+
+
Shares

युरेनियम प्रशोधन हाम्रो अधिकार हो : इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बकाईले सोमबार पत्रकार सम्मेलनमा भने, ‘कुनै पनि सम्भावित वार्तामा, अमेरिकाले इरानका शान्तिपूर्ण आणविक स्थापनामाथि गरेको सैनिक आक्रमणको जवाफदेही र क्षतिपूर्ति माग मुख्य विषय बन्नेछ।’

रासस रासस
२०८२ साउन १९ गते २०:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इरानले आगामी कुनै पनि वार्तामा अमेरिकालाई आफ्नो आणविक साइटहरूमा आक्रमण गरेको विषयमा जवाफदेही बनाउने बताएको छ।
  • इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बकाईले अमेरिकाले इरानका शान्तिपूर्ण आणविक स्थापनामाथि गरेको सैनिक आक्रमणको जवाफदेही र क्षतिपूर्ति माग मुख्य विषय बन्ने बताए।
  • इरानी संसदको राष्ट्रिय सुरक्षा आयोगका अध्यक्ष इब्राहिम अजीजीले आइएइए टोलीलाई केवल प्राविधिक छलफल गर्न अनुमति हुने र भौतिक निरीक्षण नहुने स्पष्ट पारे।

१९ साउन, काठमाडौं। इरानले आगामी कुनै पनि वार्तामा अमेरिकालाई आफ्नो आणविक साइटहरूमा आक्रमण गरेको विषयमा जवाफदेही बनाउने बताएको छ । साथै, उसले अमेरिकासँग प्रत्यक्ष वार्ता गर्ने सम्भावना पनि अस्वीकार गरेको छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बकाईले सोमबार पत्रकार सम्मेलनमा भने, ‘कुनै पनि सम्भावित वार्तामा, अमेरिकाले इरानका शान्तिपूर्ण आणविक स्थापनामाथि गरेको सैनिक आक्रमणको जवाफदेही र क्षतिपूर्ति माग मुख्य विषय बन्नेछ।’

गत जुन २२ मा इजरायलद्वारा सुरु गरिएको युद्धमा संक्षिप्त रुपमा अमेरिकाले पनि भाग लिँदै इरानका फोर्डो, इस्फाहान र नताञ्जका आणविक केन्द्रहरूमा आक्रमण गरेको थियो । यसले अप्रिलदेखि सुरु भएको उच्च–स्तरीय वार्ता प्रक्रियालाई अवरुद्ध गर्‍यो।

इरानले त्यसयता संयुक्त राष्ट्रसंघको आणविक निगरानी संस्था (आइएइए) सँगको सहकार्य निलम्बन गरेको छ र वार्ता पुनः सुरु हुनुभन्दा पहिला सैन्य आक्रमण विरुद्धको ग्यारेन्टी माग गरेको छ। अमेरिकाले भने इरानको क्षतिपूर्तिको मागलाई ‘हास्यास्पद’ भन्दै खारेज गरिसकेको छ ।

बकाईले इरान आणविक अप्रसार सन्धि (एनपीटी) मा प्रतिबद्ध रहेको बताए पनि आइएइएको कार्यशैली ‘राजनीतिक र गैर–व्यावसायिक’ रहेको आरोप लगाए ।

उनका अनुसार, आइएइएका उपप्रमुख १० दिनभित्र इरान भ्रमणमा आउनेछन् । तर इरानी संसदको राष्ट्रिय सुरक्षा आयोगका अध्यक्ष इब्राहिम अजीजीले भने,’आइएइए टोलीलाई केवल प्राविधिक र विशेषज्ञ तहको छलफल गर्न मात्र अनुमति हुनेछ । कुनै पनि हालतमा उनीहरूलाई आणविक स्थापनामा भौतिक पहुँच वा निरीक्षणको अनुमति दिइने छैन।’
पछिल्लो महिनामा, इरानले आइएइएसँगको भविष्यको सहकार्य नयाँ ढाँचामा हुने घोषणा गरेको थियो ।

जुलाई २५ मा, युद्धपछिको पहिलो पटक इरानी कूटनीतिज्ञहरूले जर्मनी, बेलायत र फ्रान्सका समकक्षीसँग वार्ता गरेका थिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?