+
+
Shares

पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीतिबारे कांग्रेस बैठकमा चासो

कांग्रेसको केन्द्रीय समिति बैठकको अन्तिम दिन (२३ असार, हिजो) पनि पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुन लागेको सन्दर्भलाई महामन्त्री विश्वप्रकाश शर्माले चासोका साथ प्रस्तुत गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २४ गते २१:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २२ असार (गत आइतबार) को बैठकमा पूर्व उपसभापति विमलेन्द्र निधिले पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा प्रवेशलाई जोड दिएर उठाएका थिए।
  • महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुन लागेको सन्दर्भलाई चासोका साथ राखे।
  • आज बिहान बसेको शीर्ष बैठकमा पनि यो विषयलाई देउवाले उठाए।

२४ असार, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको सक्रिय राजनीतिमा आउने विषयले एमालेलाई मात्रै तरंगित बनाएको छैन । भण्डारी राजनीतिमा प्रवेश गर्ने विषयलाई संसद्को‌ प्रमुख दल नेपाली कांग्रेसले समेत चासो देखाएको छ ।

एमालेको सदस्यता नवीकरण गरेर भण्डारीले राजनीतिमा सक्रिय हुने सार्वजनिक मञ्चबाट जानकारी गराएकी हुन् । भण्डारी सक्रिय राजनीतिमा क्रियाशील हुने बताएपछि यो विषय कांग्रेसको केन्द्रीय समितिमा समेत प्रवेश पाएको छ ।

पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा आएको विषयलाई कांग्रेसको शीर्ष तहका नेताबाट बैठकमा प्रवेश पाएको थियो । २२ असार (गत आइतबार) को बैठकमा पूर्व उपसभापति विमलेन्द्र निधिले पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा प्रवेशलाई जोड दिएर उठाएका छन् ।

भण्डारीको प्रसंगबारे सभापति शेरबहादुर देउवालाई सुनाउँदै निधिले भने, ‘अहिले अर्को एउटा अत्यन्त महत्त्वपूर्ण विषय आएको छ, सभापतिज्यू । रिटायर्ड भइसकेका राष्ट्रपतिले राजनीतिमा फर्किने कुरा हो । एमालेको लागि यो विषयले के प्रभाव पार्ला भन्ने पनि होला । तर मेरो बुझाइ के छ भने, यो कुनै एउटा पार्टीको आन्तरिक विषय मात्रै होइन ।’

भण्डारीकै प्रसंगमा निधिले थपे, ‘तर एट द होल, इन टोटलमा पोलिटिकल सिस्टमको बारेमा नेपाली कांग्रेसले यो विषयलाई नोटिसमा लिनैपर्छ । मेरो विचारमा नेपाली कांग्रेसले यो विषयलाई नोटिसमा लिनुपर्दछ । त्यसको बारेमा छुट्टै छलफल हुनुपर्छ भनेर मैले यो विषय प्रवेश गराएँ ।’

पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्कने विषय प्रणालीसँग जोडिने उनले बताए । ‘हामीले जुन प्रणाली ल्याएका छौं र जुन प्रणालीमा विश्वास गर्दछौं, त्यो प्रणालीमा अहिले राष्ट्रपतिले रिटायर्ड भइसकेपछि हामीलाई त एउटा खुसी लाग्छ । एमाले विवादित हुन्छ कि अथवा एमालेमा फुट हुन्छ कि भन्ने होला । तर यो छुट्टै विषय हो ।’

कांग्रेसको केन्द्रीय समिति बैठकको अन्तिम दिन (२३ असार, हिजो) पनि पूर्व राष्ट्रपति भण्डारी एमालेको राजनीतिमा आउने विषय छुटेन । महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुन लागेको सन्दर्भलाई चासोका साथ राखे ।

‘तर अर्को चुनौती के छ भने सभापतिज्यू, राष्ट्रपति संस्थाको गरिमा चाहिं उच्च ढंगले स्थापित गर्न सकिएको छैन । झन्डै एक दशक राष्ट्रपतिमा राखेपछि फेरि राजनीतिमा सक्रिय हुँदै गर्दा खेरि त्यसले राम्रो सन्देश दिंदैन’ शर्माले भने, ‘यसका पछाडितिरका कुराहरूको बारेमा हामीले गम्भीरता राख्न जरूरी छ । कसले किन, के नियत र के उद्देश्यका साथ सेरेमोनियल भएर बसेको व्यक्तित्वलाई राजनीतिमा भिडाएको अवस्था छ ? त्यो हुँदै गर्दाखेरि के देशले अभिभावक विहीनताको अनुमति लिन सक्छ !’

पूर्व राष्ट्रपतिहरूलाई अभिभावक मान्नुपर्नेमा अभिभावकलाई नै राजनीतिमा ल्याउनु उपयुक्त नहुने शर्माको भनाइ थियो । स्रोतका अनुसार पार्टी बैठकमा उठेको विषयलाई सभापति देउवाले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीसमक्ष पनि राखेका छन् । आज बिहान बसेको शीर्ष बैठकमा यो विषयलाई देउवाले उठाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?