+
+
Shares

बागमतीका मुख्यमन्त्री लामाले आज राजीनामा दिने, इन्द्रबहादुर बानियाँले चलाउनेछन् सरकार

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १८ गते ७:०५

१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पदबाट राजीनामा दिने भएका छन् ।

१४ साउनमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि मुख्यमन्त्री पदबाट राजीनामा दिन दबाब खेपेका लामाले आइतबार बिहान हेटौंडा आएर राजीनामा दिने निश्चित भएको हो ।

शनिवार कांग्रेस सभापति शेरबहादुर देउवासँग बानियाँ र लामाले संयुक्त छलफल गरेका थिए । छलफलमा सहभागी संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले सभापतिसहितको भेटपछि राजीनामा दिन लामा तयार भएको अनलाइनखबरलाई जानकारी दिए ।

मुख्यमन्त्री लामाको प्रस्तावअनुसार आफूले १४ साउनमा नियुक्त गरेका तीन जना मन्त्रीलाई शपथ गराउनुपर्ने र लामा पक्षसँगको सहमतिमा सरकार सञ्चालन गर्नुपर्ने दुई बुँदामा सहमति भएपछि मार्गप्रशस्त गर्न तयार भएको चित्रकारले बताए ।

लामाले यसअघि कांग्रेस बागमती प्रदेश सभाका प्रमुख सचेतक समेत रहेका गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरूङलाई मन्त्री नियुक्त गरेका थिए । उनीहरूको गत बुधवार नै शपथको तयारी गरे पनि सत्ता साझेदार दल नेकपा एमालेको असहमतिमा शपथ ग्रहण रोकिएको थियो । त्यसको भोलिपल्ट बिहीवार १ बजे शपथ तय भए पनि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा आकस्मिक रूपमा बिरामी भएर काठमाडौं हिंडेपछि शपथ हुन सकेको थिएन ।

उपनेता चित्रकारले काठमाडौंमा उपचार गराइरहेका प्रदेश प्रमुख देवकोटा आइतबार हेटौंडा फर्किए उनलाई राजीनामा बुझाउने र उनी हेटौंडा नफर्किए पनि कार्यालयमा राजीनामा पत्र दर्ता गरिने जानकारी दिए ।

लामाले राजीनामा दिएसँगै बागमतीको नयाँ मुख्यमन्त्री कांग्रेस दलको नेताको रूपमा इन्द्र बानियाँ हुनेछन् । सत्तासाझेदार दल नेकपा एमालेसँग एक वर्षअघि सरकारको नेतृत्व गर्ने समयावधिको सहमतिअनुसार अब हुने भनिएका मुख्यमन्त्री बानियाँले ८ महिना सरकार सञ्चालन गर्नेछन् । पूर्वसहमतिअनुसार बानियाँले आगामी फागुनबाट एमालेलाई सरकारको नेतृत्व हस्तान्तरण गर्नुपर्ने एमालेले बताइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?