट भएर एसियन कप खेल्नेछ । यसअघि तीनै पटक नेपालले छनोट नखेली सिधै महिला एसियन कप खेलेको थियो ।
छनोट भएमा नेपालले पाउने अवसर
महत्वपूर्ण मानिएको उज्बेकिस्तानविरुद्धको खेलमा जित हात पारे नेपाल समूह विजेता बन्दै २६ वर्षपछि महिला एसियन कपमा पुग्नेछ । यसको अर्थ एसियन कप खेल्नु मात्र हुने छैन फिफा महिला विश्वकप र २०२८ को ओलम्पिकको छनोट यात्रामा समेत पुग्नेछ ।
एसियन कपमा पुग्दा तीन प्रतियोगिताको लागि अवसरको ढोका खुल्नेछ । महिला एसियन कपमा एसियाका उत्कृष्ट १२ टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा नेपालले बलिया टोलीसँग खेल्दै अझै धेरै एक्सपोजर लिने अवसर पनि पाउनेछ ।
यस्तै सन् २०२७ मा ब्राजिलमा हुने महिला विश्वकपको छनोटको आधार पनि महिला एसियन कपनै रहेकोले नेपालको ‘मिसन विश्वकप’मा यो पहिलो खुड्किलो समेत हुन सक्छ ।
एसियन कप खेल्ने १२ मध्ये शीर्ष ६ टिमले फिफा महिला विश्वकपमा स्थान बनाउनेछ । यस्तै सन् २०२८ को ओलम्पिकको लागि पनि नेपाल एक स्टेप अगाडि बढ्नेछ ।
महत्वपूर्ण छनोटमा दुई खेल जितिसकेको नेपाली महिला फुटबल अब सुनौलो भविष्य कोर्नबाट एक जित टाढा छ । त्यसैले यो एक खेल मात्र नभएर नेपाली महिला फुटबलको भविष्य तय गर्ने खेल समेत हुनेछ ।
उज्बेकिस्तान विरुद्ध पराजित भएमा भने नेपालले महिला एसियन कप मात्र नभएर विश्वकप र ओलम्पिकका लागि समेत अवसर गुमाउने छ । अर्थात तीनवटै प्रतियोगिताका लागि ढोका बन्द हुनेछ ।
अहिले छनोट हुन नसकेमा नेपाली महिला फुटबलले सन् २०३० को एसियन कप अघि कुनै ठूलो प्रतियोगिता खेल्न पाउनेछैन ।
प्रतिक्रिया 4