
News Summary
Generated by OK AI. Editorially reviewed.- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रालयका विभाग, बोर्ड, सुरक्षा कोष र महाशाखासँग एक वर्षे कार्यसम्पादन करारमा हस्ताक्षर गरेको छ।
- मन्त्री शरतसिंह भण्डारीले पेपरलेस र फेसलेस सेवा प्रणालीतर्फ कदम चालिएको र सेवा तल्लो तहसम्म पुग्नुपर्ने बताए।
- श्रम सचिव डा. कृष्णहरि पुस्करले कार्यसम्पादन करारका सबै बुँदाहरू पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए।
३ भदाै, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आफ्नो कार्यक्षमता अभिवृद्धि गर्ने लक्ष्यसहित मन्त्रालय अन्तर्गतका विभाग, बोर्ड, सुरक्षा कोष तथा आन्तरिक रोजगार व्यवस्थापन महाशाखालगायतका निकायहरूसँग कार्यसम्पादन करारमा हस्ताक्षर गरेको छ ।
मंगलबार मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा मन्त्री शरतसिंह भण्डारी र श्रम सचिव डा. कृष्णहरि पुस्करबीच एक वर्षे कार्यसम्पादन सम्झौता भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले श्रम मन्त्रालयले पछिल्ला दिनमा राष्ट्रको गरिमा बढाउने खालका कार्यहरू गर्दै आएको दाबी गरे ।
उनले नीतिगत सुधार र जनउत्तरदायी सेवा प्रवाहलाई प्राथमिकता दिँदै नागरिकलाई अनुभूत हुने गरी काम गर्न मातहतका निकायहरूलाई निर्देशन दिए ।
‘हाम्रो अडिट अब जनताले गर्ने गरेका छन्,’ मन्त्री भण्डारीले भने, ‘सेवा प्रवाह तल्लो तहसम्म पुग्नुपर्छ भन्ने उद्देश्यले मन्त्रालयले पेपरलेस र फेसलेस सेवा प्रणालीतर्फ कदम चालेको छ ।’
उनले मन्त्रालयभित्र र बाहिरका सरोकारवालासँग नियमित छलफल र समन्वय गर्दै कार्यान्वयनमा देखिने सुधार ल्याउन सम्बन्धित निकायहरूलाई निर्देशन दिए । साथै, भदौ मसान्तभित्र मन्त्रालयको गरिमा बढाउने कार्यक्रम तयार गर्न समेत उनको निर्देशन छ ।
श्रम सचिव डा. कृष्णहरि पुस्करले कार्यसम्पादन करारमा उल्लेखित सबै बुँदाहरू पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।
उनले जनतामा प्रत्यक्ष असर पर्ने सेवामा कुनै सम्झौता नगर्ने र प्रभावकारी रूपमा लक्षित उद्देश्यहरू कार्यान्वयनमा लैजाने बताए । कार्यक्रममा मन्त्रालय अन्तर्गतका विभागीय प्रमुखहरूसँग एक वर्षे कार्यसम्पादन करार सम्झौता गरिएको हो ।
प्रतिक्रिया 4